अमेरिका–इजरायल र इरानबीचको युद्धले महत्त्वपूर्ण जलमार्ग हर्मुज जलडमरूमध्य हुँदै हुने समग्र तेल आपूर्तिलाई जोखिममा पारिरहेकै बेला पनि इरानले यही मार्ग प्रयोग गरेर चीनतर्फ ठूलो परिमाणमा कच्चा तेल पठाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्यांकर ट्र्याकिङ कम्पनी ट्यांकरट्र्याकर्सका सह–संस्थापक समीर मदानीका अनुसार युद्ध फेब्रुअरी २८ मा सुरु भएयता इरानले कम्तीमा १ करोड १७ लाख (११.७ मिलियन) ब्यारेल कच्चा तेल हर्मुज जलडमरूमध्य पार गराएर पठाएको छ र ती सबै ढुवानी चीनतर्फ गइरहेका छन् । उनले मंगलबार सीएनबीसीलाई यो जानकारी दिएका हुन् ।
उक्त कम्पनीले उपग्रह तस्बिरको सहायताले जहाजहरूको आवागमन निगरानी गर्छ, जसका कारण ट्र्याकिङ प्रणाली बन्द गरिएका जहाजहरू पनि पहिचान गर्न सम्भव हुन्छ । तेहरानले जलमार्ग पार गर्न खोज्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि धेरै जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेका छन् ।
शिपिङ सूचनासम्बन्धी डाटा प्रदायक केपलरका अनुसार युद्ध सुरु भएयता करिब १ करोड २० लाख ब्यारेल कच्चा तेल हर्मुज जलडमरूमध्य हुँदै पार भइसकेको अनुमान गरिएको छ । केपलरकी कच्चा तेल विश्लेषक न्हवे खिन सोका अनुसार हालका वर्षहरूमा इरानी कच्चा तेलको मुख्य खरिदकर्ता चीन नै भएकाले तीमध्ये ठूलो हिस्सा अन्ततः चीन पुग्ने सम्भावना छ । तर अहिले जहाजहरूको अन्तिम गन्तव्य पुष्टि गर्न झन् कठिन बन्दै गएको उनले बताइन् ।
चीनको नेशनल इनर्जी एडमिनिस्ट्रेशनले यसबारे टिप्पणी माग्दै सीएनबीसीले गरेको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन ।
विश्वको करिब पाँचौं भाग तेल र ग्यास ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने साँघुरो जलमार्ग हर्मुज जलडमरूमध्यमा गत महिनादेखि युद्ध सुरु भएयता जहाजहरूको आवागमन निकै घटेको छ र अधिकांश ट्यांकरहरूले यो घेराबन्दीमा परेको जलमार्ग टार्न खोजिरहेका छन् ।
युद्ध सुरु भएको दुई साताभित्रै हर्मुज जलडमरूमध्य आसपास रहेका १० वटा जहाज तेहरानको आक्रमणमा परेका थिए, जसमा जहाजमा रहेका कम्तीमा सात जना नाविकको मृत्यु भएको अन्तर्राष्ट्रिय समुद्री संगठनले जनाएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार सीएनबीसीका ड्यान मर्फीसँगको अन्तर्वार्तामा हर्मुज जलडमरूमध्य पार गर्ने तेल ट्यांकरहरूले ‘अत्यन्त सावधानी अपनाउनुपर्ने’ बताएका थिए ।
मदानीका अनुसार फेब्रुअरी २८ पछि इरानबाट प्रस्थान गरेका छवटा ट्यांकरमध्ये तीनवटा इरानी झन्डा बोकेका जहाज थिए ।
तेल आपूर्तिमा अवरोध आउने आशंकाले मूल्य बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजका ब्रायन किल्मीडसँगको अन्तर्वार्तामा जलडमरूमध्य नजिकै रोकिएका जहाजहरूले ‘हिम्मत देखाएर’ मार्ग पार गर्नुपर्ने बताएका छन् । ‘डराउनु पर्ने केही छैन, उनीहरूसँग नौसेना छैनन्, हामीले उनीहरूका सबै जहाज डुबाइदिएका छौं,’ ट्रम्पले भने ।
वैकल्पिक निर्यात मार्ग ?
