बिमांकी रोस्टरमा १७ जनाको आवेदन

काठमाडौँ । बीमा समितिले निर्माण गरेको बिमांकी रोस्टरमा १७ बिमांकीले निवेदन दिएका छन् । बीमा कम्पनीहरूले वित्तीय विवरणका लागि बिमांकीय मूल्यांकन गर्न बिमांकीको आवश्यकता पर्छ । त्यसैगरी, कम्पनीहरूले नयाँ बीमा योजना बनाउँदा पनि बिमांकीकै आवश्यता पर्छ । तर, हालसम्म नेपालमा एउटा पनि बिमांकी नभएका कारण बिमा कम्पनीहरू विदेशी बिमांकीकै भर पर्दै आएका छन् । नयाँ बिमा कम्पनीलाई अनुभवी बिमांकी पाउन कठिन हुन थालेपछि बिमा समितिले बिमांकी रोस्टर निर्माण गरेको हो । नेपाली बीमा कम्पनीसँग काम गर्न विभिन्न मुलुकका १७ बिमांकीले आवेदन दिएका छन् । भारत, अमेरिका र बेलायतका बिमांकी सोसाइटीबाट बिमांकीको लाइसेन्स लिएकाले बिमांकी आवेदन दिएका छन् । यसरी आवेदन दिएकामध्ये एकजना नेपाल महिला बिमांकी पनि छिन् । आवेदन दिनेमध्येमा अधिकांश भारतीय छन् । बिमांकी रोस्टरमा आवेदन दिएकामध्ये १४ जना बिमांकीले जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकनका लागि आवेदन दिएका छन् । त्यस्तै, १४ जना बिमांकीले निर्जीवन बिमा कम्पनीको बिमांकी मूल्यांकनका लागि आवेदन दिएका छन् । ९ जना बिमांकीले भने जीवन र निर्जीवन दुवै बिमा कम्पनीको बिमांकी मूल्यांकन गर्न आवेदन दिएको बिमा समितिका निर्देशक कमल रेग्मीले जानकारी दिए । बिमांकी भनेको के हो ? नेपालको बीमा ऐन २०४९ को दफा २ अनुसार ‘बिमांकी’ भन्नाले बिमा व्यवसायमा भएको दायित्व निर्धारण तथा गणना गर्न बिमा कम्पनीद्वारा नियुक्त गरिएको व्यक्ति हो । उनीहरूले कम्पनीका विगत र वर्तमानको तथ्यांक विश्लेषण गरी भावी योजना बनाउन सहयोग गर्छन् । ‘बिमांकी’ कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभई चार्टर्ड एकाउन्टेन्टजस्तै पेसागत उपाधि हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

ग्लोबल आइएमईका शाखारहित बैंकिङ सेवा १३१ वटा पुगे, ५ वटा थपिए

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अर्घाखाँचीजिल्लाको भुमिका स्थाननगरपालिका -१०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपागाउँपालिका- ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशीगाउँपालिका– ३, जमुवामा १२९औँ, लमजुङ्ग जिल्लाको राईनास नगरपालिका-५, सातबिसेमा १३०औँ र सोही जिल्लाकै राईनास नगरपालिका-६, धमिलिकुवामा १३१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उपस्थितिमा उद्घाटन भएको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सिडिएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ ।

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सम्झौता

काठमाडौँ । अजोड इन्स्योरेन्स लि. र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्नेछन् ।