बबिता तामाङ

एकपछि अर्को संकटको सामना गर्दै हिमालयन पुनर्बीमा, नियामकको कडा निगरानीमा

काठमाडौं । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीमा एकपछि अर्को संकट गहिरिँदै गएको छ । विशेषगरी कम्पनीका आधारभूत सेयरधनी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेसँगै कम्पनीभित्र एकपछि अर्को समस्या बढ्दै गएको हो । हाल भट्ट अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । भट्टमाथि ३ अर्ब ८१ करोड ४६ लाद रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद गरेको आरोप लागेको छ ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टले हिमालयन रिइन्स्योरेन्सको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट करिब २५ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरी विभिन्न मितिमा सेयर खरिद गरेको उल्लेख छ । विभागले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिइसकेको छ । भट्ट पक्राउ परेसँगै कम्पनीका ठूला सेयरधनीहरू एकपछि अर्को गर्दै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन् । यही बीचमा सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका लागि शंकर ग्रुपका सुलभ अग्रवाल सहितका व्यक्ति पक्राउ परे ।  कम्पनीभित्र विशेषगरी सञ्चालक समितिका सदस्यहरूले एकपछि अर्को गर्दै राजीनामा दिन थाले । सबैभन्दा पहिले कम्पनीमा अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएर बाहिरिए । गोल्छाले फागुन २५ गते दिएको राजीनामा चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । अध्यक्ष गोल्छाको राजीनामालगत्तै सञ्चालक सदस्यहरूले पनि राजीनामा दिए । सञ्चालकहरू शाहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजीव मोर, शुभेक्षा खरेल र सुभाषकुमार झुनझुनवालाले राजीनामा दिएर बाहिरिए । यसपछि कम्पनीको सञ्चालक समिति पुनर्गठन गरिएको छ । कम्पनीले आगामी वार्षिक साधारण सभासम्मका लागि उदयकुमार निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै, दिपेन्द्रकुमार मिश्र, पृथ्वीराज थापा, दीपककुमार मिश्र र आशीषचन्द्र न्यौपानेलाई सञ्चालकमा नियुक्त गरिएको छ । कम्पनीका पुराना सञ्चालकहरू सबै बाहिरिने र सबै नयाँ सञ्चालक प्रवेशले पनि कम्पनीभित्र असाधारण अवस्था सिर्जना भएको विश्लेषण हुन थालेको छ । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना  पौडेल  स्वास्थ्य समस्याका कारण भारतमा उपचाररत रहेकी छिन् । केही समयदेखि दिमागको नशामा रगत जम्ने समस्या देखिएपछि उनी उपचाररत रहँदै आएकी थिइन् । हाल सोही समस्याको फलोअपका लागि भारत पुगेका हुन् । कम्पनीको उच्च व्यवस्थापनमा देखिएको समस्यासँग हिमालयन रिबाट बीमा कम्पनीहरूलाई पाउनुपर्ने पुनर्बीमा भुक्तानीमा पनि समस्या देखिन थालेको छ । पुनर्बीमा कम्तिमा १० प्रतिशत हिस्सा हिमालयन रिमा गराउनै पर्ने सरकारको बाध्यकारी नीतिका कारण सबै बीमा कम्पनीहरूले हिमालयन रिमा पुनर्बीमा गराएका छन् ।  सूचीकृत कम्पनीभित्र पछिल्लो समय देखिएको यो समस्याले कम्पनीको निर्णय प्रक्रिया, रणनीतिक योजनादेखि दैनिक कार्यसञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । बीमासम्बन्धी जानकारहरूका अनुसार यो विषयले कम्पनीको विश्वसनीयतामा प्रश्न उठाउन सक्ने तर्क गरेका छन् । पुनर्बीमा व्यवसाय विश्वासमा आधारित हुने र अन्तर्राष्ट्रियस्तरसँग सम्बन्ध रहेका हुनाले व्यवसाय विस्तारमा समेत असर पुग्न सक्ने बताउँछन् । पुनर्बीमा कम्पनी स्रोतका अनुसार पनि पछिल्लो पटक कम्पनीभित्र घटेका यी घटना क्रमले व्यवसायमा ठूलो धक्का लागेको छ। प्राधिकरणको कडा निगरानीमा  सेयरधनी पक्राउ, सञ्चालक सदस्यहरूको एकपछि अर्को राजीनामालगायत घटना बाहिरिएपछि प्राधिकरणले कम्पनीमाथि कडा निगरानी बढाएको छ । यद्यपि यसअघि पनि कम्पनीलाई प्राधिकरणले निगरानी गर्दै आएको थियो । यसअघि कम्पनी हिल्टन होटलसँग सम्बन्धित पुनर्बीमा प्रकरणमा नियामकको कारबाहीमा परिसकेको छ। नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमा व्यवस्थापनमा निर्देशन तथा नियमविपरीत काम गरेको ठहर गर्दै कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो । यही सन्दर्भमा नियामकले कम्पनीलाई संकटग्रस्त घोषणा गर्न लागेको भन्ने हल्ला पनि पुँजी बजार फैलिएको थियो । यसको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँसम्म झरेको थियो । यो वर्षको उच्च मूल्य ११४० को तुलनामा करिब ४१ प्रतिशतले कम हो ।  तर कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा प्राधिकरणमा छलफल नै नभएको बताइएको छ । प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले भने यस विषयमा अहिलेसम्म प्राधिकरणबाट कुनै निर्णय नभएको बताइन् । कम्पनीलाई समस्याग्रस्त नै घोषणा गर्ने हो भने पनि प्राधिकरणको सञ्चालक समितिबाट निर्णय हुनुपर्ने उनको भनाइ छ । बीमा ऐन, २०७९ अनुसार प्राधिकरणले बीमितको हकहित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । यो ऐन पुनर्बीमा कम्पनीको हकमा पनि लागू हुन्छ ।  