बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा डोजर चलेपछि...

काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ । यसले स्थानीयवासी र धार्मिक समुदायमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । 

२०७८ साल कात्तिक १३ गते दर्ता भएको उक्त गुम्बा वैशाख १८ गते शुक्रबार, अर्थात् वैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्तीकै दिन भत्काइएको हो । बुद्ध जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणसँग जोडिएको पवित्र दिनमै गुम्बा हटाइएकाले यसको समय चयनबारे प्रश्न उठेका छन् । 

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान अन्तर्गत गुम्बा भत्काइएको जनाएको छ । महानगरका अनुसार पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइएको छ, जसअन्तर्गत बल्खु क्षेत्रका विभिन्न संरचनामाथि डोजर चलाइएको हो । 

गुम्बा भत्काउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति, धार्मिक सामग्री तथा अन्य महत्वपूर्ण सामानहरू सुरक्षित रूपमा बाहिर निकालिएको महानगरले बताएको छ । 

स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा ती सामग्री व्यवस्थापन गरिएको थियो । यद्यपि, गुम्बा व्यवस्थापन पक्ष र स्थानीय बासिन्दाले भने पर्याप्त पूर्वसूचना नदिइएको र धार्मिक संवेदनशीलताको ख्याल नगरिएको गुनासो गरेका छन् । 

स्थानीयवासीका अनुसार उक्त गुम्बा केही वर्षयता धार्मिक क्रियाकलाप र ध्यान साधनाका लागि प्रयोग हुँदै आएको थियो । बुद्ध जयन्तीका अवसरमा विशेष पूजाआजा र कार्यक्रम हुने तयारी भइरहेका बेला गुम्बा भत्काइएकाले उनीहरू भावनात्मक रूपमा आहत भएको बताउँछन् ।

शुक्रबार नै बल्खुस्थित पाथिभरा मन्दिरमा पनि डाेजर चलेकाे छ । 

महानगरपालिकाले भने कानुनी प्रक्रिया अनुसार नै कारबाही गरिएको दाबी गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण आफ्नो दायित्व भएको स्पष्ट पारेको छ । महानगरले यसअघि पनि विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता गतिविधि जारी रहने जनाएको छ ।
 
 

Share News