काठमाडौं । झापाको पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले सुन र विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका-६ स्थित सीमा इलाकाबाट जेठ ४ गते उनी पक्राउ परेका हुन् ।
भारतबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गरेका भारतका अन्दाजी ३९ वर्षीय परम पाठकलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागेर जाँच गर्दा पाठकको साथबाट ५ सय ७० ग्राम सुन बरामद भएको हो ।
यसका साथै उनको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ४ सय १० भारतीय रुपैयाँ, एक थान भारतीय आधार कार्ड, विभिन्न ब्रान्डका दुई थान मोबाइल, एउटा हार्ड डिस्क, एउटा बैंक चेक र ७ वटा सिमकार्ड समेत बरामद गरिएको छ ।
पक्राउ परेका भारतीय नागरिक पाठक कुन प्रयोजनका लागि उक्त सुन र विदेशी मुद्रासहित नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा अझै खुलिसकेको छैन ।
नियन्त्रणमा लिइएका पाठकलाई बरामद गरिएको सुन, विदेशी मुद्रा र अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा, झापामा बुझाइएको छ । भन्सार र सुरक्षा निकायले यस विषयमा थप अनुसन्धान अघि बढाएका छन् ।