इरानको मुख्य भूमि तटबाट करिब १५ माइल टाढा रहेको खार्ग टापु टर्मिनल लामो समयदेखि इरानको प्रमुख तेल निर्यात केन्द्र रहँदै आएको छ । ट्यांकरहरू हर्मुज जलडमरूमध्य पार गर्नुअघि यहीँबाट करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्थ्यो ।
तर अहिले इरानले हर्मुज जलडमरूमध्यको दक्षिणतर्फ ओमानको खाडी किनारमा रहेको जास्क तेल तथा ग्यास टर्मिनल बाट पनि पुनः ट्यांकर लोड गर्न थालेको छ, जसले कच्चा तेल ढुवानी क्षमता केही बढाउन सक्छ ।
ट्यांकरट्र्याकर्सका अनुसार एक इरानी जहाजले त्यहाँ २० लाख ब्यारेल कच्चा तेल लोड गरिरहेको छ, जुन पछिल्ला पाँच वर्षमा त्यहाँ भएको पाँचौं लोडिङ मात्र हो। ‘जास्कमा बढेको गतिविधिले तेहरानले हर्मुज जलडमरूमध्यको विकल्प खोजिरहेको संकेत गरे पनि यो मार्ग कत्तिको व्यवहार्य हुन्छ भन्ने अझै स्पष्ट छैन,’ सोले भनिन्।
ओमान सागर किनारमा रहेको जास्क तेल केन्द्र हर्मुज जलडमरूमध्यलाई पूर्ण रूपमा बाइपास गर्ने इरानको एकमात्र कच्चा तेल निर्यात मार्ग हो। तर यसको कार्यक्षमता कम भएकाले यो केन्द्र विरलै प्रयोग हुँदै आएको छ ।
लामो दूरीमा तेल ढुवानीका लागि प्रयोग हुने भेरी लार्ज क्रुड क्यारिअर (भीएलसीसी) नामक विशाल ट्यांकरलाई लोड गर्न जास्कमा १० दिनसम्म लाग्न सक्ने मदानी बताउँछन् । ‘यसको घरेलु प्रचार–प्रसार मूल्य त राम्रो छ, तर व्यावहारिक ढुवानी लाभ खासै छैन,’ उनले भने । तुलना गर्दा खार्ग टापुमा भीएलसीसी लोड गर्न सामान्यतया एक वा दुई दिन मात्र लाग्छ ।
चीनको तेल भण्डारण
तेहरानले चीनतर्फ निर्यात जारी राखे पनि दैनिक १२ लाख २० हजार ब्यारेल बराबरको ढुवानी युद्ध सुरु हुनु अघिको स्तरभन्दा निकै कम हो ।
केपलरका अनुसार इरानले फेब्रुअरी महिनामा २१ लाख ६० हजार ब्यारेल प्रतिदिन तेल निर्यात गरेको थियो, जुन जुलाई २०१८ पछि सबैभन्दा उच्च स्तर हो। ती सबै ढुवानी चीनतर्फ गएका थिए, जहाँ सम्भावित ऊर्जा आपूर्ति जोखिमको सामना गर्न भण्डार बढाइँदै थियो ।
भन्सार तथ्यांकअनुसार यस वर्षको पहिलो दुई महिनामा चीनले तेल भण्डारण बढाउने प्रयास तीव्र बनाएको छ । कच्चा तेल आयात अघिल्लो वर्षको तुलनामा १५.८ प्रतिशतले बढेको देखिएको छ ।
केपलरका अनुसार फेब्रुअरी १६ को सातामा इरानी कच्चा तेल लोडिङ ३७ लाख ८० हजार ब्यारेल प्रतिदिन पुगेको थियो, जुन अघिल्लो औसत साप्ताहिक स्तर करिब १४ लाख ८० हजार ब्यारेल भन्दा दोब्बरभन्दा बढी हो ।
वर्षौंदेखि चीनले ठूलो मात्रामा कच्चा तेल भण्डार निर्माण गर्दै आएको छ। एटलान्टिक काउन्सिलका अनुसार जनवरीसम्म चीनसँग करिब १ अर्ब २० करोड ब्यारेल तेल भण्डार थियो, जसले ३ देखि ४ महिनासम्मको माग पूरा गर्न सक्छ ।
यस वर्ष भने यो भण्डारण अझै महत्त्वपूर्ण बनेको छ, किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका दुई प्रमुख आपूर्ति स्रोत भेनेजुएला र इरानलाई निशाना बनाएका छन् । वर्षको सुरुमै अमेरिकी सैन्य कारबाहीमा भेनेजुएलाका नेता निकोलस मादुरो पक्राउ परेका थिए भने गत महिनाको अमेरिका–इजरायल युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएका थिए ।
मध्यपूर्वमा जारी युद्ध शान्त हुने स्पष्ट संकेत नदेखिएकाले हर्मुज जलडमरूमध्य वरिपरि तनाव उच्च रहँदै गएको छ र विश्व ऊर्जा बजारमा अनिश्चितता बढेको छ ।
सोमबार तेलको मूल्य करिब १२० डलर प्रति ब्यारेल नजिक पुगेको थियो, जुन चार वर्षयताकै उच्च स्तर हो । पर्सियन खाडीका केही तेल उत्पादक देशहरूले उत्पादन घटाउन थालेका र हर्मुज जलडमरूमध्यबाट हुने यातायात लगभग ठप्प भएकाले मूल्य उकालो लागेको हो ।
सम्भावित तेल संकट नियन्त्रण गर्न विश्वका नेताहरू सक्रिय भएका छन्। अमेरिका सहित जी ७ देशहरूले इतिहासकै सबैभन्दा ठूलो रणनीतिक तेल भण्डार रिलीज गर्ने विकल्पबारे विचार गरिरहेका छन् भने ट्रम्पले युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन् । त्यसपछि तेलको मूल्य केही घटेको छ । मंगलबार राति अमेरिकी डब्ल्यूटीआई कच्चा तेल (अप्रिल डेलिभरी) करिब ८४.९ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको थियो भने ब्रेन्ट कच्चा तेल (मे डेलिभरी) ८८.९ डलर प्रति ब्यारेल आसपास पुगेको थियो । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
अन्य सामग्रीहरू :
मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द
इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?
मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम
इरान : शून्यमा सत्ता, संकटमा शासन
खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित
इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली