बीमा प्राधिकरणका अध्यक्ष पौडेलको उपराष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अस्थायी रूपमा अध्यक्षको जिम्मेवारी पाएका चन्द्रकला पौडेलको सरुवा भएको छ । सरकारले प्राधिकरणका अध्यक्ष पौडेललाई संघीय मामिलाबाट उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पौडेल सचिवको भूमिकामा थिइन् ।

अब स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई आबद्ध गराइने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि सरकारी कर्मचारीलाई अनिवार्य रुपमा यो कार्यक्रममा आवद्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले यो कुरा बताएका हुन् । उनले आउँदो साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रसेवक कर्मचारीलाई आवद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्तेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको बताए । स्वास्थ्य बीमा सुधारका लागि सरकारले यो निर्णय गरेको उनको भनाइ छ ।  ‘ स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर बजेट छुट्याइएको छ, यसअघि सात अर्ब रुपैयाँ बजेट विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भने । सरकारले गरिब, विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम यतिबेला संकटमा परेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई १८ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ भने नजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवाहरू बन्द गरिएको छ । यस्तै यसअघि स्वास्थ्य बीमामार्फत उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई खुम्च्याएर २५ हजारमा झारिएको छ ।

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल पुलिस अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियलका विभिन्न बीमा योजनामा आबद्ध गराई सेवा प्रदान गरिने जनाइएको छ । यस सहकार्य अन्तर्गत कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोगसमेत प्रदान गर्नेछ। उक्त सहयोगले क्लबको खेलकुद गतिविधि विस्तार, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लबसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल उच्च राख्न तथा समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने बताए । उनले दुवै संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, प्रहरी अतिरिक्त महानिरीक्षक शाहले खेलाडी विकासमा सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले यस सम्झौताले दुवै पक्षबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।