बीमा ऐन २०७९ को परिच्छेद १३ को दफा १०१ मा सोसम्बन्धी व्यवस्था गरिएको छ ।  बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा बीमकको संस्थापक सेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सको कार्यालयमा छापासमेत हानेको थियो । वैशाख १ गते विभागले अनुसन्धानका लागि आवश्यक कागजात संकलन गर्ने क्रममा कम्पनीमा पुगेको हो । तर स्रोतका अनुसार यसलाई ‘छापा’ भन्दा पनि विभागका अधिकारीहरू कम्पनीमा पुगेर आवश्यक कागजात मागी संकलन गरेर फर्किएको थियो ।  त्यसपछि वैशाख ३ गते प्राधिकरणले सीईओसहित पाँचजना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिने स्पष्टिकरण मागेको छ ।  कम्पनीमा आर्थिक अनियमितताको आशंका देखिएपछि प्राधिकरणले सीईओ पौडेल, डेपुटी सीईओ मुकेशकुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिशकुमार, शिशिर गैह्रे र सन्तोष केसीसँग स्पष्टीकरण सोधेको थियो । स्रोतका अनुसार प्राधिकरणको यो स्पष्टीकरण माग्ने प्रक्रिया नियमित प्रशासनिक प्रक्रिया मात्रै हो । प्रमाणबिना कुनै पनि कर्मचारीलाई निलम्बन गर्न नमिल्ने भएकाले प्रारम्भिक रूपमा स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अहिले दैनिक बीमा प्राधिकरणको टोली कम्पनीमा दैनिक रूपमा निरीक्षणमा पुग्न थालेको छ । दैनिक ३/४ जनाको टोली कम्पनीको निरीक्षण गरेर फर्किने गरेको स्रोतले बतायो । कम्पनीको वित्तीय अवस्था कम्पनीको दोस्रो त्रैमासको रिर्पोटअनुसार कम्पनीले चालु वर्षको पहिलो ६ महिनामा ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल व्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख र कुल आम्दानी २२.२६ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ३१.०६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनी स्रोतका अनुसार कम्पनीको व्यवस्थापनमा अहिले कुनै समस्या छैन । ‘काममा कुनै सम्झौता नगर्नू’ भन्ने निर्देशनअनुसार कामहरू तीव्र गतिमा अघि बढिरहेका स्रोतको दाबी छ । सञ्चारमाध्यमहरूमा आएका विभिन्न विवादका विषयले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने भए पनि कम्पनीले आफ्नो कार्य सञ्चालनमा कुनै अवरोध नभएको स्रोतले भन्यो । हिमालयन रिको व्यवसाय नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारसँग पनि जोडिएको छ । यसैले कम्पनीभित्रको विवादस्पद विषय संवेदनशील हुने हुँदा कम्पनीसँग बुझेर मात्रै सत्यतथ्य समाचार सम्प्रेषण हुनुपर्नेमा पनि कम्पनीले जोड दिएको छ । कम्पनीका अनुसार पुनर्बीमा कम्पनीसँग सम्बन्धित विगत १० वर्षदेखि हुन नसकेको ‘रिकन्सिलिएसन’  को समस्या समाधानतर्फ अघि बढेको र अहिले दाबी भुक्तानी पनि सुचारु रहेको छ । दीपक भट्टमाथिको अनुसन्धान प्रतिवेदन बाहिरियो, भीआईपी व्यवसायीसमेत संलग्न

सात सय महिला सगरमाथामा

काठमाडौं । पछिल्लो समय सगरमाथाको चुचुरोमा पुग्ने महिलाहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । पर्यटन विभागले सार्वजनिक गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२५’ अनुसार हालसम्म सगरमाथा आरोहण गर्ने महिलाको संख्या ७०४ पुगेको छ । सन् १९७५ मे १६ मा जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको उपमा पाएकी थिइन् । नेपालबाट भने पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । पछिल्लो एक दशकमा सगरमाथा आरोहण गर्ने महिलाको संख्या ४२५ जना रहेको छ । विभागको तथ्यांकअनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथामा पाइला टेकेकी थिइन् । सन् २०१५ मा भने एक जनाले पनि सगरमाथा चढेनन् । २०१५ मा नेपालमा भूकम्प जाँदा हिमाल आरोहण सिजन नै प्रभावित हुन पुगेको थियो । भूकम्पका कारण सगरमाथा बेस क्याम्पमा हिमपहिरो जाँदा कम्तीमा २२ जनाको ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ । सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण गरेका छन् । २०१७ मा सगरमाथा चढ्ने महिलाको संख्यामा केही कमी देखिएपनि १०१८ मा फेरि बढेको देखिन्छ । २०१७ मा ३३ जना महिलाले सगरमाथा आरोहण गरेकोमा २०१८ मा ५१ जनाले आरोहण गरेको देखिन्छ । त्यस्तै, २०१८ मा ५१ जनाले र २०१९ मा ६५ जनाले सगरमाथा आरोहण गरेका छन् । २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । उक्त वर्ष विश्वर फैलिएको कोभिड–१९ महामारीको कारण आरोहण बन्द हुन पुगेको थियो । २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।  