‘नेपाल–केन्द्रित यथार्थवाद’ : गगन थापाको नयाँ डक्ट्रिन

प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले आफ्नो कालजयी निवन्ध ‘पोलिटिक्स एज अ भ्याकेसन’ (१९१९) मा राजनीतिक नेतृत्वको सूक्ष्म परिभाषा दिँदै भनेका छन् ‘राजनीति भनेको कडा फल्याकहरूमा प्वाल पार्ने ढिलो र कठिन प्रक्रिया हो, जसका लागि जोशको आगो र विवेकको शीतलता दुवैको सन्तुलन चाहिन्छ ।’  यो भनाइ आज नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीको रूपमा अगाडि सारिएका गगन थापाको सन्दर्भमा अझ बढी सान्दर्भिक छ । गगनले विद्यार्थी राजनीतिबाट सुरु गरेर लोकतन्त्र आन्दोलन, सडक प्रदर्शन र संसदीय रोस्ट्रमसम्म आफ्नो जोशको जीवन्त प्रदर्शन गरेका छन् । २०८२ को नवौं महिनामा उनी नेपाली कांग्रेसको सभापति भए दशौं महिनामा प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडि सारेको छ । एघारौं महिनाको अन्तिम सातामा हुने प्रतिनिधि सभाको निर्वाचनबाट सिंहदरबारको कार्यकारी प्रमुख बन्ने दौडमा छन् । गएको महिना विशेष महाधिवेशनमार्फत पार्टी सभापति चुनिए पछि गगन थापाको कदमलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ, जसले शेरबहादुर देउवाको समूहलाई ठूलो झट्का दिएको छ । यसले उनको प्रधानमन्त्री दौडलाई तत्काल मजबुत बनाएको देखिएको छ  । यता अदालतमा परेको मुद्दाको अन्तिम किनारा लागेको छैन । गत हप्ता नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले गगन थापालाई औपचारिक रूपमा प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ । यो संगीन घडीमा उनको जोशले मात्र होइन, विवेकले पनि परीक्षा दिनुपर्नेछ । मैले यो लेख प्रधानमन्त्रीका उम्मेदवार थापालाई केन्द्रित गरेर लेख्दै गर्दा अबको नेपाल नयाँ डक्ट्रिनले चल्नु पर्छ भनेर प्रस्ताव गरेको छु ।  सभापति थापाले विभिन्न समयमा विभिन्न औपचारिक कार्यक्रम र संसदको रोष्ट्रममा बोलेको विषयलाई आधार मानेको छु । साथमा विश्वका सफल अभ्यासलाई सिकाइको रूपमा पनि प्रस्तुत गरेको छु । नेपालले दशकौंदेखि भोग्दै आएको ‘दुई छिमेकीको धर्मसंकट’ दक्षिणमा भारतमाथिको आर्थिक निर्भरता र उत्तरमा चीनको बढ्दो प्रभावबीचको संकुचन साथै आन्तरिक राजनीतिक घेराबन्दी बारे यो लेखले एक नयाँ दिशा दिने छ भन्ने मेरो विश्वास हो । यी दुई सत्यताबीच नेता थापाको पुरानो आक्रामक शैलीलाई अब सैद्धान्तिक आधार दिनुपर्ने समय आइसकेको छ । प्रधानमन्त्रीका उम्मेदवार गगनले एउटा नयाँ ‘डक्ट्रिन’ अँगाल्नुपर्छ, जसलाई मैले ‘नेपाल–केन्द्रित यथार्थवाद’ भनेको छु । यो कुनै भावुक वा अतिरञ्जित राष्ट्रवाद होइन, बरु नेपालको कठोर भू–राजनीतिक यथार्थको इमानदार स्वीकारोक्ति र त्यसको चतुर, व्यावहारिक व्यवस्थापन हो । यो डक्ट्रिनले नेपाललाई सधैंभरि ‘बफर स्टेट’ को भूमिकाबाट मुक्त गर्दै स्वायत्त राष्ट्रिय हितको संरक्षक बनाउन सक्छ । इन्डो–वेस्टर्न’ दबदबा यो दबदबा नेपालको वर्तमान भू–राजनीतिक सन्दर्भमा पूर्णतः  जीवन्त र सक्रिय छ । अन्तर्राष्ट्रिय सम्बन्धका प्रमुख यथार्थवादी विद्वान जोन मियर्सहाइमर को ‘अफेन्सिभ रियालिजम’ सिद्धान्तले भने झैं ‘महाशक्तिहरूले आफ्नो क्षेत्रीय प्रभुत्व कायम राख्न साना राष्ट्रहरूलाई’ ‘फर जोन’ वा प्रतिस्पर्धी शक्तिविरुद्ध ‘प्रोक्सी हतियार’ को रूपमा प्रयोग गर्छन् ।’ २०२५ पछि दक्षिण एसियामा क्वाड जोड को सक्रियता (अमेरिका, भारत, जापान, अस्ट्रेलिया र साझेदारहरूको विस्तार) र नेपालमा बढ्दो चीनविरोधी कुटनीतिक भाष्यले एउटा नयाँ गठजोडको जन्म दिएको छ, जसलाई हामी ‘इन्डो–वेस्टर्न गठजोड भन्न सक्छौं ।  यो गठजोडको घोषित लक्ष्य इन्डो प्यासेफिक क्षेत्रमा चीनको प्रभाव रोक्नु हो, बीआरआईको विस्तार रोक्नु हो । साथै नेपालको सन्दर्भमा यसको अघोषित उद्देश्य भनेको चीनसँग दीर्घकालीन ‘संस्थागत मेमोरी’ भएको कम्युनिष्ट पार्टीहरूलाई कमजोर पार्नु पनि हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल व्यापारको करिब ८० प्रतिशत भारतसँग केन्द्रित छ, जसमा इन्धन, नुन–तेल र आधारभूत उपभोग्य वस्तुहरू लगायतको ठूलो हिस्सा पर्छ ।  अलिखित र अनौपचारिक व्यापार त झन् ठूलो छ । यसैगरी, अमेरिकी सरकारले एमसीसी लगायतको परियोजनामार्फत नेपालमा वार्षिक १० करोड डलरभन्दा बढी सहायता प्रदान गर्दै, खर्च गर्दै आएको छ । यी तथ्यहरूले गगन थापालाई यो क्याम्पको स्वाभाविक ‘रोजाइ’ बनाउँछन् किनभने गगन थापा आउँदो दशकको नेपाली शक्तिको केन्द्र हुन् । तर यो सतहमा सुनौलो अवसरजस्तो देखिए पनि गहिराइमा ‘महमा डुबाएको विष’ हो । नेता गगनले २०२२ मार्चमा एमसीसी संसदबाट पास गराउँदा पश्चिमा क्याम्पमा अपार लोकप्रियता कमाएका थिए । सँगै उत्तरी छिमेकी चीनको ‘रातो किताब’ मा उनलाई शंकास्पद बनायो ।  गएको साल भदौमा पत्रकार सुधिर शर्माले लेखेको किताबको विमोचन कार्यक्रममा र मंसिरमा भएको एक कार्यक्रममा ‘चीनसँग सन्तुलित सम्बन्ध आवश्यक’ भन्ने अनि ‘नेपाली दलहरूप्रति चीनको नीति स्पष्ट छैन’ भन्ने वक्तव्यले दिल्ली र वाशिङ्टनलाई खुसी सँगै झस्का पनि दिएको छ । यदि नेता गगनले ‘नेपाल–केन्द्रित यथार्थवाद’ नअपनाई आफूलाई पूर्ण रूपमा दक्षिण पश्चिम ढल्किए भने, हेनरी किसिन्जरको भनाइ जस्तै ‘परराष्ट्र नीतिमा स्थायी मित्र हुँदैनन्, स्थायी स्वार्थ हुन्छन्’ ले पूर्ण सत्यता पाउनेछ । पश्चिमा शक्तिहरूको तत्कालीन स्वार्थ पूरा भएपछि गगनलाई ‘डम्प’गर्नेछन् । अर्कोतर्फ चीनसँगको बिग्रिएको सम्बन्धले नेपाललाई युक्रेन–जस्तो दीर्घकालीन भू–राजनीतिक द्वन्द्वमा धकेल्न सक्छ, जसले आर्थिक र सुरक्षा दुवै क्षेत्रमा गम्भीर क्षति पु¥याउनेछ। यसलाई श्रीलंका माल्दिभ्स र बंगलादेशको उदाहरण हेरे पुग्छ, टाढा जानु पर्दैन ।  