प्रेममा पनि कालोबजारी

करोडको कारोबार, कागजमा लाख

काठमाडौं । फेब्रुअरीको सुरुआती चिसो सिरेटोबीच सहरका गल्ली र कफीशपमा प्रेमको रङ चढ्न थालिसकेको छ । फेब्रुअरी १४ अर्थात् ’भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा बजारमा राता गुलाफका थुँगाहरूको चर्चा र माग चुलिएको छ । चुनावी माहोलका बीच पनि बजारमा प्रेमी जोडीहरूले एक अर्काप्रति सामिप्यता र प्रेमको महसुस गराइरहेका छन् । 

काठमाडौंका फूल पसलहरू रातो गुलाफले सजिन थालिसकेका छन् । गुलाफ यतिबेला सामान्य फूल मात्रै छैन, प्रेमी जोडीहरूका लागि सुनौलो प्रेमको प्रतीक र व्यवसायीहरूका लागि व्यापारको बहार बनिरहेको छ । तर, यो सुन्दर प्रेमको सुगन्धभित्र नमीठो ‘कालोबजारी’ लुकेको छ । प्रेमी-प्रेमिकाले साटासाट गर्ने गुलाफमा कालोबजारीको गन्ध आइरहेको छ । 

व्यवसायीहरूका अनुसार यो वर्षको प्रणय दिवसमा झण्डै साढे ५ करोड रुपैयाँ बराबरको गुलाफको कारोबार हुने अनुमान छ ।  तर विडम्बना, भन्सारको आधिकारिक ढड्डा पल्टाउने हो भने तथ्यांक बेग्लै छ । 

नेपाल फ्लोरीकल्चर एशोसिएसन नेपालले ‘प्रणय दिवस’ मा ४ लाख ५० हजार स्टिम गुलाफको खपत हुने अनुमान गरेकाे छ । संघका अनुसार यो नेपालभरको अनुमानित बजार माग हो । यसमध्ये काठमाडौं उपत्यकामा मात्र करिब २ लाख ७० हजार स्टिम र उपत्यका बाहिरका जिल्लामा १ लाख ८० हजार स्टिम गुलाफ खपत हुने अनुमान गरेको संघका महासचिव हीरामणि शर्माले जानकारी दिए ।

भ्यालेन्टाइन सप्ताहका लागि आवश्यक कुल मागमध्ये करिब ३० प्रतिशत मात्रै आन्तरिक उत्पादनबाट माग धान्ने उनले बताए । संघका अनुसार बाँकी ७० प्रतिशत गुलाफको लागि भने भारतलगायत अन्य मुलककै भर पर्नुपर्ने हुन्छ ।

नेपालमा मौसमी उत्पादन प्रणाली भएकाले फेब्रुअरी महिनामा चिसो मौसमका कारण गुलाफको उत्पादन घट्ने गर्छ । यही कारण बजारको माग धान्न ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था रहेको महासचिव शर्मा बताउँछन् ।

५ करोडभन्दा बढीको कारोबार 

प्रणय दिवस सप्ताहभर बजारमा गुलाफको सहज आपूर्ति भएमा करिब ५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान संघले गरेको छ । महासविच शर्माका अनुसार गुलाफको गुणस्तरअनुसार प्रति स्टिम खुद्रा मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्न सक्नेछ । 

सामान्य अवस्थामा पनि नेपालमा दैनिक ८ हजारदेखि १२ हजार स्टिम गुलाफको माग हुने गरेको छ । गत वर्ष भने भ्यालेन्टाइन अवधिमा करिब ४ लाख २५ हजार स्टिम गुलाफको कारोबार भएको थियो । त्यतिबेला प्रति स्टिम मूल्य ८० देखि १२० रुपैयाँ सम्म रहेको थियो।

नेपालमा व्यावसायिक गुलाफ खेती मुख्यतः काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे र रूपन्देहीमा हुँदै आएको छ । पछिल्ला वर्षहरूमा अन्य जिल्लामा पनि व्यावसायिक खेती विस्तार हुने क्रम जारी रहेको छ । 