विदेशी तथा नेपाली महिलाहरू पछिल्लो समय हिमाल आरोहणमा उत्साहका साथ सहभागी हुन थालेका छन् । पर्वतारोहण व्यवसायीहरूका अनुसार पुरुषको तुलनामा महिलाको संख्या अझै कम भए पनि उनीहरूको सक्रियता र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्दो छ । विदेशी महिला आरोहीहरूले सहयोगीका रूपमा नेपाली महिलालाई नै प्राथमिकता दिन थालेपछि महिला गाइडहरूको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।  पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले अन्तर्राष्ट्रिय महिला आरोहीहरू प्रायः महिला गाइड वा सहायक खोज्ने गरेको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय महिला आरोहीहरू आउँछन् र उनीहरू प्रायः महिला गाइड वा सहायक नै खोजिरहेका हुन्छन्,’ उनले भने । महिलाहरू विदेशमा सामान्य रोजगारीका लागि जानू नपरोस् र आफ्नै देशमै सम्मानजनक कामको अवसर सिर्जना होस् भन्ने उद्देश्यले पनि हिमाल आरोहण क्षेत्रमा महिलाको सहभागिता बढाउने प्रयास भइरहेको उनले बताए ।  उनका अनुसार हिमाल आरोहण इज्जतको काम हो, जसले व्यक्तिलाई शीर ठाडो पारेर हिँड्न सक्ने आत्मविश्वास दिन्छ । यस क्षेत्रमा नाम र दाम दुवै कमाउने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘महिलाहरू पहिलेभन्दा अगाडि बढेका छन्, तर यो पर्याप्त भने होइन । अझै उनीहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । अहिले अवसरहरू पनि प्रशस्तै छन्, तर समाजलाई अझै सचेत गराउनुपर्ने देखिन्छ।’ विशेषगरी सुदूरपश्चिम क्षेत्रका मानिसहरू पर्यटन क्षेत्रमा कम संलग्न रहेको उल्लेख गर्दै उनले त्यहाँका महिलाहरूलाई पनि यस क्षेत्रमा आकर्षित गर्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए । चुनौतीका हिसाबले महिलाहरूले विभिन्न अवरोधहरूको सामना गर्नुपरेको उनको भनाइ छ । समाजमा रहेका परम्परागत सोचले पनि महिलालाई पछाडि पार्ने गरेको उनको भनाइ छ । तर आरोहण क्षेत्रमा महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् भन्ने धारणा सही नभएको उनले स्पष्ट पारे । उनका अनुसार सबैभन्दा ठूलो चुनौती नै सोच हो, जसले महिलालाई सीमित बनाउने र दबाउने काम गर्छ । उनले भने, ‘महिलाहरूले पुरुषसरह काम गर्न सक्छन्, उनीहरू सक्षम र सबल छन्,महिलाहरू पुरुष बराबर होइनन् भन्ने सोच समाजको कुरीति हो, जसलाई अब तोड्नैपर्छ ।’  अहिलेसम्म यस क्षेत्रमा संलग्न महिला दिदीबहिनीहरूले आफू पुरुषसरह काम गर्न सक्षम रहेको प्रमाणित भइसकेको उनको धारणा छ । उनका अनुसार यदि यस्तो सोच परिवर्तन गर्न सकियो भने निकट भविष्यमा महिलाहरूले पुरुषभन्दा अझै बढी योगदान दिन सक्ने सम्भावना पनि छ । महिलाहरूको सहभागिता बढाउन तालिम (ट्रेनिङ) को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए । तालिमले ट्रेकिङ तथा आरोहणसम्बन्धी अनुभवलाई व्यवस्थित र प्रभावकारी बनाउँछ । साथै यसले यात्रालाई सुरक्षित बनाउने काम गर्छ । ‘ज्ञान र तालिमको अभावमा धेरै गल्ती हुन सक्छन्, जसले ज्यान नै जोखिममा पार्न सक्छ । त्यसैले तालिमले आफूलाई मात्र होइन, अरूलाई पनि सुरक्षित बनाउँछ,’ उनले भने । एक दशकमा साढे ४ हजारले टेके सगरमाथा २०१५ देखि २०२४ सम्म कुल ४ हजार ६ सय ४९ जनाले सफल आरोहण गरेका छन् । यस अवधिमा १ हजार ९२७ जना विदेशी तथा स्वदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् भने २ हजार ७२२ जना सहयोगी (शेर्पा तथा अन्य सहयोगी टोली) ले पनि सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् । पर्यटन विभागका अनुसार पछिल्ला वर्षहरूमा सगरमाथा आरोहणमा व्यावसायिक गतिविधि बढेसँगै सहयोगी समूहको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । २०१६ मा ४५१ जनाले सगरमाथा चढेका छन् । जसमध्ये १९७ जना आरोही र २५४ जना सहयोगी छन् । त्यस्तै, २०१७ मा  आरोही तथा सहयोगी शेर्पा समूह गरी ४२६ जनाले जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । जसमा १९९ आरोही र २२७ जना सहयोगी छन् । २०१८ मा ५६० जनाले सगरमाथा चढेका छन् । जसमध्ये २६२ आरोही र २९८ जना सहयोगी छन् । २०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ । त्यस्तै, २०२४ मा २९८ आरोही र ४९४ जना सहयोगी गरी कुल ७९२ जनाले सगरमाथामा पाइला टेकेका छन् । एक दशकमा सगरमाथा चढ्ने आरोही र सहयोगीको तथ्यांक सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए । सगरमाथा आरोहणको इतिहासमा हालसम्म ९ हजार ७७ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन् ।  विभागको तथ्यांक अनुसार २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् । ८ हजारभन्दा माथिका कुन हिमालमा कति आरोही ? सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा २०२४ सम्ममा ३ हजार ६४३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि ल्होत्से हिमालमा १ हजार २९६ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् । विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको २०२४ सम्मको तथ्यांकअनुसार ५९६ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् । मकालुमा ८२७, धौलागिरि हिमालमा ६८८, अन्नपूर्णमा १ मा ५२४, यालुङमा ५३ र चोयुमा २१ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।