आन्तरिक फ्रन्टमा ‘नयाँ शक्ति’ सँगको सहकार्य राजनीतिक दार्शनिक निकोलस म्याकियावेलीले आफ्नो पुस्तक ‘द प्रिन्स’ (१५३२) मा शासकहरूलाई दिएको चेतावनी आज पनि सान्दर्भिक छ ‘अरूको शक्तिमा भर परेर सत्ता टिकाउने शासक अन्ततः त्यसैको बन्धक बन्छ, र आफ्नो स्वायत्तता गुमाउँछ ।’ गगन थापामाथि अहिले काठमाडौंमा यस्तै टिप्पणी गर्न थालिएको छ । विभिन्न शक्ति केन्द्रहरूबाट खतरनाक सल्लाहको वर्षा भइरहेको छ सुँघ्न सकिने गरी गन्ध बाहिर आउन थालेको छ ।  ‘ओली वा देउवाजस्ता पुराना शक्तिसँग गठजोड गरेर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता नयाँ शक्तिलाई सिध्याऔं अनि राजनीतिक मैदान खाली हुनेछ’ भन्न थालेको सूचना आएका छन् । अहिले तत्कालको लागि हेर्दा यी सल्लाह निर्वाचन केन्द्रित हुन् जस्तो पनि लाग्छ तर अन्तर्यमा गम्भीर राजनैतिक षडयन्त्र बोकेको छ । यो सल्लाह नै वास्तवमा नेता गगनको राजनीतिक आत्महत्या हो । विगतको निर्वाचन उप–निर्वाचन र विभिन्न जनमत सर्वेक्षणहरूले ठूला सहर, नगर, सहरउन्मुख गाउहरुमा त्यस नजिकका क्षेत्रमा ‘नयाँ शक्ति’ को जनाधार ३० प्रतिशतले नाघिसकेको देखाएको छ ।  यी शक्तिहरूले युवा मतदाता, मध्यम वर्ग र सुशासनप्रति असन्तुष्ट जनतालाई प्रतिनिधित्व गरेको पाइएको छ । गगनको आफ्नो मुख्य राजनीतिक पुँजी ‘पुस्तान्तरण’ र ‘विद्रोही भावना’ मा आधारित छ । बदलिँदो जनभावना पनि गगनको मुभ बसेको जस्तो देखिन्छ । यसलाई पुँजीकृत गर्न सकेनन भने गगन थापा माथि उठ्न सक्दैनन् । यसले राजनीतिलाई पुनः ओली देउबाको क्यम्पमा लैजानेछ र जनताले उनलाई ‘पुराना दलहरूको सिन्डिकेटको नयाँ म्यानेजर’ को रूपमा हेर्नेछन्, र उनको ‘चेन्जमेकर’ छवि यहीं समाप्त हुनेछ ।  २०२५ सेप्टेम्बरको जेनजी अपराइजिङले पुराना नेतृत्वलाई चुनौती दियो र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति गर्‍यो । यस अपराइजिङले युवा मतदाता र सुशासनको मागलाई उजागर गरेको छ, जसले गगनको ‘पुस्तान्तरण’ छविलाई बल दिन्छ । नेता गगनले विशेष महाधिवेशनको सम्बोधनमा अग्रजहरूलाई ‘स–सम्मान बिदाइ गर्ने र फेरि सक्रिय नहुन चेतावनी दिँदै युवा ऊर्जा र आत्मविश्वासलाई जोड दिएका छन् । यसले जेनजी अपराइजिङपछि युवा मतदाताहरूको असन्तुष्टिलाई सम्बोधन गर्दै गगनले नयाँ शक्तिसँग सहकार्यलाई प्राथमिकता दिन सक्छन् भन्ने विश्वास जगाएको छ । ‘नेपाल–केन्द्रित यथार्थवाद’ ले यसको मर्मलाई नै समाउछ  गगनले पुराना शक्तिहरूसँग मिलेर नयाँहरूलाई दबाउने होइन, बरु नयाँ शक्तिहरूसँग ‘रणनीतिक सहकार्य’ वा ‘स्वस्थ प्रतिस्पर्धा’ मार्फत यथास्थितिवादी शक्तिलाई क्रमशः विस्थापित वा रूपान्तरण गर्नुपर्छ । व्यावहारिक उदाहरणका लागि रवि लामिछानेसँग युवा रोजगार र पारदर्शी सुशासनको साझा एजेन्डामा काम गर्दै ‘वृहत लोकतान्त्रिक मोर्चा’ जस्तो गठबन्धन निर्माण गर्न सकिन्छ । यो दृष्टिकोणले गगनको आन्तरिक फ्रन्टलाई अझ मजबुत बनाउँछ र नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गर्दछ। ‘फिनल्याण्ड मोडेल’ को व्यावहारिक अनुवादः पासीकिभीको पाठ फिनल्याण्डका पूर्वराष्ट्रपति जुहो कुस्ती पासीकिभीले शीतयुद्धको चरम अवस्थामा (१९५६–८२ को आफ्नो कार्यकालमा) भनेका थिए ‘राजनीतिक बुद्धिमानीको सुरुवात तथ्यहरूको इमानदार स्वीकारोक्तिबाट हुन्छ ।’ नेपाल–केन्द्रित यथार्थवादको मूल आधार पनि यही हो । नेपालको भू–आर्थिक यथार्थ अत्यन्त स्पष्ट छः भारत नेपालको ‘अक्सिजन’ हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल आयातको ठूलो हिस्सा (इन्धनको ९० प्रतिशत, नुन–तेल र आधारभूत वस्तुहरू) भारतबाट आउँछ, जसलाई १८५० किलोमिटर खुला सीमा र भारतको समुन्द्री पहुँचले सहज बनाएको छ । यो तत्कालीन अस्तित्वका लागि अपरिहार्य छ । यसको विपरित, चीन र यस सम्बन्धित समूह नेपालको ‘भिटामिन’ हो । गगन थापाले विगतमा केपी ओलीको राष्ट्रवादलाई ‘नक्कली राष्ट्रवाद’ भनेर आलोचना गरेका थिए; अब उनले आफ्नो राष्ट्रवादलाई यथार्थमा आधारित रूपमा परिभाषित गर्नुपर्छ । फिनल्याण्डले सोभियत रुसलाई ‘फिनल्यान्डायजेसन’ नीतिको माध्यमबाट सुरक्षा ग्यारेन्टी दिँदै सन्तुलन कायम राखेको थियो; गगनले पनि भारतलाई चिढ्याउने होइन, बरु १९५० को भारत–नेपाल सन्धिलाई अद्यावधिक गर्दै ‘सीमा सुरक्षा, जलस्रोत र व्यापार’ मा पूर्ण आश्वासन दिनुपर्छ । यसका लागि जलविद्युत निर्यातको ‘कार्ड’ खेल्दै निर्भरतालाई पारस्परिक ’अन्तर–निर्भरता’ मा रूपान्तरण गर्न सकिन्छ । साथै युरोपियन युनियनको जिएसपी जोडको सुविधा जस्ता सफ्ट पावर र असंलग्न आन्दोलन र ग्लोबल साउथ मञ्च प्रयोग गर्दै बार्गेनिङ पावर बढाउनुपर्छ । कुनै एक ढोकामा मात्र निर्भर नभई सन्तुलित सञ्जाल निर्माण गर्नु नै यो डक्ट्रिनको केन्द्रीय सार हो । विश्व अभ्यासः सफल ‘यथार्थवादी’ मोडेलहरू  गगन थापाले अंगाल्ने ‘नेपाल–केन्द्रित यथार्थवाद’ कुनै नौलो र अव्यावहारिक प्रयोग होइन । विश्वका सफल नेताहरूले भू–राजनीतिक चेपुवालाई चिर्न यस्तै रणनीति अपनाएको इतिहास छ । गगनले निम्न तीन विश्वव्यापी मोडेलहरूबाट पाठ सिक्न सक्छन् ।  सिंगापुर मोडेल (ली क्वान यु) : ‘विषालु झिंगेमाछा’  सिंगापुरका संस्थापक ली क्वान युले मलेसिया र इन्डोनेसियाजस्ता ठूला छिमेकीको बीचमा सानो टापु देशलाई सुरक्षित राख्न ‘यथार्थवाद’ अपनाए । उनले पश्चिमा सुरक्षा र चिनियाँ व्यापारलाई सन्तुलनमा राखे। उनको सिद्धान्त थियो ‘हामी कसैका लागि पनि खतरा होइनौं, तर हामीलाई निल्न खोज्दा त्यो विषालु साबित हुनेछ ।’ गगनले नेपाललाई पनि ‘आर्थिक हब’ बनाएर यस्तै अपरिहार्य शक्ति बनाउनुपर्छ, जहाँ नेपालको अस्थिरताले छिमेकीलाई नै घाटा होस् ।  भियतनाम मोडेलः ‘बाँसको कुटनीति’ भियतनामको कम्युनिष्ट पार्टीले ‘जरा बलियो (राष्ट्रिय हित) र हाँगा लचिलो –कुटनीति)’ भन्ने ‘बाँसको कुटनीति’ अपनाएको छ । चीनसँग सीमा विवाद र युद्धको इतिहास भएर पनि भियतनामले चीनसँग ठूलो व्यापार गर्छ र सँगै चीनलाई सन्तुलन गर्न अमेरिकासँग ‘रणनीतिक साझेदारी’ गर्छ । गगनले सिक्नुपर्ने पाठ यही हो ‘विचारधारा’ ले राष्ट्रिय स्वार्थलाई रोक्नु हुँदैन । लोकतान्त्रिक भएर पनि गगनले चीनसँग र भारतसँगको सम्बन्धलाई भियतनामले जस्तै लचिलो बनाउनुपर्छ ।  