काठमाडौंमा तीन दिने हस्तकला मेला सुरु हुँदै

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा ‘नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एन्ड कल्चर शो २०२६’ यही जेष्ठ ८ देखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्क्वेट एण्ड इभेन्टमा आयोजना हुने भएको छ । कार्यक्रम दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

हस्तकला क्षेत्रले देशमा लाखौंको संख्यामा स्वरोजगार सिर्जना गर्दै आएको छ भने अन्तर्राष्ट्रिय बजारमा पनि यसको ठूलो सम्भावना रहेको छ । कृषिजन्य उद्योगपछि देशभर विस्तार गर्न सकिने महत्वपूर्ण क्षेत्रका रूपमा हस्तकलालाई लिइन्छ, जसले नेपालको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व गर्दै आएको छ ।

महासंघले जिल्ला तथा प्रदेश परिषद्सँगको समन्वयमा आयोजना गर्न लागेको यस मेलाको मुख्य उद्देश्य स्थानीय स्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी तथा प्रचार–प्रसार गर्नु, उद्यमीलाई बजारसँग जोड्नु, आयआर्जनको अवसर बढाउनु तथा परम्परागत सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ ।

मेलामा देशका विभिन्न जिल्ला जस्तै संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, काभ्रे, कास्की, झापा, धनुषा, सुनसरी लगायतका स्थानबाट स्थानीय उद्यमी तथा कलाकारहरूको सहभागिता रहनेछ । करिब ७० वटा स्टलमार्फत हस्तकला तथा अन्य नेपाली उत्पादनहरूको प्रदर्शन तथा बिक्री गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा हस्तकला प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम, कलाकार तथा कालिगढहरूको सीप प्रदर्शन, तथा स्थानीय परम्परागत परिकारको स्वाद समावेश गरिएको छ ।

मेलामा प्रवेश निःशुल्क राखिएको छ । साथै, मेलाको प्रचार–प्रसारका लागि डिजिटल माध्यम, सामाजिक सञ्जाल, इमेल तथा अन्य माध्यमहरूको प्रयोग गरिएको  छ।

यस कार्यक्रमले स्थानीय उत्पादनको बजार विस्तार, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना तथा कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । 

Share News