बालेन चैत पहिलो साताभित्र बन्नेछन् प्रधानमन्त्री, अर्थमन्त्रीमा स्वर्णिमको चर्चा

विषय विज्ञलाई मन्त्री बनाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाई पाउने निश्चित भएसँगै अब नया सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । रास्वपाले बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि बढाएर चुनावमा गएको थियो । जनताले सोही किसिमले रास्वपालाई अपेक्षागरेभन्दा बढी जनमत दिएर देशको बहुमतसहितको सरकार बनाउने म्यान्डेट दिएको छ । 

रास्वपाले अब बालेनलाई नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनेछ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने समानुपातिकतर्फको मतगणना पनि लगभग अन्तिम चरणमा छ । 

रास्वपाको सरकार बन्ने भएसँगै रास्वपाका शीर्ष नेताहरु सरकार गठनको तयारीमा जुटेका हुन् । उनीहरुले बालेनलाई प्रधानमन्त्री र विभिन्न क्षेत्रमा विज्ञता भएका विज्ञ सांसदहरुलाई मन्त्री बनाउने तयारी गरिरहेको हो । 

रास्वपाका एक नेताका अनुसार अहिले सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच छलफल भइरहेको छ । उनीहरुले क–कसलाई मन्त्रिपरिषदमा पठाउने भन्ने छलफल गरिरहेका छन् । नवनिर्वाचित सांसदहरु पनि मन्त्री बन्नका लागि दौडधूप गरिरहेको बुझिएको छ । 

दुई दिन अगाडिमात्रै रास्वपाका नेता असिम शाहले कसैले पनि मन्त्री बन्नका लागि दौडधूप नगर्न र फोर्स नलगाउन आग्रह गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका थिए, ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,’ रवि र बालेनको मिलनका सूत्रधार शाहले भनेका छन्, ‘जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ ।’ 

अहिलेको अन्तरिम सरकारले पनि नयाँ सरकारलाई स्वागत गर्ने तयारी गरिरहेको बुझिएको छ । अहिलेको सरकारले दीर्घकालिन प्रभाव पर्ने कुनै नीतिगत निर्णय र नियुक्तिका विषय पनि गर्न छाडेको बुझिएको छ । रास्वपाका नेताहरुले पनि दीघकालीन प्रभाव पार्ने काम नगर्न आग्रह गरेपछि वर्तमान सरकारले पनि सो विषयलाई गम्भीरताका साथ लिएको हो । 

मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सरकारले उपलब्ध गराएको रातो पासपोर्ट पनि परराष्ट्र मन्त्रालयलाई नै फिर्ता गरेका थिए । 

प्रधानमन्त्री र राष्ट्रपतिले पनि चैत पहिलो साताभित्र नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढाउने गरी काम गरिरहेको बताइएको छ । रास्वपाले पनि चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने तयारी गरिरहेको छ । 

प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ । 

रास्वपाले बालेनलाई संसदीय दलका नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । समानुपातिकतर्फको मतगणना अन्तिम अवस्थामा पुग्दा हालसम्मको परिस्थिति हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले चार–चार सिट पाउने देखिन्छ । 

समानुपातिक मतगणना सकिएपछि निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ । प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट, कांग्रेसले १८, एमालेले ९, नेकपाले ७, श्रम संस्कृतिले ३, राप्रपाले १ सिट जितेका छन् । स्वतन्त्रबाट महाविर पुन निर्वाचित भएका छन् ।

रास्वपाले विषयविज्ञलाई मन्त्री बनाउने चर्चा भइरहेको छ । उसो त अर्थविद् डा. स्वर्णिम वाग्लेलाई सभापति लामिछानेले चुनाव प्रचारप्रसारको क्रममा आगामी आर्थिक वर्षको बजेट लेख्न सुरु गर्न आग्रह गरेका थिए । अहिले अर्थमन्त्रीका रुपमा डा. वाग्लेको चर्चा भइरहेको छ । 

Share News