‘वेलनेस’ क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार पहिलो पटक औपचारिक रूपमा आरोग्य दिवस मनाइएको छ । यसले विश्वस्तरमै वेलनेस र आरोग्य सेवाको महत्त्वलाई थप उजागर गरेको छ ।  नेपाल सरकारले यसलाई नीतिगत रूपमा समेट्दै ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरेको छ र आरोग्य पर्यटनलाई पर्यटन क्षेत्रको मुख्य आधारका रूपमा अघि बढाउने लक्ष्य लिएको छ । तर आरोग्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव यस क्षेत्रको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको सरोकारवालाहरूले औंल्याएका छन् । आयुर्वेद, योग, ध्यान, प्राकृतिक चिकित्सा, स्पा तथा थेरापी जस्ता सेवाहरूमा अन्तर्राष्ट्रिय स्तरको दक्षता भएका जनशक्ति सीमित छन् । यसका कारण नेपालले सम्भावना भएर पनि उच्च मूल्यका पर्यटक आकर्षित गर्न चुनौती रहेको सरोकारवालाहरुको धारणा रहेको छ । आयुर्वेद संघ नेपालका डा. रमेश पौडेलले दक्ष जनशक्तिको अभाव वेलनेस क्षेत्रको दीर्घकालीन विकासका लागि चुनौती भएको बताए । उनका अनुसार नेपाल हाल भएका जनशक्ति यो क्षेत्रको लागि पर्याप्त होइन ।  नेपाल आयुर्वेद चिकित्सा परिषद्को तथ्यांकअनुसार हालसम्म आयुर्वेद चिकित्सामा विद्यावारिधि (पीएचडी) गरेका चिकित्सकको संख्या मात्र चार जना छ । त्यस्तै, आयुर्वेदमा मास्टर डिग्री गरेका १८७ जना रहेका छन्, जसमा थप १५ जना समावेश हुने प्रक्रियामा छन् । यो संख्या थपिएपछि मास्टर डिग्री गरेका चिकित्सक करिब २०० को हाराहारीमा पुग्नेछ, जुन उच्च दक्ष र योग्य जनशक्ति हुन् । यसैगरी, आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकको संख्या ४ हजार ३७४ रहेको छ ।  आयुर्वेद चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष पौडेलले आरोग्य क्षेत्रको विकासका लागि दक्ष जनशक्ति अत्यावश्यक रहेको औंल्याएका छन् । ‘विश्वस्तरमा आरोग्य सेवाको प्रवर्द्धन गर्ने क्रममा नेपालसँग पर्याप्त दक्ष जनशक्ति छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ,’ उनले भने।  उनले होटल क्षेत्रको उदाहरण दिँदै किचनदेखि सर्भिस डेलिभरीसम्म गुणस्तरीय सेवा दिन ‘मास्टरसेफ’ सहितको दक्ष टोली आवश्यक परे झैं वेलनेस क्षेत्रमा पनि योग्य र प्रमाणित जनशक्तिबाट सेवा प्रवाह भए मात्र लाभदायक हुने बताए । पौडेलका अनुसार प्राविधिक दक्ष जनशक्तिको तुलनामा वेलनेस सेवाको प्रभावकारी कार्यान्वयनका लागि ग्राहक/बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर थेरापी प्रदान गर्न सक्ने ग्रासरुट तहको जनशक्ति अभाव रहेको उनले उल्लेख गरे ।  विशेषगरी आयुर्वेदिक फार्मेसी क्षेत्रमा डिप्लोमा तहको अध्ययन कार्यक्रम नहुँदा समस्या झन् जटिल बनेको उनले उल्लेख गरे । ‘अहिले आवश्यक जनशक्ति खोज्दा समेत सहज उपलब्ध छैन,’ उनले भने, ‘यदि यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने हो भने सम्बन्धित कोर्स सञ्चालन अनिवार्य छ ।’ प्राविधिक शिक्षा तथा व्यवसायकि तालिम केन्द्र (सीटीईभीटी)ले १८ महिने टिएसलसी कार्यक्रम बन्द गरेपछि थेरापिस्टको अभाव झनै चर्किने बताए । ‘अहिले सीटीईभीटीको १८ महिने टिएसलसी कार्यक्रम बन्द भएको छ, जुन एकदमै छोटोमीठो कार्यक्रम हो, यो कार्यक्रम सुरु हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने । होटल तथा पर्यटन व्यवसायीहरूका अनुसार आरोग्य पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास नेपालमा भइसकेको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष शाहले नेपालका अधिकांश ठूला होटल तथा रिसोर्टहरूमा फिटनेस सेन्टर, योग, ध्यान, स्पा र जिमजस्ता सुविधा उपलब्ध रहेको जानकारी दिए ।  ‘आरोग्य पर्यटनको लागि आवश्यक पूर्वाधार रहेकोले उचित नीति–नियम र समन्वय भएमा आगामी पाँच वर्षभित्रै यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं,’ अध्यक्ष शाहले भने ।  उनका अनुसार आरोग्य स्वास्थ्य र समग्र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यो दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई जीवन पद्धति परिवर्तनसँग जोडिएको पहल हो ।  नेपालको सन्दर्भमा आरोग्य कुनै नयाँ अवधारणा नभएको उल्लेख गर्दै उनले प्राचीनकालदेखि ऋषि–मुनिहरूले योग, ध्यान, प्राकृतिक चिकित्सा जस्ता विधिमार्फत स्वस्थ जीवनशैलीको आधार निर्माण गरेको बताए । ती ज्ञान र अभ्यासहरू आज विश्वले आत्मसात गरिरहेको सन्दर्भलाई उनले नेपालीका लागि गर्वको विषय भनेका छन् । