काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०.३३ अंकले घटेर २ हजार ६७६.६८ बिन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स १५.६२ अंक, फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले घटेका छन् ।
सूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । आइतबार ३४५ कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
पछिल्लो समय सरकारद्वारा सुरु गरिएको धरपकड र सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिले पुँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको लगानीकर्ता देव गुरागाईँ बताउँछन् । बलियो सरकार गठन भएकोमा सबै सकारात्मक भए पनि सरकारले चालेका कदम र त्यसको कार्यान्वयन शैलीका कारण बजार प्रभावित भएको उनको भनाइ छ ।
‘गलत गर्नेहरूलाई कारबाही गर्नु आवश्यक छ, तर त्यसको समय र तरिकामा समन्वय हुनुपर्छ,’ उनले भने । गुरागाईँले लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूमा त्रास सिर्जना हुने गतिविधिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताए । ‘देश निर्माणका लागि लगानी आवश्यक हुन्छ । तर, लगानीकर्तालाई नै तर्साउने अवस्था आयो भने त्यसले पुँजी बजारमा प्रत्यक्ष असर गर्छ,’ उनले भने ।
उनले सीमित व्यक्तिहरूमा केन्द्रित कारबाहीले पनि ठूलो आर्थिक प्रणाली प्रभावित हुन सक्ने चेतावनी दिए । ‘केही व्यक्तिको नियन्त्रणमा ठूला व्यापारिक संरचना छन् । यदि त्यस्तो समूहमा असर प¥यो भने बैंकिङ प्रणालीसम्म प्रभाव पर्न सक्छ,’ उनले भने । उनका अनुसार केही व्यक्तिको पक्राउले ब्रोकर कम्पनीहरू र ट्रेडरहरूमा समेत त्रास फैलिएको छ, जसका कारण नयाँ लगानी घट्ने र बजारमा तरलता कम हुने जोखिम देखिएको छ । ‘बजार तत्काल प्यानिक अवस्थामा देखिए पनि दीर्घकालमा सुधार हुने सम्भावना रहन्छ,’ उनले भने ।
गुरागाईंले अर्थमन्त्रीले बजारसम्बन्धी स्पष्ट धारणा नदिँदा लगानीकर्तामा अन्योलता बढेको पनि उल्लेख गरे । ‘शुद्धीकरण आवश्यक छ, तर त्यससँगै सुधारका अन्य उपायहरू पनि सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने । उनले राज्यले तत्काल सन्तुलित नीति अवलम्बन गर्दै लगानीकर्ताको विश्वास कायम गर्नुपर्ने आवश्यकता औंल्याए ।
आज ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकका सेयरमा उच्च वृद्धि देखिएको हो ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि-इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका सेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ४५ करोडभन्दा बढी र ङादी ग्रुप पावरको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
पछिल्लो समय भइरहेको धरपकड अभियानले पुँजी बजारमा अन्योलता र त्रास सिर्जना गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनका अनुसार कारबाहीमा परेका व्यक्तिहरूमध्ये सेयर बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित लगानीकर्ता, संस्थापक सेयरधनी, व्यापारी तथा उद्योगीहरू समेत रहेका छन् । ‘यी व्यक्तिहरू बजारका हिस्सा हुन्, त्यसैले यस्तो कारबाहीले समग्र बजारमा प्रभाव पार्छ,’ उनले भने ।
रौनियारले धरपकडको दायरा कहिलेसम्म फैलिने र को-को यसमा पर्न सक्ने भन्ने विषयमा स्पष्टता नहुँदा लगानीकर्तामा अन्योलता बढेको बताए । ‘बजारले अनिश्चितता मन पराउँदैन। यस्तो अवस्थामा लगानीकर्ताहरू स्वाभाविक रूपमा त्रसित हुन्छन्,’ उनले भने ।
उनका अनुसार संवेदनशील विषयमा राजनीतिक गतिविधि बढ्दा विश्वभर नै पुँजी बजारमा गिरावट आउने प्रवृत्ति देखिन्छ । ‘यदि यही विषय सकारात्मक रूपमा अगाडि बढेको भए बजारमा सुधार आउन सक्थ्यो,’ उनले भने ।
सरकार गठन भएसँगै धरपकड सुरु भएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको बताए । ‘गल्ती गर्ने केही व्यक्तिहरू हुन्छन्, तर त्यसको असर लाखौं लगानीकर्तामा पर्छ,’ उनले भने ।