३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक बीमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीले १२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेयरधनीलाई १२० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले राष्ट्रिय बीमा संस्थान निर्जीवन बीमा विभागको आर्थिक वर्ष ०६७/६८, ०६८/६९ को वित्तीय विवरण स्वीकृत गरी आव ०६८/६९ को वित्तीय विवरणमा हाल कायम रहेको चुक्ता पुँजीमा सो मात्राको लाभांश दिन लागेको हो । हालको कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बीमा समितिले पारित गरी कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।