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आरोग्यको विषय उठाएको र अन्ततः संयुक्त राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय दिवसको मान्यता प्राप्त हुनु सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताएका छन् । ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक सुरेश पुरीले वेलनेसलाई मन, शरीर र जीवनशैलीको सन्तुलनका रूपमा व्याख्या गरेका छन् ।  उनका अनुसार मानिसले कस्तो खाना खान्छ, कस्तो व्यायाम गर्छ र आफू तथा परिवारलाई कसरी स्वस्थ राख्छ भन्ने समग्र पक्ष नै वेलनेस हो ।  पुरीले आफ्ना व्यवसायिक यात्राबारे जानकारी दिँदै सन् २००८ मा चार वटा कोठाबाट सानो डे–स्पा सुरु गरिएको बताए । ‘विस्तारै होटलहरूसँग साझेदारी गर्दै अहिले २० वटा आउटलेटसम्म विस्तार गरेका छौं,’ उनले भने ।  साथै अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई ल्याएर नेपाली स्पा सेवाको गुणस्तर सुधार गर्दै लगिएको उनले उल्लेख गरे। उनका अनुसार स्पा उद्योगले लामो समयदेखि सरकारसँग तालिम तथा नियमनसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गर्दै आएको छ, जुन अहिले अन्तिम चरणमा पुगेको छ ।  ‘देशभर सयौं स्पा सञ्चालनमा छन्, अर्बौं लगानी भइसकेको छ,’ उनले भने, ‘तर गुणस्तरीय सेवा सुनिश्चित गर्न अनिवार्य रूपमा व्यवस्थित तालिमको आवश्यकता छ ।’ नेपाललाई वेलनेस गन्तव्य बनाउने उपायहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव युविका भण्डारीले नेपालले अब पारम्परिक ट्रेकिङ र एड्भेन्चर पर्यटनभन्दा माथि उठेर ‘हाई भ्यालु टुरिजम’मा ध्यान दिनुपर्ने बताएकी छन् । उनका अनुसार वेलनेस पर्यटन यसका लागि सबैभन्दा उपयुक्त विकल्प हो । उनले ‘जिरो बजेट कन्सेप्ट’ बाटै पनि वेलनेस प्रवद्र्धन सुरु गर्न सकिने उल्लेख गरिन्। ‘होटलमा पाहुना आउँदा प्याकेटको जुसको सट्टा स्थानीय जडीबुटीको हर्बल टी दिन सकिन्छ,’ उनले भनिन्, ‘यस्ता स–साना अभ्यासलाई प्राथमिकता दिनु आवश्यक छ।’ भण्डारीका अनुसार पर्यटकलाई छोटो समयमा धेरै गन्तव्य घुमाउनेभन्दा ‘स्लो टुरिजम’ अवधारणामा ध्यान दिनुपर्छ । ‘एउटा गुम्बा वा मन्दिरमा लगेर ध्यान गराउने, स्थानीय संस्कृतिसँग जोड्ने जस्ता गतिविधिले पर्यटकलाई वास्तविक वेलनेस अनुभव दिलाउँछ,’ उनले बताइन् ।  काव्य रिसोर्ट एण्ड स्पाका निर्देशक डा. रवि शिखावतले वेलनेसलाई समग्र र अनुभवमूलक सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार ‘सबै कुरा वेलनेस हुनुपर्छ’ भन्ने दृष्टिकोणबाट सेवा विस्तार गर्न आवश्यक छ । उनले वेलनेसलाई केवल स्पा वा मसाजमा सीमित गर्न नहुने बताउँदै यसलाई पूर्ण ‘प्याकेज’ का रूपमा बुझ्नुपर्ने धारणा राखे । ‘अहिले मानिसहरू विलासिताका लागि होइन, शान्तिका लागि यात्रा गर्छन्,’ उनले भने, ‘हामीले पाहुना आउनुअघि नै उनीहरूको स्वास्थ्य रिपोर्ट लिएर व्यक्तिगत कार्यक्रम तयार पार्छौं ।’ वैज्ञानिक पक्षबारे उल्लेख गर्दै उनले मानिस खुसी हुँदा शरीरमा ‘सेरोटोनिन’ बढ्ने र त्यसले ‘मेलाटोनिन’ (निद्रा लाग्ने हर्मोन) मा रूपान्तरण हुने बताए । उनका अनुसार नेपालको प्राकृतिक वातावरण, हिमाल र यहाँको सरल जीवनशैली नै वेलनेस पर्यटनका लागि सबैभन्दा ठूलो सम्पत्ति हो ।  सरकारको तयारी  मन्त्रालयले आरोग्य पर्यटन रणनीति (२०२६–२०३६) तयार पारिएको छ । जसमा १० वर्षको रणनीति र ५ वर्षको कार्ययोजना रहेको छ । यो रणनीति हाल मन्त्रिपरिषदमा रहेको  संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पर्यटन महाशाखाको सहसचिव इन्दु घिमिरेले बताइन् । रणनीतिमा आठवटा रणनीतिक पिलरहरू राखिएका छन्, जसमा सर्टिफिकेसन (प्रमाणीकरण) र जनशक्ति विकासका कुराहरू समेटिएका छन् । धार्मिक र मेडिकल टुरिजमलाई भने अहिले स्पष्ट अवधारणा र पूर्वाधारको कमीले गर्दा केही समयका लागि बाहिर राखिएको उनको भनाइ छ । उनका अनुसार एसियाली विकास बैंक (एडीबी) ले डेस्टिनेसन डेभलपमेन्ट फ्रेमवर्क र कन्सेप्ट पेपरमा सहयोग गरिरहेको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस क्षेत्रको समग्र स्तरीकरण र नियमनका लागि मन्त्रालय, विभाग तथा सम्बन्धित निकायहरूबीच संस्थागत समन्वयलाई अघि बढाइएको छ । वेलनेस पर्यटनमा गुणस्तरीय सेवा सुनिश्चित गर्न एकीकृत नीतिगत प्रयास आवश्यक रहेको उनले उल्लेख गरे ।  लामिछानेले पर्यटन प्रवर्द्धनमा ‘स्टोरी टेलिङ’ र ‘एक्सपिरियन्स डिजाइनिङ’ जस्ता अवधारणाको महत्त्व बढ्दै गएको बताउँदै ‘नेपाल नै किन ?’ भन्ने प्रश्नको उत्तर देशको जीवनशैली र सांस्कृतिक मूल्यमान्यतामै खोज्नुपर्ने धारणा राखे ।  उनले आगामी वेलनेस वर्षको सन्दर्भमा खप्तड वा रामारोसन जस्ता विशिष्ट गन्तव्यलाई छनोट गरी ‘वेलनेस हब’ वा मोडेल केन्द्रको रूपमा विकास गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको बताएका छन् ।  यस्तो केन्द्रले दीर्घकालीन प्रभाव सिर्जना गर्दै नेपालको आतिथ्य क्षेत्रमा नयाँ मूल्य थप्ने उनको भनाइ छ । 

