पोखरा र समृद्धि मर्जपछि पोखरा फाइनान्स बन्ने, मिश्र अध्यक्ष र गुरुङलाई सीईओको जिम्मेवारी

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले चैतभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् । समान हैसियतमा गाभिन लागेका यी दुई वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट छिटो अन्तिम स्वीकृति पाए चैत मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने योजना बनाएका हुन् ।

दुवै संस्थाबीच १ः१ सेयर अनुपातमा मर्ज हुने सहमति भएको छ । अर्थात् गाभिएपछि दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् । मर्जरपछि कम्पनीको नाम पोखरा फाइनान्स नै रहनेछ । कम्पनीको दर्ता कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौंमा रहने जनाइएको छ ।

यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति

मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ ।

समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् ।

 

null

पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् । 

मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । स्रोतका अनुसार समृद्धि फाइनान्सका हालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे नायव प्रमुख कार्यकारी अधिकृत रहने वा नरहने विषय भने टुंगो लागेको छैन ।

कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनी स्रोतले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ ।

मर्जरपश्चात यस्तो बन्नेछ फाइनान्स

मर्जरपछि चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार मर्जरपछि कम्पनीको निक्षेप १० अर्ब ३७ करोड ९९ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी ६ अर्ब ३० करोड ७४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

हाल पोखरा फाइनान्सको निक्षेप ७ अर्ब ३८ करोड ९० लाख ७१ हजार रुपैयाँ र समृद्धि फाइनान्सको २ अर्ब ९९ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको छ । कर्जातर्फ पोखराको ४ अर्ब ३३ करोड ७५ लाख ४१ हजार रुपैयाँ र समृद्धिको १ अर्ब ९६ करोड ९८ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

पोखरा फाइनान्सको खराब कर्जा अनुपात २५.१० प्रतिशत र समृद्धि फाइनान्सको ८.१७ प्रतिशत रहेको छ । मर्जरपछि कम्पनीको खराब कर्जा दर उच्च रहने देखिए पनि त्यसलाई क्रमशः नियन्त्रणमा ल्याउने योजना रहेको कम्पनी स्रोतले जनाएको छ ।

मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ । एउटै स्थानमा रहेका शाखा आवश्यक परे गाभिने जनाएको छ । कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् ।

कम्पनी स्रोतका अनुसार शाखा संख्याको हिसाबले नम्बर वान हुनेछ । यसमा कतिपय शाखा गाभ्नुपर्ने हुन सक्छ । जस्तो पोखरामा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शाखा छ । व्यवसायको हिसाबमा दुइटा कम्पनीको जोड्दा अन्य फाइनान्सको प्रतिस्पर्धीको रुपमा आउन सकिन्छ ।

दुवै संस्थाबीच गरिएको विस्तृत मूल्यांकन (ड्यु डिलिजेन्स अडिट) प्रतिवेदनअनुसार करिब ७ प्रतिशत अन्तर देखिएको छ । प्रारम्भिक सहमति अनुसार १० प्रतिशतभित्र रहने समझदारी भएको र प्रतिवेदन पनि सोही सीमाभित्र आएको कम्पनी स्रोतले जनाएको छ । 

Share News