भारतीय मोडेल (एस. जयशंकरको ’बहु–संलग्नता’को नीति)ः स्वयं भारतले अहिले ‘तटस्थता’ छोडेर ‘बहु–संलग्नता’ को नीति लिएको छ । भारत एकैपटक अमेरिका नेतृत्वको ‘क्वाड’ र चीन–रुस रहेको ‘ब्रिक्स’ अनि ‘एससीओ’ मा सक्रिय छ । गगनले भारतीय विदेशमन्त्री एस. जयशंकरको यही तर्कलाई प्रयोग गर्नुपर्छ र भन्न सक्नुपर्छ  ‘हामी भारतसँगै छौँ, त्यसैले भारत जहाँ जान्छ, हामी पनि त्यहीँ जान्छौं ।’ यो विश्वव्यापी अभ्यासले गगनको डक्ट्रिनलाई अन्तर्राष्ट्रिय वैधता प्रदान गर्छ। ‘बीपी डक्ट्रिन २.०’ र बेइजिङसँगको ‘सिधा प्रोटोकल’ नेपालको स्वतन्त्रता–उत्तर कालखण्डमा बीपी कोइराला मात्र त्यस्ता दूरदर्शी नेता थिए जसले सन् १९६० को दशकमा भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गर्दै ‘हामी दुवैका मित्र हौं, तर कसैका क्लाइन्ट होइनौं’ भन्ने सिद्धान्त स्थापित गरे । गगन थापाले आफूलाई बीपीको राजनीतिक उत्तराधिकारी ठान्छन् भने अब ‘वीपी डक्ट्रिन २.०’ को रूपमा यसलाई २१औं शताब्दीको भू–राजनीतिमा अद्यावधिक गर्नुपर्छ। यसको केन्द्रिय रणनीति बेइजिङसँगको सम्बन्धमा नेपाली कम्युनिष्ट दलहरूको ‘ठेकेदारी’ लाई तोड्नु हो । गगनले तत्कालै ‘सिधा सम्पर्क प्रोटोकल’ स्थापना गरेर स्पष्ट सन्देश दिनुपर्छः ‘म लोकतन्त्रवादी हुँ, कम्युनिष्ट होइन । तर नेपालबाट चीनको कोर सुरक्षा स्वार्थ जस्तै तिब्बत स्थिरता र ताइवान मामिलामा कुनै पनि टिप्पणी र पोजिसन छैन ।’  यसको प्रत्यक्ष बदलामा गगनले चीनबाट दुई मुख्य लाभ लिन सक्छन्  पहिलो, राजनीतिक स्थिरताः नेपालको सरकार गिराउन वा बनाउन प्रयोग हुने ‘वाम एकता’ को कार्ड नखेल्ने प्रतिवद्धता । दोस्रो, विकास साझेदारीः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण मोडेललाई ग्रान्टमा रूपान्तरण गर्ने वा काठमाडौं–पोखरा रेलमार्ग र औद्योगिक पार्क जस्ता ‘भिजिबल’ परियोजनाहरूमा तीव्र सहयोग लिने । यो प्रक्रिया गर्दा एमाले लगायतको शक्तिलाई पूर्ण बाइपास गर्नु हुँदैन; बरु परराष्ट्र नीतिको ‘राष्ट्रिय सुरक्षा चार्टर’ मा हस्ताक्षर गराएर ‘साक्षी’ को भूमिका दिनुपर्छ । यसले पारस्परिक विश्वास निर्माण गर्छ र गगनलाई गुटीय सभापतिबाट राष्ट्रिय नेता ‘स्टेट्सम्यान’ को उचाइमा पु¥याउँछ । आगामी निर्वाचन अघि नै गगनले बेइजिङसँग ‘सिधा प्रोटोकल संवाद’ स्थापना गर्दै इतिहासलाई सन्तुलित बनाउन सक्छन् । यसले डक्ट्रिनलाई व्यावहारिक बनाउँछ ।  ‘देउवा–ओली काउन्टर मुभ’ र एस. जयशंकरको ‘बहु–संलग्नता’ गगन थापाको प्रधानमन्त्री यात्राको सबैभन्दा व्यावहारिक चुनौती भनेको  के देउवा र ओलीले उनलाई सत्ता सजिलै सुम्पिएलान् भन्ने हो । नेपालमा देउवा–ओली व्यक्ति नभएर प्रवृत्ति हुन् । जसको जरा निकै तलसम्म गएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वासलाई अझै पनि आफ्नो अनुकूलतामा खेलाउन सक्छन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय तथा आन्तरिक शक्ति केन्द्रहरूको मनोविज्ञान सधैं ‘जोशले भरिपूर्ण अनटेस्टेड एन्जल’ (गगन जस्तो) भन्दा ‘बार्गेनिङ गर्न सकिने अनुभवी टेस्टेड डेभिल’ (देउवा÷ओली जस्ता) लाई बढी रुचाउँछ । यदि गगनले यो डक्ट्रिनमार्फत आन्तरिक राजनीतिमा अत्यधिक स्वतन्त्र र स्वायत्त नीति लिए भने देउवा र ओलीले खेल्ने स्पेस पाउनेछन् । देउवा र ओलीले ‘राष्ट्रिय स्थिरता कायम राख्न’ वा ‘संविधान संशोधन आवश्यक’ जस्ता बहानामा पुन राष्टिय राजनीतिमा आउनेगरी मुभ गर्न सक्छन् नयाँ बहसको नाममा आन्दोलन र अस्थिरता सिर्जना गर्न सक्छन् । यसले आर्जन गरेको शक्तिले आलोपालो सरकार चलाउने र गगनलाई राजनीतिक रिङबाट ‘रङ आउट’ गर्ने गुप्त रणनीति अपनाउन सक्छन् । जसलाई ‘साम्राज्य फेरि फर्कन्छ’ भन्न सकिन्छ ।  गएको महिनामा १० कम्युनिस्ट पार्टीहरू (प्रचण्ड र माधव नेपालको नेतृत्वमा) मर्ज भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको छ । यसले तत्काल एमालेलाई कमजोर पार्ने र रक्षात्मक बनाउने  ‘इन्डो–वेस्टर्न’ गठजोडको कुरालाई बल दिन्छ तर नेता गगनको लागि नयाँ चुनौती हो । कम्युनिस्टहरूको एकीकरणले गगनलाई ‘वीपी डक्ट्रिन २.०’ मार्फत वाम एकताको कार्डलाई निष्क्रिय पार्न आवश्यक बनाएको छ । कम्युनिष्ट फेरी कहिल्यै मिल्न नदिने गरी काम गर्नुपर्ने छ । यस घेराबन्दीलाई तोड्न गगनले भारतीय विदेशमन्त्री एस. जयशंकरको ‘बहु–संलग्नता’ सिद्धान्तलाई कुशलतापूर्वक प्रयोग गर्नुपर्छ । जयशंकरले एक किताबमा मा भनेका थिए, ‘भारत सबैसँग सहकार्य गर्छ, तर कसैको विरुद्धमा होइन ।’  गगनले यो तर्कलाई नेपाली बनाउँदै भन्न सक्छन्- ‘हामी भारतसँगै अभिन्न रूपमा जोडिएका छौं, भारत हाम्रो सबैभन्दा नजिकको मित्र हो । त्यसैले भारत जुन मञ्चमा छ ब्रिक्स एससीओं वा अन्यमा – हामी पनि त्यहीँ सक्रिय सहभागी बन्न चाहन्छौं ।’ यो तर्कले भारतको कुनै पनि विरोधी धारणा रोक्छ (किनकि भारत आफै ब्रिक्सको संस्थापक सदस्य हो) र नेपाललाई पश्चिमा दबाबबाट बचाउँदै रणनीतिक स्वायत्तताको वैध विकल्प प्रदान गर्दछ । यसैगरी, आसियान र बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रियताले थप लचकता दिन्छ । नेपालको ब्रिक्स एससीओमा सक्रियता बढ्छ । जसले विश्वमन्चमा बहुआयामिक सम्बन्धहरु स्थापित हुन्छ। संवादहरू र संलग्नताहरु बढछ। फलस्वरूप देउबा ओलीको सरोकार सकिन्छ र नयाँ भाष्यमा विश्वमञ्चमा नेपाल उभिन्छ । ‘नेपाल–केन्द्रित यथार्थवाद’ ‘नेपाल–केन्द्रित यथार्थवाद’ परम्परागत नेपाली विदेशनीतिको ‘असंलग्नता’ वा यान्त्रिक ‘समदूरी’ सिद्धान्तभन्दा नितान्त भिन्न र सक्रिय रणनीतिको हो । यसको जरा अन्तर्राष्ट्रिय यथार्थवादमा छ, तर केन्द्र नेपालको राष्ट्रिय हितमा । यस डक्ट्रिनको सार भनेको काठमाडौंले बेइजिङलाई हेर्दा दिल्लीको चस्मा लगाउने वा दिल्लीलाई हेर्दा वाशिङ्टनको लेन्स प्रयोग गर्ने होइन, बरु आफ्नो राष्ट्रिय हितको ‘नाङ्गो आँखा’ बाट विश्वलाई हेर्ने साहस हो । यसले दुई प्रकारका अतिवादलाई अस्वीकार गर्छः एकातिर भावुक ‘अन्ध–राष्ट्रवाद’ जसले यथार्थ बेवास्ता गर्छ, अर्कोतिर लाचार ‘आत्मसमर्पण’ जसले स्वायत्तता गुमाउँछ । यसको मूल मन्त्र कठोर भू–राजनीतिक सत्यको स्वीकार होः भारत नेपालको ‘अस्तित्वको भूगोल’ हो ।  