१.५० अर्बमा ३ हजार टन क्षमताको पश्चिमाञ्चल चिनी उद्योग बन्दै, बैंकबाट लियो १.२५ अर्ब ऋण

काठमाडौं । बर्दियामा ३ हजार टन क्षमताको आधुनिक चिनी उद्योग निर्माण हुने भएको छ । बर्दियाको गुलरिया–१२ मा स्थापित हुने पश्चिमाञ्चल चिनी उद्योग प्रालि दैनिक ३ हजार टन उखु पेल्ने क्षमतासहितको कारखाना सञ्चालनमा ल्याउने योजना बनाएको हो ।

विसं २०८१ भदौ १७ गते दर्ता भएको कम्पनीले उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानबाट प्रत्यक्ष रूपमा उखु खरिद गर्ने योजना बनाएको छ । यसले बर्दिया र वरिपरिका जिल्लाका किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

उद्योगबाट चिनी उत्पादनका साथै सह-उत्पादनका रूपमा शिरा, खोइया र फिल्टर माटो उत्पादन हुनेछ। खोइया ऊर्जा उत्पादनका लागि, शीरा औद्योगिक प्रयोजन र इथानोल उत्पादनमा र फिल्टर माटो जैविक मलका रूपमा प्रयोग गर्न सकिने भएकाले उद्योगले बहु-आयामिक आर्थिक लाभ दिने विश्वास गरिएको छ ।

कम्पनीका अनुसार उद्योग स्थापनाले स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, कृषि उत्पादन वृद्धि गर्नेछ, पूर्वाधार विकासमा योगदान पुर्याउनेछ र समग्र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउनेछ ।

उद्योग स्थापनाको कुल लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यसलाई ५७:४३ को ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाएको छ र प्रस्तावित ऋण पूर्ण रूपमा सुनिश्चित भइसकेको जनाएको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म परियोजनामा करिब ३३ प्रतिशत वित्तीय प्रगति हासिल भइसकेको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड रुपैयाँ दीर्घकालीन र ४० करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २५ करोड रुपैयाँ ऋण लिइसकेको छ । यद्यपि परियोजना निर्माण चरणमै रहेको हुँदा तोकिएको समय र लागतभित्र सम्पन्न हुने विषयमा केही कार्यान्वयन जोखिम विद्यमान रहेको कम्पनीले जनाएको छ।

पश्चिमाञ्चल चिनी उद्योगका प्रवर्द्धक शिखर श्रेष्ठसँग चिनी उद्योगमा लामो अनुभव छ । यो अनुभव महाकाली सुगर इन्डस्ट्रिज प्रालि मार्फत हासिल भएको हो, जुन ३ हजार टन दैनिक उखु पेल्ने क्षमता भएको स्थापित उद्योग हो ।श्रेष्ठको नेतृत्वमा कम्पनीले उत्पादन तथा बजार व्यवस्थापनमा एक दशकभन्दा बढी अनुभव संकलन गरेको छ । यस अनुभवले पश्चिमाञ्चल चिनी उद्योगलाई क्रसिङ दक्षता, मिल सञ्चालन, मेसिनरी तथा स्पेयर पार्ट्स आपूर्ति व्यवस्थापन, प्रक्रिया रसायन आपूर्तिकर्तासँग स्थापित सम्बन्ध र उखु मूल्य निर्धारण तथा आयात नीतिसम्बन्धी नियामकीय ज्ञान जस्ता पक्षमा महत्त्वपूर्ण लाभ प्रदान गरेको छ । 

Share News