काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाली आकाशमा ३१ वटा नयाँ विमान थपिएका छन् । हवाई सेवाको विस्तार, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको माग वृद्धिसँगै नयाँ विमानको संख्या वृद्धि हुँदै गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन् २०२१ देखि सन् २०२५ सम्म विभिन्न वायुसेवा कम्पनीहरूले निश्चित पंखा (फिक्सड) र हेलिकप्टर र स्पोटर्स प्रकारमा विमान थपेका छन् ।
यस अवधिमा १४ वटा हेलिकप्टर, १६ वटा फिक्स्ड र एउटा स्पोर्टस् भित्रिएका हुन् । बुद्ध एयर, श्री एयरलाइन्स, प्रभु हेलिकप्टर, सिम्रिक एयर, अन्नपूर्ण हेलिकप्टर, अल्टिच्युड एयर, एयर डाइनेस्टीलगायत हेलिकप्टर कम्पनीहरूले नयाँ हेलिकप्टर भित्र्याएको क्यानको तथ्यांक छ ।
क्यानले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२५ मा ६ वटा हेलिकप्टर नेपाल भित्रिएका छन् । उक्त वर्ष अन्नपूर्ण हेलिकप्टर, प्रभु हेलिकप्टर, अल्टिच्युड एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर र एयर डाइनेस्टीले एक–एक वटा हेलिकप्टर थपेका छन् ।
पछिल्लो पाँच वर्षमध्ये सन् २०२४ मा सबैभन्दा धेरै १४ वटा विमान नेपाल भित्रिएका छन् । जसमध्ये ६ वटा हेलिकप्टर, ७ वटा फिक्स्ड र एउटा स्पोर्टस एयरक्राप्ट भित्रिएका छन् । उक्त वर्ष मुस्ताङ हेलिकप्टर, बेलुन नेपाल, बुद्ध एयर, हेली एभरेष्ट, मनाङ एयर, एयर डाइनेस्टी र श्री एयरलाइन्सले आफ्नो फ्लीट विस्तार गर्दै नयाँ विमान तथा हेलिकप्टर थपेका हुन् ।
मुस्ताङ हेलिकप्टरले कलसाइन ९ एन–एनओ भएको एयरबस हेलिकप्टर थपेको छ । त्यस्तै, बेलुन नेपालले ९ एन–एनभी कलसाइनको अल्ट्रा म्याजिक एस.ए. विमान भित्र्याएको देखिन्छ । बुद्ध एयरले सन् २०२४ मा दुई वटा एटिआर ७२–२१२ ए विमान थपेको छ । कम्पनीले कलसाइन ९ एन–एनजेड र ९ एन–एओएफ भएका दुई जहाज थपेको छ ।
हेली एभरेष्टले पनि सोही वर्ष दुई वटा एयरबस हेलिकप्टर थपेको छ । कम्पनीले ९ एन–एओए र ९ एन–एओबी कलसाइनका हेलिकप्टर सञ्चालनमा ल्याएको हो । त्यस्तै, एयर डाइनेस्टीले ९एन–एओडी कलसाइनको एयरबस हेलिकप्टर भित्र्याउको छ । मनाङ एयरले पनि फ्लीट विस्तार गर्दै दुई वटा एयरबस हेलिकप्टर थपेको छ ।
कम्पनीले ९एन–एओई र ९एन–एओजे कलसाइनका हेलिकप्टर भित्र्याएको देखिन्छ । यस अवधिमा श्री एयरलाइन्सले सबैभन्दा धेरै फिक्सड जहाज थपेको छ । कम्पनीले सन् २०२४ मा तीन वटा डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा समावेश गरेको हो। ती विमानहरूको कलसाइन क्रमशः ९एन–एओके, ९एन–एओएल र ९एन–एओएम रहेका छन् ।

सन् २०२१ मा नेपाली वायुसेवा कम्पनीहरूले तीनवटा विमान थपेका छन् । उक्त वर्ष बुद्ध एयरले दुई वटा र श्री एयरलाइन्सले एक वटा विमान भित्र्याएका हुन् । बुद्ध एयरले सन् २०२१ मा दुई वटा एटिआर–७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । कम्पनीले कलसाइन ९ एन–एजिएल र ९ एन–एनएच भएका एटिआर–७२–२१२ए विमान सञ्चालनमा ल्याएको हो ।
त्यस्तै, श्री एयरलाइन्सले सोही वर्ष कलसाइन ९ एन–एनआर भएको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा थपेको थियो ।
सन् २०२२ मा नेपाली वायुसेवा कम्पनीहरूले कुल चार वटा विमान तथा हेलिकप्टर फ्लीटमा थपेका छन् । उक्त वर्ष यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र अन्नपूर्ण हेलिकप्टरले नयाँ जहाज भित्र्याएका हुन् । यति एयरलाइन्सले कलसाइन ९ एन–एएमजेड भएको एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । त्यस्तै, बुद्ध एयरले ९ एन–एएनपी कलसाइनको एटिआर ७२–२१२ए विमान थपेको थियो ।
श्री एयरलाइन्सले सोही वर्ष ९एन–एनएस कलसाइनको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान भित्र्याएको थियो भने अन्नपूर्ण हेलिकप्टरले ९ एन–एएनयु कलसाइनको एस ३५० बी ३ई (एयरबस) हेलिकप्टर फ्लीटमा समावेश गरेको थियो ।
सन् २०२३ मा पनि चार वटा विमान तथा हेलिकप्टर नेपाली वायुसेवा कम्पनीहरूको फ्लीटमा थपिएका छन् । उक्त वर्ष बुद्ध एयरले सबैभन्दा धेरै तीन वटा विमान भित्र्याएको थियो । बुद्ध एयरले कलसाइन ९ एन–एएनक्यु, ९ एन–एएनडब्ल्यु र ९ एन–एओसी भएका तीनवटा एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो ।
त्यस्तै, सिम्रिक एयरले सोही वर्ष ९ एन-एएनएक्स कलसाइनको बेल ५०५ हेलिकप्टर भित्र्याएको थियो ।
नयाँ चार हेलिकोप्टर कम्पनी भित्रिँदै
प्राधिकरणका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरूको कुल जहाज संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । हवाई क्षेत्रमा जहाज थपिने क्रमले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको संकेत पनि गरेको सरोकारवालाहरू बताउँछन्।
कोभिड-१९ महामारीपछि हवाई सेवा क्रमशः सामान्य बन्दै जाँदा कम्पनीहरूले दीर्घकालीन योजना अनुसार विमान थप्दै गएका छन् ।
प्राधिकरणका अनुसार हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर र सुमेदा एयरले वायुसेवा सञ्चालन प्रमाणपत्रका लागि विस्तृत प्रस्ताव प्राधिकरणमा पेस गरेका छन् ।
सुमेदा एयर गैरआवासिय नेपाली व्यवसायीका रुपमा परिचित निरज गोविन्द्र श्रेष्ठले यो कम्पनीमा लगानी गरेर सञ्चालन गर्ने तयारी गरेका हुन् ।
नेपालमा पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गइरहेको छ । विशेषगरी आकस्मिक उद्दार, व्यापारिक उडान, कार्गो उडानलगायतमा यसको प्रयोग बढ्दै गएको हेलिकप्टर व्यवसायीहरू बताउँछन् ।