खुला सीमा, आर्थिक पहुँच र सुरक्षा बफर हो । चीन र ग्लोबल साउथ भनेको ‘समृद्धिको अवसर’ हो, पूर्वाधार लगानी र बजार विस्तारको अवसर हो । गगन थापाले अंगिकार गर्नुपर्ने यो वादले भन्छ ‘हामी कसैको ‘प्रोक्सी’ वा ‘बफर’ मात्र बन्दैनौं, तर राष्ट्रिय स्वायत्तता जोगाउन जोसँग हित जोडिन्छ त्यससँग सहकार्य गर्छौं, चाहे त्यो वाशिङ्टन, दिल्ली, बेइजिङ वा ब्रसेल्स होस् । व्यावहारिक रूपमा यो दूतावासहरूबाट नेपालको ‘निर्णय गर्ने अधिकार’ खोसेर सिंहदरबारमै फर्काउने र संस्थागत गर्ने अचूक अस्त्र हो । यो डक्ट्रिनले नेपाललाई ‘प्यासिभ बफर’ बाट ‘एक्टिभ प्लेयर’ बनाउँछ ।  यस डक्ट्रिनका मुख्य तत्वहरू यस प्रकार छन्ः भारतसँग अन्तर–निर्भरता भनेको आर्थिक निर्भरतालाई पारस्परिक बनाउने हो, जसको उदाहरण ९० प्रतिशत इन्धन आयातलाई जलविद्युत निर्यातसँग जोड्ने हो; चीनसँग विकास साझेदारी भनेको बिआरआइ परियोजनाहरूमा सहयोग हो, जसको उदाहरण पोखरा एयरपोर्ट ऋणलाई ग्रान्टमा रूपान्तरण हो; नयाँ शक्तिसँग सहकार्य भनेको युवा एजेन्डामा गठबन्धन हो, जसको उदाहरण जेन–जी अपराइजिङपछि सँग ‘ग्रान्ड अलायन्स’ हो; अन्तर्राष्ट्रिय सन्तुलन भनेको बहु–संलग्नता हो, जसको उदाहरण ब्रिक्समा नेपालको सक्रियता भारतमार्फत हो । गगनको छनोट र कार्यान्वयन रोडम्याप गगन थापा अहिले नेपालको राजनीतिक इतिहासको सबैभन्दा निर्णायक मोडमा उभिएका छन्, जहाँ कुनैपनि गल्तीको मूल्य देशले चुकाउनुपर्छ । यदि उनी पुरानै ढर्रामा विदेशी इसाराको पछि लागेर र आन्तरिक गुटबन्दीमा व्यस्त रहँदा सफल भए जस्तो देखिए पनि, यो व्यक्तिगत विजय हुनेछ तर राष्ट्रिय हार । उनी इतिहासमा अर्को ‘असफल प्रयोग’ का रूपमा स्मरणीय हुनेछन् । तर, यदि गगनले ‘नेपाल–केन्द्रित यथार्थवाद’ लाई आफ्नो मूल मन्त्र बनाएर दुई छिमेकीको संवेदनशीलता बुझ्ने, नयाँ शक्तिसँग रणनीतिक सहकार्य गर्ने, र विश्व मञ्चमा नेपालको स्वाभिमान स्थापित गर्ने बाटो अपनाए भने उनी केवल एक अस्थायी शासक होइनन्, आधुनिक नेपालको सच्चा ‘स्टेट्सम्यान’ बन्नेछन् । यो डक्ट्रिन गगन थापाका लागि व्यक्तिगत राजनीतिक अस्त्र मात्र होइन, नेपालको भू–राजनीतिक अस्तित्व रक्षा तथा उन्नतिको अनिवार्य आवश्यकता हो भन्ने प्रमाणित हुनेछ । गगनले यो डक्ट्रिन अपनाए भने, जेन–जी अपराइजिङ र कम्युनिस्ट एकीकरणको परिवेशमा नेपाललाई ‘एक्टिभ प्लेयर’ बनाउन सक्छन् ।

मुलुकको अर्थतन्त्र : सन्तोषजनक सूचक, कमजोर मनोविज्ञान

नेपाल राष्ट्र बैकले मासिकरूपमा सार्वजनिक गर्ने समष्टिगत अर्थतन्त्रका सूचकहरू हरेक महिना सकारात्मक देखिएका छन् । जसअनुसार हामीसँग विदेशी मुद्राको सञ्चिति उच्च छ । विप्रेषण आय मासिक सवा खर्बको हाराहारीमा आइरहेको छ । औसत महँगी वृद्धिदर एक दुई प्रतिशतमा सीमित छ । आर्थिक विकासको दर पनि औसतमा ४/५ प्रतिशत नै छ । शोधनान्तर घनात्मक छ । बैकमा निक्षेप र ऋण प्रवाह पनि वृृद्धि भैरहेको छ । तथापि हामी अर्थतन्त्र लयमा छैन भनिरहेका छौं । एफएटीएफ (फाईनान्ससिएल एक्शन टाक्स फोर्फ) ले नेपाललाई ग्रे लिष्टमा राखेको छ । यसले चिन्ता र चासो बढाएको छ । जसको कारण मुलुकको अर्थतन्त्रको लघु चिरफार गर्न यो आलेख तयार गरेको छु ।  नेपालको अर्थतन्त्र कृषिमा आधारित रहँदै आएकोमा क्रमशः यसमा रूपान्तरण देखिएको छ । जसअनुसार कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान लगभग दुईतिहाई अंशमा पुगेको छ । वैदेशिक रोजगारी आम नेपाली परिवारको आयको स्रोत बनेको छ । इतिहासका पाना पल्टाउँदा लिच्छवीकाललाई स्वर्णयुग भनिन्छ । त्यसबखत नेपाल आत्मनिर्भर थियो ।  उपलब्ध दस्तावेजका आधारमा सो बखत नेपालमा दक्षिणबाट मट्टितेल र उत्तरबाट नुनबाहेक कुनै पनि वस्तु आयात हुँदैनथ्यो । मल्लकालमा आविष्कार भएको मुद्रा तिब्बतले चलाएवापत नेपालले बर्सेनि रोयल्टी पाउँथ्यो । मल्लकालमा राज्य निकै धनी थियो । जसको कारण सो बखत संस्कृति, कला-कृतिमा हामी निकै अगाडि थियौं । पृथ्वीनारायण शाहको पालासम्ममा पनि नेपाल खाद्यान्न, दूध, माछा-मासु, हरियो तरकारी र फलफुलमा आत्मनिर्भर थियो । समयचक्रसँगै आज हामी मोटामोटी सबै कुरामा परनिर्भर भै आयातमुखी अर्थतन्त्रमा रमाउन बाध्य छौं । वर्तमान अर्थतन्त्रको प्रवृत्तिलाई नियाल्दा आर्थिक वृृद्धिमा सुस्तता छ । बेरोजगारी समस्या बढ्दो छ । औसतमा मूल्यवृद्धिको दर उच्च नदेखिए पनि दैनिक उपभोग्य वस्तुको मूल्यमा एकरूपता छैन । गुणस्तरीय वस्तु उपलब्धताको सुनिश्चितता छैन । राज्यको स्रोतका रूपमा रहेको राजश्व वृद्धिको गति अपेक्षित छैन । जसको कारण राज्यको खर्च थेग्न दाताको मुख ताक्नु पर्ने विडम्बना छ । आन्तरिक र बाह्य दुवै लगानी आकर्षित हुन सकिरहेको छैन । सबै प्रकारको आर्थिक क्रियाकलापमा विचौलिया हावी छ । हुण्डीको कारोबार फस्टाएको छ । पुँजी पलायन रोक्न सकिएको छैन । यी सबै कारणले आर्थिक क्षेत्रमा निराशा बढ्दो छ । तथापि मुलुकको अर्थतन्त्रमा सुधार नै गर्न नसकिने गरी भ्वाङ परिसकेको भने छैन । हाम्रो अर्थतन्त्रका सीमाहरूलाई नियाल्दा बर्सेनि बजेटको आधार ठूलो हुने तर खर्च अपेक्षितरूपमा नहुने गरेको छ । यसमा पनि पुँजीगत बजेट खर्चको अवस्था दयनीय रहने गरेको छ । बर्सेनि