प्रेममा पनि कालोबजारी 

भन्सार विभागका तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ४६ लाख ४५ हजार रुपैयाँ बराबरको गुलाफको फुल आयात भएको छ । तथ्यांक अनुसार आव २०७९/८० र २०८१/८२ मा सबैभन्दा धेरै गुलाफ आयात भएको थियाे ।

भन्सार विभागका अनुसार आव २०८१/८२ मा २० लाख ७३ हजार रुपैयाँ बराबरको गुलाफ आयात भएको थियाे । जुन पछिल्लो पाँच वर्षयताकै सबैभन्दा धेरै आयात हो । 

उक्त वर्षमा सबैभन्दा धेरै गुलाफ आयात भारतबाट ७ लाख ८३ हजार रुपैयाँ बराबरको १९ हजार ८०० पिस गुलाफ आयात भएको थियाे । त्यस्तै, भारतबाटै २ लाख ४६ हजार रुपैयाँ बराबरको १ हजार १०८ केजी ताजा गुलाब भित्रिएको छ । 

आव २०८१/८२ मा नेदरल्याण्डबाट ५ लाख ६२ हजार रुपैयाँ बराबरको १ हजार २५८ पिस गुलाफ आयात भएको तथ्यांक छ । नेदरल्याण्डपछि चीनबाट उक्त आवमा ४ लाख ४२ हजार रुपैयाँ बराबरको ४९० केजी गुलाफ आयात भएको छ ।

आव २०७९/८० मा १५ लाख ७५ हजार रुपैयाँ बरारबको गुलाबको फुल आयात भएको विभागको तथ्यांक छ । विभागका अनुसार उक्त आवमा भारतबाट १ लाख रुपैयाँ बराबरको २७० पिस र १४ लाख ७५ हजार रुपैयाँ बराबरको ११ हजार ३०७ केजी ताजा गुलाब भित्रिएको छ । 

आव २०८०/८१ मा अरू वर्षको तुलनामा कम गुलाफ आयात भएको देखिन्छ । उक्त आवमा १ लाख ६ हजार रुपैयाँ बराबरको गुलाफ नेपाल भित्रिएको छ । जसमध्ये भारतबाट ९१ लाख रुपैयाँ बराबरको २७७ केजी र अमेरिकाबाट १५ हजारको १ केजी गुलाफ आयात भएको थियाे । 

आव २०७७/७८ मा ३ लाख ४८ हजार रुपैयाँ बराबरको गुलाफ भित्रिएको छ । जसमा भारतबाट २ लाख २५ हजार रुपैयाँ बराबरको १ हजार ९ सय केजी  गुलाब आयात भएको छ । त्यस्तै आव २०७८/७९ मा ५ लाख ४३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

प्रणय दिवसमा वार्षिक ४/५ करोडको कारोबार हुने गरेको व्यवसायी बताउँछन् । त्यसको ७० प्रतिशत हिस्सा भारतको हो । अर्थात् नेपालमा खपत हुने ७० प्रतिशत गुलाफ भारत लगायत देशबाट आयात गरिन्छ । तर, सरकारी तथ्यांकमा केही लाख रुपैयाँ बराबरको गुलाफ आयात भएको देखिन्छ । यसले प्रेम दिवसमा प्रयोग हुने गुलाफमा पनि कालोबजारी भएर गैरकानूनी रुपमा आयात हुने गरेको प्रष्ट बुझ्न सकिन्छ ।

‘भ्यालेन्टाइन डे’ र गुलाफको प्रयोग 

प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यसलाई साताभर नै मनाउने प्रचलन बढ्दै गएको छ । यो दिवस मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाइन्छ ।  

यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने विश्वास रहँदै आएको छ । विशेषगरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ । त्यसैकारण पनि यस समयमा गुलाबको माग र खपत अरु बेलाभन्दा बढी हुने गरेको पुष्प व्यापारीहरू बताउँछन् ।

प्रणय दिवस केवल दिवस मात्रै नभएर यो पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरू प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर प्रेम गर्नलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भने सम्राट्को उक्त निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । 

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । राजाको आज्ञाको पालना तोडेको आरोपमा उनलाई ईसापूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण नै बलिदान गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । विश्वभर नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

Share News