शिखर इन्स्योरेन्सको संस्थापक सेयर ६० साधारण ४० हुने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर घटेर ६० प्रतिशत कायम हुने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर घटाउने र साधारण सेयर बढाएर ४० प्रतिशत पुर्याउने निर्णय गरेको छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुने कम्पनीले जनाएको छ ।

देउवा सरकारले सुरु गरेको नियुक्ति धमाधम रद्ध, बीमा संस्थाको प्रशासक प्रक्रिया खारेज

काठमाडौं । शेरबहादुर देउवा सरकारको पालमा सुरु गरिएको नियुक्ति प्रक्रिया केपी ओली नेतृत्वको सरकारले धमाधम रद्ध गर्न थालेको छ । ओली सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासक नियुक्ति प्रक्रियालाई पनि रोकेको छ । देउवा सरकारको पालामा गठित प्रशासक नियुत्ति छनौट तथा शिफारिश समितिको निर्णयलाई ओली सरकारले उल्टाएको छ । समितिको गत शुक्रबार बसेको बैठकले प्राप्त दरखास्त तथा हाल भएको सबै प्रक्रिया रद्धको निर्णय गरेको हो । छनौट तथा शिफारिश समितिले माग गर्दा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापाले दरखास्त दिएका थिए । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ता पनि लिएको थियो । समितिले एकाएक नियुक्तिको सबै प्रक्रिया रद्ध भएको जानकारी गराउदै पदपूर्तिमा सहभागी सबै आवेदकलाई दस्तुर वापत बुझाएको सबै रकम फिर्ता लिन अर्थ मन्त्रालयको आर्थिक प्रशासन महाशाखामा सम्पर्क गर्न भनिएको छ ।

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले बैंकासुरेन्स सम्झौता गरेको छ । मंगलबार बैंक र उक्त इन्स्योरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात सगरमाथ इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्ने जानकारी दिइएको छ । त्यस्तै बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न समेत सरल हुनका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न गर्न सकिने बताइएको छ । कम्पनीले चालू आवको दोस्रो चौमासिकसम्मका ५२ करोड ८७ लाख रुपैयाँ बरावर दावी भूक्तानी विभिन्न शिर्षक अन्तर्गत गरिसकेको जनाएको छ ।