आन्तरिक र बाह्य ऋणको आकार वृृद्धि हुँदै गएको छ । चालु खर्चलाई आन्तरिक राजश्वले धान्न मुस्किल छ । अर्थतन्त्रका तीन खम्बे नीति अवलम्बन गरिए पनि यी तीन खम्बाबीच खासै सामञ्जस्यता देखिन्न । अर्थतन्त्रको संवाहक मानिएको निजी क्षेत्र केही नवीनतम् सोच र नयाँ आविष्कारमा जानुको सटृा सरकारबाट कर छुटको आशा गर्दै व्यापार गरिरहेको छ । अनौपचारिक अर्थतन्त्रको आकार फैलिँदो छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै नेपाल राष्ट्र बैंकले ९ हजार भन्दा बढी आर्थिक क्रियाकलापलाई शंकास्पद मानेको छ । मुलुकमा भ्रष्टाचार वृद्धि भएकाले अन्तर्राष्ट्रिय साखमा गिरावट आएको छ । ‘डुइङ बिजनेश इण्डिकेटर’मा अपेक्षित सुधार नहुँदा बाह्य लगानी आकर्षित भैरहेको छैन । करप्सन परसेप्सन इण्डिकेटरमा ३४ अंक मात्रै हासिल हुँदा शिर ठाडो गर्न सकिएको छैन । ‘ह्यापीनेश इण्डेक्श’ले पनि जनता बेखुसी नै देखाउँछ । यस स्थितिमा हुण्डी कारोबार र किप्टोकरेन्सीको प्रचलनलाई नियन्त्रण गर्नुपर्छ । निजी क्षेत्र उत्साही भई इमान्दार करदाताको रूपमा प्रस्तुत हुनुपर्छ । वैदेशिक सहायता दाताको इच्छाअनुसार होइन, हाम्रो प्राथमिकता अनुसार ग्रहण गर्नुपर्छ । ऋण रकमबाट सञ्चालित आयोजना प्रतिफलयोग्य हुनुपर्छ । ऋणबाट सञ्चालित आयोजनाबाट विदेश भ्रमणमा जाने, महँगा मोटर खरिद गर्ने, भोजभतेर गर्ने लगायतका फजुल खर्चको पूर्ण नियन्त्रण गर्नुपर्छ । यसैगरी, चालु खर्चमा पनि पूर्णतः मितव्ययिता अवलम्बन गर्नुपर्छ । कृष्णहरि बास्कोटा नेपालमा आर्थिक विकासको सम्भावनातर्फ नियाल्दा अर्गानिक खेती गरी कृषि क्षेत्रबाट प्रशस्त लाभ लिन सकिने देखिन्छ । यसका लागि रसायनिक मलको सट्टा प्रांगारिक मल र रसायनिक विषदीको सट्टा जैविक विषादीको प्रयोग गर्नुपर्छ । हामी चक्रखेती प्रणालीमा गई जीरो टिलर, हार्भेष्ट, मिनी ट्याक्टर, रिपर जस्ता कृषि उपकरणको व्यापक प्रयोग गर्नुपर्छ । साथै लाभ लागतका आधारमा हाइब्रिड, ब्लक प्रणाली, नगदेबाली, जडिबुटी खेतीमा जानुपर्छ ।  नेपालमा साहसिक खेलको माध्यमद्वारा पर्यटन क्षेत्रबाट अधिक लाभ लिन सकिन्छ । यसका लागि पदयात्रा, बन्जीजम्पिङ, प्याराग्लाइडिङ, जीपलाइनिङ, एक्सपिडिशन, रक क्लाइम्बिङ, हिमाली क्षेत्रमा साइक्लिङ लगायतमा पर्याप्त लगानी गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नुपर्छ । नेपालमा प्राकृतिक ग्यास र पेट्रोलियम पदार्थको भण्डारणको सम्भावना देखिएको छ । यसको उत्खनन् गर्नुपर्छ । नवलपरासीमा सञ्चालित फलाम खानीलाई बिस्तार गर्नुपर्छ । नेपालको चुनखानीबाट सिमेण्ट उत्पादन गरी दक्षिण एसियाको बजारमा निकासी गर्नुपर्छ । हामीकहाँ उपलब्ध विशेष प्रकारको ढुंगालाई रत्नपत्थरको रूपमा कटिङ गरी राम्रो लाभ लिन सकिन्छ । यसका लागि ठूलो संख्यामा युवालाई पत्थर कटिङसम्बन्धी सीप विकासको तालिम दिनुपर्छ । हामीकहाँ सुन खानी र युरेनियमको पनि सम्भावना छ ।  यसैगरी, तामाखानी, स्लेट उद्योग र मार्बल उत्पादनको आर्थिक सम्भाव्यता अध्ययन भैसकेको छ । यसमा लगानी केन्द्रित गर्नुपर्छ । नेपाली हस्तकलाका सामग्रीले विश्वका पर्यटकीय हकमा बजार जमाएको छ । यसको गुणस्तरीयतामा ख्याल गर्नुपर्छ । विशेषगरी, नेपाली पश्मिना, हातेतानमा बुनिएका नेपाली गलैंचा, नेपाली कागजका विभिन्न सामग्री, भोजपत्र, मण्डला, करुवा, टोपी, झण्डालगायतको निकासीको प्रशस्त सम्भावना छ । नेपालमा झरनाको कुनै कमी छैन । यस्तो स्प्रिङ वाटरलाई गुणस्तरीय ढंगले बोटलिङ गर्न सके विश्व बजारमा लिन सकिन्छ । रसुवाको बोटलिङ प्लाण्टले यसको झलक प्रस्तुत गरिसकेको छ । नेपालमा पाइने जडिबुटीले विश्व बजार लिन सक्ने सम्भावनामात्रै होइन, यर्थाथ नै हो । नेपालमा पाइने जडिबुटीमा यार्सागुम्बा, पाँचऔले, कुटकी, जटामसी, टिमुर, भ्याकुर, चिराईतो, तेजपात, नागबेली, बोझो, असुरो, सतुवा, अमला, गुर्जो, पिपला, बर्दो, बेल, हर्रो, डालेचुक, लोठसल्ला, सुगन्ध कोकिला, पदमचाल, चुत्रो, दालचीनी, धतुरो, पिपला र कन्टकारीबाट व्यापकरुपमा आर्थिक लाभ लिन सकिन्छ । आर्थिक वर्ष वैशाख १ गतेबाट आरम्भ गरी चैत्र मसान्तमा समाप्त हुने व्यवस्था गर्नुपर्छ । संघीय सरकारमा अधिकतम् ११ वटा मन्त्रालय, प्रदेशमा ७ मन्त्रालय र स्थानीय तहमा ५ वटा क्षेत्रमा मात्रै बजेट विनियोजन हुने कानुनी व्यवस्था गर्नुपर्छ । यसैगरी, अदुवा, अलैंची, मह, चिया र कफीको उत्पादनबाट पनि निकासी वृद्धि हुने कुरा प्रमाणित नै भैसकेको छ । यस अतिरिक्त, फलफुल, वनस्पति, पुतलीका प्रजाति, दुर्लभ ठानिएका उच्च माग भएका फ्लोरिकल्चर व्यवसायको पनि नेपालमा प्रशस्त सम्भावना छ । यसैगरी, हामीले सनपाट, तोरी, सूर्यमुखीको खेती, वनबाट डालेघाँस, बेत, बाँस, चिउरीको घ्यू, लोक्ता, मौरीपालन, अम्रिसो, लप्सी जैतून (ओलिभ), लोठसल्ला, तेजपात, टिम्बुर, डालेचुक, बोधिचित्त, रुद्राक्ष, अर्गेली, चिराइतो, श्रीखण्ड र मेन्था लगायतको उत्पादनबाट पनि व्यापक लाभ लिन सकिने सम्भावना छ । यसको लागि कडा मिहिनेत र राष्ट्रिय अठोट मात्रैको खाँचो छ ।  अन्त्यमा नेपालमा आर्थिक क्रियाकलापलाई चलायमान तुल्याउन अर्थतन्त्रका संवाहक मानिएको निजी क्षेत्रलाई उत्प्रेरित गरी अनवोर्ड गर्नुपर्छ । यसैगरी, मुलुकमा नियामक निकायहरू नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण लगायतलाई स्वतन्त्ररूपमा काम गर्न दिनुका साथै ती निकायमा सक्षम व्यक्ति नियुक्ति गर्नुपर्छ ।  आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई बोर्डमा रूपान्तरित गर्नुपर्छ । सामाजिक सुरक्षाका नाममा हाल सञ्चालित करिब ८५ प्रकारका कार्यक्रमहरूलाई एउटै डालोमा राखी यससम्बन्धी अधिकार सम्पन्न छुटृै प्राधिकरण गठन गर्नुपर्छ । यसमा सार्वजनिक क्षेत्रको पेन्सनसम्बन्धी काम पनि हस्तान्तरण गर्नुपर्छ । नेपालको आर्थिक वर्ष वैशाख १ गतेबाट आरम्भ गरी चैत्र मसान्तमा समाप्त हुने व्यवस्था गर्नुपर्छ । संघीय सरकारमा अधिकतम् ११ वटा मन्त्रालय, प्रदेशमा ७ मन्त्रालय र स्थानीय तहमा ५ वटा क्षेत्रमा मात्रै बजेट विनियोजन हुने कानुनी व्यवस्था गर्नुपर्छ । यसरी काम गर्न सकिएमा नेपालको अर्थतन्त्रलाई चलायमान तुल्याई आम जनतामा आशा र भरोसाको वातावरण निर्माण गर्न सकिनेमा ढुक्क हुन सकिन्छ । (लेखक बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव हुन् ।)

