अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ । 

आयोगले नारायणी अस्पतालका चिकित्सक डा। प्रमोद राममाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा आमनागरिकको स्वास्थ्य अधिकार प्रभावित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

घटनाको विरोधमा चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दा बिरामी उपचारबाट वञ्चित भएको आयोगको ठहर छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्द गर्नु संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक, उपभोक्ताको अधिकार तथा प्रचलित कानुनको मर्मविपरीत हो ।’

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिँदै आयोगले आन्दोलनरत चिकित्सकलाई आमनागरिकको स्वास्थ्यमा असर नपर्ने वैकल्पिक माध्यमबाट आफ्ना असहमति र विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यस्तै, स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सकमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय भएको बताएको छ ।
 
उसले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

Share News