काठमाडौं । लगानी योग्य पुँजीको चरम अभाव खेपिरहेका बैंकरहरु गभर्नर र अर्थ सचिवलाई भेटेपछि उत्साहित भएका छन् । बिहीबार राष्ट्र बैंकका गभर्नरलाई भेटेका उनीहरुले शुक्रबार अर्थ सचिव शंकर प्रसाद अधिकारीलाई भेटेका हुन् ।
‘गभर्नर साव र अर्थ सचिव दुबै जना लगानी योग्य पुँजीको अभाव हटाउन सकारात्मक हुनुहुन्छ, हामी उत्साहित भएर फर्किएका छौं’, नेपाल बैंकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले विकासन्युजसँग भने ।

लगानी योग्य पुँजीको अभावले सरकारको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यमा समेत प्रभाव पार्ने तथा समग्र मुलुकुको वित्तिय परिसूचक नकारात्मक हुने भन्दै अर्थ सचिव अधिकारीले समस्या समाधानका लागि उचित विकल्प खोज्ने आश्वासन दिएको पनि उनले बताए । ‘यो अर्थतन्त्रको समस्या भनेको राष्ट्रिय समस्या हो, समाधानका लागि हामी सबैले सचेत प्रयत्न गर्नुपर्छ भन्नु भएको छ’, ढुंगानाले भने ।
हाल बजारमा ३२ अर्बको मात्रै तरलता छ । बाणिज्य बैंकहरुको पुँजी, कर्जा र निक्षेप अनुपात (सिसिडी रेसियो) ७७ पुगिसकेकाले ८० पुग्ने जोखिम बढेको छ ।बिहिबारको भेटमा गभर्नर डा. नेपालले कर्जा लगानी अनावश्यक रुपमा बढाएकाले लगानी योग्य पुँजीको अभाव देखिएको भन्दै बैंकरहरुलाई सचेत बन्न भनेका थिए । शुक्रबार अर्थ सचिव अधिकारीले भने लगानी योग्य पुँजी अभावको अवस्थालाई निकास दिन सहयोग गर्ने आश्वासन दिएका हुन् । अर्थ सचिव अधिकारीले राष्ट्र बैंक, बैंकर र मन्त्रालयबिच सहकार्य गरेर समस्याको उचित समाधान निकाल्ने आश्वासन दिएपछि बैंकरहरु उत्साहित भएका हुन् ।
बाणिज्य बैंकहरुले मुद्धति निक्षेपको ब्याजदर १२.२५ प्रतिशत पुर्याईसकेका छन् । यसले पनि बजारमा लगानी योग्य पुँजी अभाव रहेको स्पष्ट पारिसकेको छ । चालु आवको पहिलो चार महिनामा बैंकहरुले निक्षेपको तुलनामा कर्जा प्रवाह ह्वात्तै बढाएको देखिन्छ । कात्तिकसम्ममा निक्षेप जम्मा १४.५ प्रतिशतले वृद्धि हुँदा बैंकहरुले कर्जा भने १७.५ प्रतिशतले वृद्धि गरेका थिए । सामान्यतया कर्जा प्रवाह भन्दा निक्षेप संकलनको वृद्धिदर केहि बढि हुनुपर्ने मान्यता रहिआएको छ ।