सशस्त्र प्रहरी महानिरीक्षकको हत्या र विद्यार्थीको ‘स्पेसल स्ट्राइकिङ फोर्स’

१२ माघ २०५९ अर्थात् आजभन्दा २३ वर्षअघि आजको दिन काठमाडौंमा सनसनीपूर्ण घटना भयो । देशका कतिपय सहर र गाउँमा दैनिकजसो माओवादी र सुरक्षाफौजबीच भीडन्त हुन्थ्यो । हत्याका खबर सामान्य भइसकेका थिए । यस्ता घटना सुन्दै दैनिकी कटाउन काठमाडौं बाहिरका मानिसहरू अभ्यस्त जस्तै थिए । वेवारिसे बम विष्फोटमा परिएला भन्ने त्रास चाहिं जतापनि हुन्थ्यो। कसका लागि थापेको पासोमा को पर्ने हो भन्ने डरैडरमा मानिस घरबाट निस्कन्थे । तर, काठमाडौंको रिङरोडभित्रै यस्तो भयानक घटनाको आँकलन कसैले पनि गरेको थिएन होला । सशस्त्र प्रहरीका प्रमुख कृष्ण मोहन श्रेष्ठलाई नै माओवादीले ‘मर्निङ वाक’मा निस्केका बेला गोली हानी हत्या गरे । एकाबिहानै यो खबर देश-विदेशमा फैलियो । अहिलेजस्तो इन्टरनेटको पहुँच सबैमा थिएन । सोसल प्लेटफर्म थिएनन् । छिटो समाचार दिने भनेको रेडियो हुन्थे । कतिपय रेडियोमा प्रत्येक घण्टा समाचार आउँथ्यो । रेडियोले तारन्तर खबर दिए । देशको मुटुमै प्रहरी प्रमुख मारिएको खबर फैलिनेबित्तिकै पूरै उपत्यका स्तब्ध भयो । देश कायल भयो । मानिसहरूको मुटु डरले थरथर भयो ।  उसै पनि डरत्रासमा बाँच्न विवश सारा नेपालीहरू सशस्त्र हतियारधारी संगठनका प्रमुख मारिए पछि ह्याउ खस्के जस्तो भए । देशभर थप आतंक र त्रासको आँधी फैलियो । माओवादी सँगै भिड्ने प्रयोजनमा खुलेको सशस्त्र प्रहरी प्रमुखले देशको राजधानीमै ज्यान गुमाएका थिए । राजाप्रति बफादार मानिन्थ्यो तत्कालीन शाही नेपाली सेना । रोल्पाको होलेरी घटनामा गिरिजाप्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई असहयोग गरेको थियो । सेनाले माओवादीका बारेमा कोइराला सरकारलाई गलत सूचनामा अल्मल्याए पछि उनी राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए ।   स्थापनाको दुई वर्ष पनि नपुगेको यो नयाँ प्रहरी बल दलीय सरकारको बलियो भरोसा थियो । श्रेष्ठलाई ललितपुरको बागडोलमा ‘मर्निङ वाक’का क्रममा गोली हानी हत्या गरिएको थियो । उनी सँगै तत्कालीन सशस्त्र प्रहरी महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी उनकी श्रीमती नुडुप श्रेष्ठको पनि हत्या गरियो । श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मी पनि घटनास्थलमै मारिए ।  श्रेष्ठ माओवादी युद्धमा मारिने सबैभन्दा माथिल्लो श्रेणीका सुरक्षा अधिकृत थिए । अचम्म चाहिं के भयो भने घटनाको दुई दिनपछि माघ १४ गते तत्कालीन सरकार र विद्रोही माओवादीबीच दोस्रोपटक युद्धविरामका लागि सहमति भयो । यसले देश दौडाहामा जान थालेका हामीलाई भने यात्रा सहज हुने विश्वास बढायो ।  शान्ति प्रकृयामा आइसकेपछि माओवादी सत्तामा पुगेका बेला दौरासुरुवाल लगाएका प्रचण्डले श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै सेलुट हानेको विषयले निकै चर्चा पायो । तर, माओवादीले उनको हत्याको कारण सरकारलाई झुकाउन मात्रै थियो भने पनि त्यसबारे औपचारिक रूपमा कहिल्यै भनेन । अनाहकमा उनकी श्रीमतीको पनि माओवादीले ज्यान गयो । दुवैको सम्झनामा ललितपुरको बागडोलमा ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’ बनाइएको छ । उनीहरू दोहोरो भीडन्तमा नभई सादा पोसाकका माओवादीको जालमा परेका थिए । देश हल्लाउने त्यो घटनालगत्तै उपत्यकाका गौडागौडामा सुरक्षाफौज खटिएका थिए । खानतलासी, बाटो जाम हुने नै भयो । सिपाहीहरूको व्यवहारले उनीहरू एकातिर डर अनि अर्कोतिर रिसले आगो भएका छन् भन्ने देखाउँथ्यो । त्यसै पनि घटना पहिले शान्त, संयमित र वेपरवाह जस्तो देखिन्छ हाम्रो सुरक्षा संयन्त्र । अनि छिसिक्क केही भैहाल्यो भने असिनपसिन र उत्ताउलो हुने पूरानै रोग हो । आजपर्यन्त यसमा सुधार भएको छैन । तर, मुलुकको राजधानीमा अनि आधुनिक गोलीगठ्ठाले सुसजित प्रहरीका प्रमुख नै मारिने घटना चानचुने थिएन । आम मानिस र सुरक्षा फौजको मनोबल गिराउन यो घटना काफी थियो । त्यसबेलाको पृष्ठभूमि नै डरलाग्दो छँदै थियो ।  रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय लिएर स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरूलाई भने आफ्नै पीर थियो । एउटा उद्देश्यका खातिर दौडादौड थियो । टुंगोमा पुग्न लागेको कामको धपेडी थियो । महिना दिनदेखिको अनवरत प्रयास र खटाइपछिको एउटा प्रतीक्षाको समय आउँदै थियो । उपत्यका नै थर्किने गरी सशस्त्र प्रहरीका प्रमुख मारिए पनि उनीहरूको आफ्नो लय चुपचाप जारी थियो । हामी मैदानमा थियौं ।  खासमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मैको पढाइ मेरा लागि हालको चल्तीको कार्यक्रम ‘कमाउँदै पढ्दै’ भन्या जस्तै थियो । पत्रिकामा काम गर्दै रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्दै गरेको थिएँ । आफ्नो पढाइ खर्च पनि जुट्ने अनि पत्रकारिताको काममा माझिन पाइने दोहोरो लाभ थियो । पढ्ने मूल दायित्व त छँदै थियो । पत्रकारिता पढ्न थालेको चार वर्ष अनि स्नातक तहमा पुगेको नै दुई वर्ष भैसकेको थियो ।  ठ्याक्क मिल्ने कोर्सबुक नभएकाले त्यसबेला पत्रकारिता विषयका कक्षाहरू सकेसम्म नछुटाइ पढ्नुपर्ने बाध्यता नै हुन्थ्यो । अरू विषयको कक्षा भने प्रायः कहिल्यै लिन भ्याइँदैन थियो । डेरा फर्केर खाना पकाइवरि खाएर पत्रिकाको अफिस जान जहिल्यै हतारो हुन्थ्यो । बिहानै रिपोर्टिङको समय जुध्यो भने त झन् खाजाबाटै दिन काट्नु पर्ने बाध्यता आइलाग्थ्यो । कहिलेकाहीँ भने तारे होटेलमा कार्यक्रम पर्दा मज्जाले थरिथरिका व्यञ्जन चाख्न पाइन्थ्यो ।  