२०८२ : बीमा क्षेत्रका लागि व्यापक उचार-चढावको वर्ष

काठमाडौं । वर्ष २०८२ बीमा क्षेत्रका लागि उपलब्धी र चुनौती दुवै पक्षबाट महत्त्वपूर्ण रह्यो । यस अवधिमा नेपालको बीमा क्षेत्र उल्लेखनीय रूपान्तरणको चरणमा प्रवेश गरेको देखिन्छ । विगत केही वर्षदेखि सुरु भएको पुँजीवृद्धि र नियामकीय सुधारका प्रयासहरूले यस वर्ष स्पष्ट प्रभाव देखाए । साथै बीमा कम्पनीहरूको व्यवसाय विस्तारसँगै बीमा पहुँच पनि उल्लेखनीय रूपमा बढेको छ । यो वर्ष बीमा क्षेत्रमा ठूलो रकमका दाबी भुक्तानीदेखि कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको राजीनामा, केही सीईओ तथा सञ्चालक पक्राउजस्ता घटनाले चर्चा पायो । यस्तै, बीमा प्राधिकरणमा अध्यक्ष नियुक्ति, निलम्बन र पुनः नयाँ नेतृत्व चयनजस्ता घटनाक्रमले पनि क्षेत्रलाई प्रभावित पा¥यो । यी घटनाक्रमबीच पनि अन्य वर्षहरूमा झैं यस वर्ष नियामक निकायले अपेक्षाअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखिन्छ । कतिपय नीतिगत निर्णय र सुधारका पहलहरूमा प्राधिकरण यो वर्ष कमजोर नै देखिएको छ । बीमा बजार विस्तार, प्रिमियम वृद्धि वर्ष २०८२ मा बीमाको पहुँच उल्लेखनीय रूपमा वृद्धि भएको छ । बीमा पहुँच कुल जनसंख्याको करिब आधा जनसंख्यासम्म पुग्नु आफैमा ठूलो उपलब्धी हो । यसले केही वर्षअघि मात्र सीमित वर्गमा केन्द्रित बीमा अहिले क्रमशः सर्वसाधारणको पहुँचमा पुग्दै गएको संकेत गर्छ । विशेषगरी स्वास्थ्य बीमा, मोटर बीमा र सम्पत्ति बीमा उल्लेखनीय रूपमा वृद्धि भएको छ । यो वर्ष बीमा व्यवसायको आकार उल्लेखनीय रूपमा विस्तार भएको देखिन्छ । बीमा कम्पनीभित्र ठूला बीमा दाबी, विभिन्न चुनौतीका बाबजुत पनि कम्पनीहरूले आफ्नो व्यवसाय वृद्धि गरेका छन् । जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्बभन्दा बढी बीमा प्रिमियम संकलन गरेर आफ्नो व्यवसायलाई थप मजबुत बनाएका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २८ अर्ब २ अर्ब रुपैयाँ पुगेको छ । बाढीपहिरो, गत भदौमा घटेको जेनजी आन्दोलनपछि सर्वसाधारणमा  वित्तीय सचेतना बढ्दै जाँदा बीमाप्रति आकर्षण पनि बढेको देखिन्छ । बीमा क्षेत्रको परीक्षण वर्ष वर्ष २०८२ मा बीमा क्षेत्रमा दाबी भुक्तानीको दबाब बढाउन प्रमुख भूमिका प्राकृतिक विपद र जेनजी आन्दोलनले खेले । विशेषगरी जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी तथा विभिन्न भौतिक क्षतिका घटनाले निर्जीवन बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी पर्यो । बीमा कम्पनीमा एकैपटक ठूलो दाबी पर्दा कम्पनीहरूले दवाव महसुस गर्नुपर्‍यो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको २३ अर्ब ३८ करोडभन्दा बढी बीमा दाबी परेको छ । ‘हुलदंगा तथा आतंकवाद जोखिम’को पुनर्बीमा सरकारी पुनर्बीमा कम्पनीमा मात्रै गर्नुपर्ने कानुनी प्रावधानले सम्पूर्ण जोखिम भार नेपाल पुनर्बीमा कम्पनीले बेहोनुपर्‍यो । पुनर्बीमाले दाबीबापतको दायित्वसमेत बीमा कम्पनीलाई समयमै बुझाउन सकेको छैन । जसले गर्दा बीमा कम्पनीहरूलाई ठूलो दवाव परेको हो । दाबी परेको लामो समय बित्दा पनि भुक्तानी नहुँदा ठूला दाबी परेका बीमा कम्पनीहरू बढी दबाबमा रहेका छन् । पुनर्बीमाबाट रकम नआउँदा बीमितलाई समयमै दाबी भुक्तानी गर्न कठिनाइ भएको बीमा कम्पनीहरूले गुनासो गरेका छन् । बीमा क्षेत्रमा दाबी भुक्तानी ढिलाइ हुँदा विश्वसनियतामै असर पर्ने जोखिम बढ्दै गएको स्वय कम्पनीहरूको भनाइ छ । पुनर्बीमाबाट रकम नआउँदा बीमितलाई समयमै दाबी भुक्तानी गर्न कठिनाइ भएको गुनासो गर्दै सहजीकरणका लागि बीमा कम्पनीहरू नेपाल बीमा प्राधिकरणसम्म पुगे । पुनर्बीमा कम्पनीहरूबाट समयमै रकम प्राप्त नहुँदा बीमितलाई दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई कठिनाइ भएको छ । बीमा क्षेत्रमा दाबी भुक्तानी ढिलाइ हुँदा विश्वसनियतामै असर पर्ने जोखिम बढ्दै जाँदा कम्पनीहरू थप चिन्तित देखिए । दाबी भुक्तानीमा हुने ढिलाइले बीमा क्षेत्रको विश्वसनियतामै असर पर्ने जोखिम बढ्दै गएको हुँदा जसरी पनि बीमितको भुक्तानी तिर्नुपर्ने दवाव बीमा कम्पनीलाई छ ।  