एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ६ लाख नगद लाभांश दिने, संस्थापक र सर्वसाधरणलाई हकप्रद शेयर जारी गर्दै

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले राजधानीमा सोमबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनकाे लागि ६ लाख ३९ हजार रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर पश्चात हुन आउने कुल चुक्ता पूँजीमा कम्पनीका शेयरधनीहरुलाई १ः१.०५ संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, त्यसपश्चात कायम हुने सम्पूर्ण शेयरधनी(संस्थापक र सर्वसाधरण) लाई १ः३ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले शेयरधनीहरुबाट समितिमा प्रतिनिधित्व गर्न ५ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा राजिव सापकोटा, भुबल राई, हेमराज थापा, रामप्रसाद खनाल तथा एन्जिला विष्ट गिरी रहेका छन् ।

एनएलजी इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र कुमारी बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना तथा ईन्स्योरेन्सका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले निर्जिवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकको सम्पुर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने छन् ।

सगरमाथा इन्स्योरेन्सले महिला आरोही टोलीलाई ३२ लाखको बीमा सुरक्षा दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई कुल ३२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा सुरक्षा दिने भएको छ । कम्पनीले आरोहण दलका सदस्यहरुको प्रतिव्यक्तिगत दुर्घटना बीमा बापत १५ लाख, औषधीउपाचर बीमाका लागि चार लाख, हाई अल्टिच्युटका लागि तीन लाख र खोज तथा उद्धार कार्यका लागी १० लाख ४२ हजार (दश हजार अमेरीकी डलर) सम्म गरी सो मात्राको बीमा कभरेज प्रदान गर्न लागेको हो । यस वर्ष सगरमाथा आरोहणका लागि महिला पत्रकार रोजिता बुद्धाचार्यको नेतृत्वमा ६ जना महिला आरोहीहरु यस सिजनको सगरमाथा आरोहण गर्न जाने भएका छन् । पत्रकार बुद्धाचार्यको नेतृत्वमा लक्ष्मी कार्की, देउराली चाम्लिङ्ग, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पा यस सिजनको सगरमाथा आरोहण गर्न जान लागेका हुन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को बीमा सहयात्रीमा सगरमाथा इन्स्योरेन्स रहेको छ । ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्पेडिसन मार्फत सगरमाथा आरोहणमा जाने उक्त आरोहण दलको प्रमुख पथप्रदर्शकमा फुर्वा तेन्जिङ्ग शेर्पा रहेका छन् । शेर्पाले हालसम्म १२ पटक सगरमाथाकोे आरोहण गरिसकेका छन् । उक्त आरोहण दलका सदस्यहरुको बीमा सहयात्री सगरमाथा ईन्स्योरेन्सले नक्सालमा बिहीबार सफल आरोहणका लागि शुभकामना कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आरोहण टोलीका सदस्यहरुलाई कम्पनीको झण्डा हस्तान्तरण गरेका छन् । त्यस्तै, उनले सगरमाथा आरोहणमा नेपाली महिला पत्रकारहरुको ईच्छाशक्तिको प्रशंसा गरेका छन् । साथै, सगरमाथा आरोहणको सफलतामा आरोहीको व्यक्तीगत सफलता मात्र नभई सम्पुर्ण पत्रकारिता क्षेत्रको सफलता जोडिने र यसमा सम्पुर्ण सञ्चार जगतले नै गौरव गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।