हतारहतार कक्षा लिँदै टाप कस्ने हालका हेल्मेट शिक्षक जस्तै हुन्थ्यो अवस्था । पत्रकारिता विषयको कक्षा लिने अनि फटाफट निस्की हाल्ने दैनिकी थियो । हतारोको मेसोमा साथीभाइसँग गफिने समय पनि उतिसारो मिल्दैन थियो ।  अरू सबै विषयको कोर्सबुक हुन्थ्यो । त्यसबेला पत्रकारिता विषयको चाहिं करिकुलम मात्र हुन्थ्यो । ठ्याक्कै कोर्सबुक नहुनाले कक्षा लिएर नोट बनाउने, फोटोकपी गर्ने अनि पत्रिकामा आएका आर्टिकल आदि पढेर परीक्षाको तयारी गर्नुपर्थ्यो । किन्न सके कुनैकुनै विषय मिल्ने नेपाली पुस्तक किनिन्थ्यो । ती पनि आक्कलझुक्कल मात्रै निस्कन्थे । कहिलेकसो विदेशी लेखकका किताब पनि जुटाएर पढिन्थ्यो ।  नियमित कक्षा नलिए विषयवस्तुको मेसै नपाएर अलमलमा परिन्थ्यो । त्यसैले पत्रकारिता विषयको कक्षा ठूलै कारण नपरेसम्म कसैले छोड्दैन थिए । त्यसमाथि प्रयोगात्मक परीक्षा पनि हुने भएकाले पनि नियमित हुन जरुरी थियो । अब्दुल्लाह मियाँ (हाल क्यानडा), भोजराज भाट लगायत हामी केही साथीहरू पत्रकारिता काम गर्दै पढ्थ्यौं ।  क्याम्पसमा हिउँदे बिदाको तिथि नजिकिँदो थियो । साथीहरूबीच परिचय, भावनात्मक आदानप्रदान र रमाइलो गर्दै अझ बढी ‘फेमिलियर’ बन्न ‘वनभोज’ जाने सल्लाह भयो । शैलेन्द्र थापाले इच्छुक साथीहरूको नाम टिपे । वनभोजमा हामीले पत्रकारिता पढाउने गुरुहरूलाई समेत सहभागी गराई वनभोजलाई ज्ञानोपयोगी कसरी बनाउने भनेर छलफल गरिरहेका थियौं । पत्रकारिता पढ्ने सहपाठीमध्ये सुरेन्द्र बस्नेत स्ववियु सदस्य थिए । नेता साथी मानेर हामीले वनभोज कार्यक्रमको तयारीका लागि सम्पूर्ण जिम्मा उनलाई दियौं । तर, केही दिनपछि उनले ‘पत्रकारिता’ पढ्ने साथीहरूले गर्ने भनेको वनभोजका ठाउँमा अनेरास्ववियुले गर्ने वनभोजमा सहभागी हुने प्रस्ताव गरे । पत्रकारिता पढ्ने विद्यार्थी मात्रैको वनभोज गर्ने कुरा त्यत्तिकै सेलायो । वनभोजको कुरा त सेलायो । छलफल गर्दै जाँदा अध्ययन भ्रमण गरेर मोफसलको पत्रकारिताको विषयमा सर्वेक्षण गर्ने योजना बन्यो । अनि वनभोज कार्यक्रमको सन्दर्भ हरायो र ‘सञ्चार अध्ययन भ्रमण’ गर्ने तय भयो । काठमाडौं बाहिर जसलाई मोफसल भनिन्छ, त्यहाँका पत्रकारहरूसँग सामूहिक संवाद गर्ने र त्यसै मौकामा सर्वेक्षण फारम भर्ने तय गरियो । यसअघि मोफसलका पत्रकारहरूको अवस्थाका बारेमा अध्ययन नै हुन सकेको थिएन । पत्रकारहरूको पढाइ, तालिम, नियुक्तिपत्र, तलबलगायत विविध विषयमा हाम्रो सर्वेक्षण पहिलो हुने कुराले झन् ऊर्जा दिएको थियो ।  सिनेमाको विशेष शो हुँदै अध्ययन भ्रमण, मोफसलका पत्रकारका बारेमा पहिलोपल्ट मिडिया सर्वेक्षण अनि त्यसको निष्कर्षसहितको पुस्तक प्रकाशन, विमोचनसम्मको रोमाञ्चक कल्पनामा हामी डुब्दै गयौं ।  याद र सम्झनाका तरेली कहिल्यै बिलाउने रहेनछन् । वेलाबेलामा घाउमा खाटा बसेर मेटिँदै जान थालेजस्तो देखिए पनि मनको चङ्गा उडाउँदा फेरि उसैगरी कञ्चन र हराभरा भैहाल्दा रहेछन् । त्यसैले त होला, दुई दशकपछि पनि ती दिनका यादहरू उस्तै ताजातरोज रूपमा आँखा र मनका सामुन्ने ओर्लिन्छन् र अक्षरमा ढलिमली गर्न तम्तयार हुन्छन् ।   १० वर्षे हिंसात्मक युद्धको उत्सर्गको समयमा हाम्रो यात्राको तयारी भयो । सडक करिबकरिब स्वचालित अत्याधुनिक राइफलधारी सेना, प्रहरी र सशस्त्र प्रहरीको युनिफाइड कमाण्डको कब्जामा थियो । पत्रकार पृष्ठभूमिको आत्मविश्वासले हामीलाई निर्धक्क सडकमा निस्कन सक्ने बनाएको थियो । नत्र हत्केलामा ज्यान राखेर घरबाट बाहिर निस्कनु पर्ने त्यो कहालीलाग्दो युगको यात्रा उमंग, उत्साह र बेफिक्रीको हुनसक्ने थिएन ।  बन्दुकको छायाँमा रत्नराज्यलक्ष्मी क्याम्पसको कक्षाकोठादेखि सुरक्षाफौजको कब्जामा रहेको पूर्वपश्चिम राजमार्गमा एउटा नौलो, उद्देश्यमूलक र साहसिलो यात्रा पूरा भएको थियो । भ्रमणको तयारीसँगै आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने पीरलो बढ्यो । धेरै उपायमा छलफल भए । आफैले पैसा उठाएर जान सकिने अवस्था सायद धेरैको थिएन । सामूहिक पहल होस् भनेर त्यसबारे धेरै सोचेनौं पनि । एउटा नेपाली सिनेमाको विशेष प्रदर्शन गर्ने निधो भयो । मोफसलको पत्रकारिताको अध्ययन गर्ने मुख्य लक्ष्य बनाएकाले हामीलाई ‘मिडिया रिसर्च’ पढाउने गुरु लालदेउसा राईसँग यसबारे सुझाव लिनु मैले धर्म ठानें । गुरुदेवको निवासको फोन जुटाएर मैले घन्टी बजाएँ । सुरुमा मलाई सरसँग बोल्न अलिक अप्ठ्यारो पनि लाग्यो । उसै पनि क्याम्पसमा पत्रकारिताका गुरूहरूसँग विद्यार्थीहरूको अलिक कमै बोल्ने बानी थियो । तर, राई गुरूसँगको छोटो कुराकानीमै प्राप्त उत्साहपूर्ण समर्थन र सहयोगको बचनले मन फुरुङ्ग भयो । पत्रकार मनऋषि धितालको सहयोगमा सर्वेक्षणको प्रश्नावली तयार पारेको थिएँ । राई सरले त्यसलाई अझ परिष्कृत गरिदिए ।  त्यसपछि पुसको चिसो सिरेटोमा पनि दिनरात भ्रमण तयारीको चिन्ताले शरीर तातो हुन थाल्यो । ‘च्यारिटी शो’का लागि सिनेमा खोज्नुपर्ने, हल खोज्नुपर्ने, कहाँ, कसरी टिकटहरू बिक्री गर्ने यावत् कुराले मनमा हलचल नै ल्याउन थाले । तर जतिसुकै छटपटाहट भए पनि जुन कुरा जहिले हुने योग छ, सायद त्यसैबेला पूरा हुन्छ भन्ने हाम्रो परम्परागत विश्वासको सुविधा याद गर्दै हामी आफ्नो कर्ममा लागिरह्यौं ।  मैले काम गरिरहेको ‘खबरकागज साप्ताहिक’मा तुलसी शर्मा छद्य नाममा सिनेमासम्बन्धि लेख्न थालेको साढे दुई वर्ष भइसकेको थियो । अझै कैयौं कलाक्षेत्रका मान्छेहरूलाई प्रत्यक्ष भेट्न बाँकी थियो । मुनामदनका निर्माता नवराज पौडेलसँग भेट्ने कुरा भयो । तर, मैले उनलाई चिनेको थिइनँ । उनीसँग बागबजारमा भेट्ने सल्लाह भयो । मैले फ्याट्टै भनिहालें, ‘मैले तपाईको अनुहार चिन्दिनँ नि त !’ त्यसपछि उनले आफ्नो मोटरसाइकलको नम्बर दिए । हामी केही साथी गएर भेट्यौं । प्रारम्भिक कुरा राम्रै भए पनि पछि उनले सेन्सरबाट फिल्म छुटाउन १२ लाख रुपैयाँ चाहिने भयो, मसँग त्यत्रो रकम अहिले छैन भन्दै पन्छिए ।  यसअघि नै मैले पत्रकार नारायण अमृतलाई ‘नुमाफुङ’का निर्देशक नवीन सुब्बासँग कुरा गरिदिन अनुरोध गरेको थिएँ । उनले सुब्बासँग हाम्राबारे कुरा गरिदिएपछि पुस २३ गते साँझ नवीन सुब्बासँग फोनमा कुराकानी भयो । कुराकानीमा उनी बडो सहयोगी भावनाको लाग्यो । कुरा सकारात्मक भएपछि भोलिपल्ट बिहान म थप कुरा गर्न उनको डेरा घट्टेकुलो गएँ ।  माघ १६ गते ‘नुमाफुङ’को विशेष प्रदर्शन गर्ने तिथिसहित आर्थिक कुरा पनि पक्का गरें । लिम्बु संस्कृतिका विषयमा बनेको यो सिनेमाको त्यसबेला देश तथा विदेशमा निकै चर्चा थियो । अनि ठाउँठाउँमा विशेष प्रदर्शन भैरहेको थियो ।  पुष २३ गते बिहान क्याम्पसमा यसैबारे भेला राखेका थियौं । झन्डै ३५ जना साथीहरूले भ्रमणमा जाने नाम लेखेको भए पनि त्यस दिन बढेर ५४ जना पुगे । तयारीको नेतृत्वमा रहेका हामी प्रायः ‘ब्याकबेन्चर टाइप’का थियौं । पङ्तिकार नेतृत्वको भ्रमण टोली कलेजमा खासै परिचित थिएन । पढाइबाहेक कलेजमा हाम्रो अर्को ध्येय पनि नभएकाले धेरैजनाका बीचमा पुग्नु पर्ने कारण पनि थिएन । कतिपय साथीहरूले नपत्याएर हियाउने शैलीमा भ्रमण तयारीबारे टिप्पणी गरिरहेका थिए । भ्रमण तयारीमा हामी दिनरात खटिएका थियौं । अनिल, शैलेन्द्र, दीपकलगायत साथीहरूको बास नै अनामनगरको मेरो डेरामा हुन्थ्यो । पुस २६ गतेको शनिबार दिउँसो २ बजेतिर नुमाफुङ सिनेमाको विशेष शोका टिकटका ठेली हाम्रो हातमा परे । त्यस दिन ११ बजे नै साथीहरूलाई हातहातमा टिकट दिने योजना थियो । बागबजार छापाखानाले ढिलो गरिदिँदा २ बजेसम्म पर्खिनु पर्यो । पर्खाइको समय सदुपयोग गर्दै हामीले टिकट बिक्रीको क्रममा पालना गर्नुपर्ने आचारसंहिता साथीहरू माझ राख्यौं । जुन अघिल्लो दिन नै दीपक, शैलेन्द्र र मैले तयार पारेका थियौं ।  भ्रमणको तयारी र भ्रमण कार्यक्रमलाई अझ बढी सरल र प्रभावकारी पार्न हामीले त्यस दिन ‘सञ्चार अध्ययन भ्रमण समिति’ गठन गर्‍यौं । समितिमा मलाई साथीहरूले संयोजक बनाए । शैलेन्द्र, दीपक, शिव दुवाडी, गोपाल सुवेदी, पूर्णिमा गौतम र जनक थपलिया सदस्य रहे । ‘यो कुनै लाभको पद भएको समिति होइन, ठीक छ नि’ यसो भन्दै गोपाल संग्रौलाले समितिप्रति समर्थन जनाए । अनि सर्वसम्मत रूपमा सबै साथीहरूले अनुमोदन गरे ।  भ्रमण समितिका सबैजनाको प्रतिनिधित्व हुने गरी टिकट बिक्री गर्नका लागि सातवटा टोली बनायौं । टिकट बेच्न बनेका टोलीको नेतृत्व भ्रमण समितिका सदस्यहरूले नै गर्ने निधो भयो । भ्रमण समितिमा भ्रमणको तयारीको प्रारम्भदेखि नै सक्रिय साथ र समर्थनमा रहेका साथीहरू थिए । जिम्मेवारी र विश्वासका हिसाबले सातजनालाई परिचालन गर्न बढी सरल हुने ठानेर यस्तो योजना बनाएका थियौं ।  सिनेमाको च्यारिटी शो गर्ने भनी जुन सहजताका साथ निर्णय गरेका थियौं, व्यवहारमा साँच्चै निकै कठिन भयो । यो असाध्यै गाह्रो काम रहेछ । ५ सय र एक हजार रुपैयाँमा सिनेमाको टिकट बेचेर स्रोत जुटाउनु सामान्य काम होइन रहेछ । माओवादीको चन्दा आतंकले व्यवसायी, शैक्षिक संस्था सञ्चालक आजित भएको बेला भयो । टिमका केही साथीहरूको कडा मिहिनेतका कारण उद्देश्य पूर्ण रूपमा सफल भयो । सामूहिक काममा सबैले उसैगरी महत्त्वका साथ समय दिए अझ सहज चाहिं हुँदो हो । सिनेमाको शो गर्ने दिन नजिकिँदै थियो । मेसिन झैं हामी खटिएका थियौं टिकट बेच्न । जतिजति हाम्रो भ्रमणमा जाने सपनाको भ्रूण हुर्कंदै थियो, उतिउति साथीहरूको सक्रियता झन् बढ्दै गयो । अन्तिम तीन-चार दिन बाँकी रहेपछि त सबैजसो साथीहरू टिकट बेच्न खटिए । परिणामले आकार लिन थालेको आभास जसैजसै बढ्दो थियो, साथीहरूको उपस्थिति पनि उसैउसै बाक्लिँदै थियोे ।  दिनरात नभनी खटिने साथीहरू बीचबाट हामीले एक सक्रिय साथीहरूको टिम नै खडा गरेका थियौं । यो टिमको नाम ‘स्पेसल स्ट्राइकिङ फोर्स’ राखेका थियौं । खाना र खाजा समेतको व्यवस्था थियो यो टिमलाई । यो फोर्सका साथीहरू बिहान उठ्ने बित्तिकैदेखि साँझ परुन्जेल खटिन्थे । जसमा थिए–अर्पण खरेल, दीपक भट्टराई, गोपाल संग्रौला, दिनेश सिंह, विनय धितालहरू । माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो त्यसबेला । यो एक वर्षका बीचमा सरकार र माओवादीबीच पहिलो पटक युद्धविराम भयो । यसैबीच माओवादीले अघिल्लो मंसिर ७ गते राति सुर्खेत विमानस्थलमा कर्णाली एअरको हेलिकप्टर विष्फोट गरिदिएका थिए भने त्यसै राति दाङको घोराहीमा सेनाको ब्यारेकमा आक्रमण गरेर युद्धविराम भङ्ग गरेर सेनालाई सिधै युद्ध मैदानमा निम्तो गरिदिएका थिए । अनि अघिल्लो मंसिर ११ गते सरकारले लागू गरेको संकटकाल जारी थियो ।  कैयौं मौलिक हक निलम्बित थिए । यस्तो पृष्ठभूमिमा चलिरहेको थियो भ्रमणको तयारी । अनि यही बीचमा १२ माघमा माओवादीले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ दम्पतीलाई मर्निङ वाक गएका बेला गोली हानी हत्या गरेको थियो ।  समय यस्तो डरलाग्दो थियो । टिकट बेच्न निस्केका हामी सावधानीका साथ शैक्षिक संस्था वा अरु ठाउँमा जानु पर्ने अवस्था थियो । यसबारे सजग भएरै फिल्डमा खटिएका थियौं । पत्रकारिताका विद्यार्थी, केही पत्रकारिता गरिरहेका साथी पनि भएकाले ट्याकल गर्न सक्छन् भन्ने विश्वास थियो । यसैले होला खास समस्या पनि परेन । बत्तिसपुतली पुगेको एउटा टिमलाई भने केहीबेर सशस्त्र प्रहरीले कहाँ हिँडेको, किन हिँडेको भन्दै केरकार गर्यो । त्यसबेला ४/५ जना सँगै हिँडडुल गर्न पाइँदैन थियो ।  सिनेमाको विशेष प्रदर्शनी सकिएको पर्सिपल्टै हाम्रो यात्रा प्रारम्भ भयो । भ्रमणमा ३६ जना विद्यार्थी र एकजना गुरु डा. अच्युत कोइराला सहभागी थिए ।