यससँगै मनसुन अवधिमा देशका विभिन्न भागमा आएको बाढीपहिरोले घर, सवारीसाधन, पूर्वाधार तथा कृषि क्षेत्रमा ठूलो क्षति पु¥यायो, जसले बीमा कम्पनीहरूमा ठूलो परिमाणमा दाबी दायित्व सिर्जना ग¥यो । यी घटनाले बीमा कम्पनीहरूको जोखिम बहन क्षमता र दाबी व्यवस्थापन प्रणालीको वास्तविक परीक्षण गरेको देखिन्छ । एकातिर कम्पनीहरूले ठूलो परिमाणमा दाबी भुक्तानी गर्नुपरेको अवस्था रह्यो भने अर्कोतर्फ दाबी प्रमाणीकरण, सर्वेक्षण र भुक्तानी प्रक्रियामा ढिलाइ तथा विवादका गुनासाहरू पनि आएका छन् । सबैभन्दा धेरै नेतृत्व फेरबदल भएको वर्ष वर्ष २०८२ नेपाल बीमा प्राधिकरणका लागि सबैभन्दा धेरै नेतृत्व परिवर्तन भएको वर्षका रूपमा गणना गर्न सकिन्छ । सरकारले एक वर्षभित्रै प्राधिकरणमा ६ जना अध्यक्ष नियुक्त गर्दै नियामक निकायमा नयाँ रेकर्ड कायम ग¥यो । नियुक्त भएका ६ अध्यक्षमध्ये तीन जना अर्थ मन्त्रालयका सहसचिव र एक जना सचिव रहेका थिए । २०८१ फागुनमा प्राधिकरणले इतिहासकै कान्छो अध्यक्ष पायो । अध्यक्षमा नियुक्त भएका शरद ओझा भने छोटो अवधिमै निलम्बनमा परे । यसअघि पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले सफलतापूर्वक आफ्नो चार वर्षे कार्यकाल पूरा गरेपछि प्राधिकरणको नेतृत्व सूर्यप्रसाद सिलवालले सम्हालेका थिए । तर, कार्यकाल समाप्त हुनै लाग्दा उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि निलम्बनमा परे । सिलवाल निलम्बनमा परेपछि सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई कार्यवाहक जिम्मेवारी दियो ।  यसैबीच, रिक्त पदपूर्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा सिफारिस समिति गठन गरियो । समितिले सिफारिस गरेका तीन जनामध्येबाट सरकारले फागुन १२ गते ओझालाई अध्यक्षमा नियुक्त गर्‍यो । तर, नियुक्तिको सुरुवातदेखि नै विवादमा तानिएका ओझा योग्यता नपुगेको भन्दै अख्तियारमा उजुरी परेपछि चार महिनामै निलम्बनमा परे ।  ओझा निलम्बनमा परेपछि सरकारले पुनः अस्थायी व्यवस्था गर्दै अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी दियो । त्यसको दुई महिनापछि अन्तरिम सरकारले अर्थ मन्त्रालयकै सहसचिव जनकराज शर्मालाई अध्यक्ष नियुक्त गर्‍यो । तर, शर्माले पनि छोटो समयमै राजीनामा दिएपछि सरकारले अर्थ मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्‍यो । यससँगै प्राधिकरणले इतिहासमै पहिलोपटक महिला अध्यक्ष पाउने अवसर पनि यही वर्ष प्राप्त गर्‍यो । सीईओ पक्राउदेखि रिहासम्म वर्ष २०८२ को अन्त्यतिर सन नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परे । नेपालको जीवन बीमा व्यवसायको ५३ वर्षे इतिहासमा बहालवाला सीईओलाई कम्पनीकै मुख्यालयबाट पक्राउ गरिएको यो पहिलो घटना हो । चैत्र १६ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्ना कर्मचारीलाई छुट्याइएको सेयरमा किर्ते गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । पछि हिरासत बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने आधार देखिएपछि अर्याललाई चैत्र २६ गते रिहा गरिएको थियो । यो वर्ष घटेका महत्त्वपूर्ण घटनामध्ये यो घटना पनि एक हो । पुनर्बीमा व्यवस्थापन संकट यो वर्ष दुई पुनर्बीमा कम्पनीभित्र सञ्चालकदेखि उच्च व्यवस्थापन तहसम्मका विवादहरू सञ्चारमाध्यममा प्रमुख रूपमा चर्चामा रहे । जेनजी आन्दोलनपछि दाबी भुक्तानीको दायित्व बढ्दा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) माथि उल्लेख्य दबाब यसै वर्ष पर्‍यो । सोही क्रममा कम्पनीभित्र व्यवस्थापन क्षमता र नेतृत्व प्रभावकारिताबारे पनि प्रश्न उठ्न थाले ।  पुनर्बीमा कम्पनीमा सीईओ सुरेन्द्र थापामाथि कम्पनीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लाग्यो । यसैबीच कम्पनीका अध्यक्षको राजीनामादेखि लिएर सञ्चालकहरूको राजीनामासम्मका घटनाक्रम यही वर्ष देखिए । उक्त कम्पनीमा ६ जना सञ्चालकमध्ये अहिले तीन सञ्चालक पद रिक्त रहेका छन् । यसैगरी, हिमालयन रि इन्स्योरेन्समा पनि संस्थापक अध्यक्ष शेखर गोल्छाले यसै वर्ष राजीनामा दिएका छन् । कम्पनीका अन्य सञ्चालकहरूले पनि राजीनामा दिने क्रम यही वर्ष देखिएको छ, जसले व्यवस्थापन तहमा अस्थिरता झल्काएको छ । यससँगै हिमालयन रि इन्स्योरेन्स नियामकको कारबाहीमा समेत परेको छ । ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमा र दायित्व व्यवस्थापनमा निर्देशनविपरीत कार्य गरेको भन्दै नेपाल बीमा प्राधिकरणले कारबाही गरेको हो । नेपाल पुनर्बीमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई सचेत गराइएको थियो भने हिमालयन रि इन्स्योरेन्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

सातामा दुई दिने बिदा निर्णय स्वागतयोग्य, आन्तरिक पर्यटन बढ्ने अपेक्षा

