क्यान्सर विवाद टुंग्याउन जेएन्डजेको साढे ७ खर्ब बढी क्षतिपूर्ति प्रस्ताव, यस्तो छ विवाद

काठमाडौं । प्रसिद्ध औषधि कम्पनी जोन्सन एन्ड जोन्सनले आफ्नो बेबी पाउडर तथा टाल्कयुक्त (टाल्कम) उत्पादन का कारण डिम्बाशय (ओभरी) क्यान्सर भएको आरोप लगाउँदै दायर गरिएका हजारौं मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलर (७ खर्ब, ६८ अर्ब २६ करोड रुपैयाँ) सम्म क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विगत धेरै वर्षदेखि चलिरहेको ठूलो कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा आएको हो । उक्त विवादका कारण न्यु जर्सीस्थित यस स्वास्थ्य सेवा कम्पनीमाथि निरन्तर कानुनी र आर्थिक दबाब पर्दै आएको छ ।
 
यद्यपि, जोन्सन एन्ड जोन्सनले सुरुदेखि नै यी आरोप अस्वीकार गर्दै आएको छ । कम्पनीले आफ्ना टाल्कयुक्त उत्पादनले क्यान्सर नहुने दाबी गरेको छ । साथै कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र पनि परिवर्तन गरिसकेको जनाएको छ ।

कम्पनीका मुकदमा व्यवस्थापन (लिटिगेसन) सम्बन्धी उपाध्यक्ष एरिक हासले सोमबार यी आरोपलाई ‘निराधार’ भएको बताएका छन् ।

उनले कम्पनी केवल यो लामो समयदेखिको कानुनी विवादलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले सम्झौता गर्न तयार भएको स्पष्ट पारे ।

जोनसन एन्ड जोन्सनले आगामी वर्षभित्र ३ अर्ब अमेरिकी डलरसम्म भुक्तानी गर्ने जनाएको छ । त्यसपछि सन् २०२८ अघि थप कुनै भुक्तानी गर्नुपर्ने छैन ।

के हो विवाद ?

जोन्सन एन्ड जोन्सनविरुद्ध धेरै वर्षदेखि हजारौं महिलाले कम्पनीको टाल्कयुक्त बेबी पाउडर तथा अन्य उत्पादनको प्रयोगका कारण डिम्बाशयमा क्यान्सर भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । 

केही मुद्दामा अदालतले पीडितको पक्षमा फैसला गर्दै कम्पनीलाई ठूलो क्षतिपूर्ति तिर्न आदेश दिएको छ भने धेरै मुद्दा अझै कानुनी प्रक्रियामै छन् । 

कम्पनीले भने आफ्ना उत्पादन सुरक्षित रहेको र टाल्कयुक्त उत्पादनले क्यान्सर गराउने आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । 

यसबीच कम्पनीले सन् २०२३ देखि विश्वव्यापी रूपमा टाल्कयुक्त बेबी पाउडरको बिक्री बन्द गरी कर्नस्टार्च (मकैको स्टार्च) आधारित उत्पादनलाई प्रतिस्थापन गरेको थियो । 

अहिले प्रस्ताव गरिएको ५.५ अर्ब अमेरिकी डलरको सम्झौता वर्षौंदेखिको यही कानुनी विवाद अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ ।

Share News