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पर्यटन व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । विशेषगरी सरकारी कार्यालय, विद्यालय–कलेज तथा बैंक तथा वित्तीय संस्थामा लागू हुनेगरी गरिएको यो निर्णयले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार दुई दिनको बिदाले नागरिकलाई घुमफिरका लागि थप समय उपलब्ध गराउने भएकाले होटल, रेस्टुरेन्ट तथा पर्यटनसम्बन्धी व्यवसायमा चलायमान बढ्ने विश्वास छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले दुई दिने सार्वजनिक बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने बताएका छन् । उनका अनुसार दुई दिनको बिदा विश्वव्यापी रूपमा प्रचलित अभ्यास भएकाले नेपालमा पनि यसको सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ । अध्यक्ष शाहले सरकारले यसअघि नै बजेटमा घोषणा गरेको ‘नेपाल देश दर्शन’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सके यसले आन्तरिक पर्यटनमा थप चहलपहल हुने विश्वास व्यक्त गरे ।  उनका अनुसार सातामा २ दिन सार्वजनिक विदा दिने निर्णयले पर्यटन क्षेत्र मात्रै नभएर किसान, यातायात, बैंकिङ, एयरलाइन्स तथा होटल व्यवसाय लगायतका समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ।  शाह भन्छन्, ‘नेपाल देश दर्शन’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सके यसले आन्तरिक पर्यटनमा थप चहलपहल ल्याउने र किसान, यातायात, बैंक, एयरलाइन्स तथा होटल सबै क्षेत्रलाई फाइदा पुग्छ ।’ सरकारले भने पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको जनाएको छ । इन्धन खपत घटाउने र व्यवस्थापन सहज बनाउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा लागू गरिएको हो । केही पर्यटन व्यवसायीहरूका अनुसार इन्धन खपत घटाउने उद्देश्यसहित अघि सारेको सातामा २ दिन विदाले टाढा–टाढाका गन्तव्यहरूमा भन्दा नजिकका गन्तव्यहरूमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । होटल व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले दुई दिने बिदाले आन्तरिक पर्यटनमा विशेषगरी नजिकका गन्तव्यहरूमा सकारात्मक प्रभाव पार्ने विचार राखेका छन् । उनले भने, ‘दुई दिन बिदा भएपछि व्यवसायी, कर्मचारी तथा परिवारका सदस्यहरू एक रात बाहिर बिताउने गरी घुम्न जाने प्रवृत्ति बढ्छ । यसले नजिकका पर्यटन गन्तव्यमा चहलपहल बढाउनेछ ।’ यस्तो व्यवस्थाले पर्यटन व्यवसायीका लागि अवसर सिर्जना गर्ने भएकाले सरकारको यो निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘इन्धन बचत गर्ने उद्देश्य भए पनि घुमफिर बढ्दा खर्च गर्ने पटकको संख्या बढ्न सक्छ, जुन एक हिसाबले सकारात्मक पक्ष पनि हो,’ उनले भने । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर दुई दिने सार्वजनिक बिदाले आन्तरिक पर्यटनलाई थप चलायमान बनाउने कुरामा ढुक्क छन् । उनका अनुसार यस्तो व्यवस्थाले उपत्यकाबाहिर पोखरा, चितवनलगायत गन्तव्यहरूमा घुम्न जाने वातावरण सिर्जना हुन्छ ।  ‘यसले तत्कालका लागि इन्धन खपत केही बढाए पनि दीर्घकालीन रूपमा पर्यटन क्षेत्र र समग्र अर्थतन्त्र रेस्टुरेन्ट, बार तथा यातायात व्यवसायलाई ठूलो सहयोग पुग्छ,’ उनले भने।  ऐरले बिदाले कर्मचारीहरूलाई पारिवारिक तथा सामाजिक जिम्मेवारी पूरा गर्न समेत सहज बनाउने उल्लेख गरे ।  साथै विश्वका धेरै देशहरूमा दुई दिने बिदा प्रचलनमा रहेको उदाहरण दिँदै उनले यसबाट कार्यालय सञ्चालनसम्बन्धी खर्च जस्तै एसी, बत्ती तथा प्रशासनिक खर्च घट्ने र ट्राफिक जाम पनि कम हुने बताए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘लिभ ट्राभल कन्सेसन’ लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘सरकारले यसअघि घोषणा गरे पनि बजेट अभावले कार्यान्वयन हुन सकेन, अब निजी क्षेत्रलाई समेत समेटेर यसलाई अघि बढाउनुपर्छ,’ उनले भने ।  त्यस्तै, भारत सरकारका कर्मचारीलाई दिइने लामो बिदामा नेपाललाई गन्तव्यका रूपमा समावेश गर्न कूटनीतिक पहल आवश्यक रहेको उनले बताए । ‘भुटानजस्तै नेपाललाई पनि भारतीय पर्यटकीय गन्तव्यमा जोड्न सके हाम्रा हिल स्टेसनहरूमा ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ,’ ऐर भन्छन् ।  हाल पेट्रोलियम पदार्थको महँगी र खपत घटाउने सरकारको उद्देश्य सकारात्मक भए पनि बिदाका समयमा घुमफिर बढ्दा इन्धन खर्च उल्टै बढ्न सक्ने सम्भावना व्यवसायीहरूले औंल्याएका छन् ।  दुई दिने बिदाले मानिसहरूलाई यात्रा गर्न प्रोत्साहित गर्ने भएकाले इन्धन खपत अपेक्षाअनुसार घट्नेमा चुनौती देखिने उनीहरूको बुझाइ छ ।  नेपाल एशोसिएसन अफ राप्टिङ एजेन्सिज् (नारा) का वरिष्ठ उपाध्यक्ष शुक बहादुर लामाले दुई दिन विदाको कारण आन्तरिक पर्यटनतर्फ मानिसहरूलाई आकर्षित गर्ने र खर्च गर्ने पटकहरूको संख्या बढ्ने अपेक्षा भएपनि चुनौती पनि उत्तिकै भएको बताए । विशेषगरी मध्यपूर्व द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको वृद्धि हुँदा बिदाको दिनमा समेत घुमघाम गर्न सहज नहुने अवस्था आउन सक्ने उनको भनाइ छ । हान अध्यक्ष शाहले यसको विकल्पस्वरूप उनले सौर्य ऊर्जा, विद्युतीय सवारी साधन तथा ‘ग्रीन टुरिजम’लाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिएका छन् । शाहले होटल क्षेत्रमा पनि ऊर्जा प्रयोगमा सुधार गर्न सकिने उल्लेख गर्दै भान्सामा प्रयोग हुने ग्यासको सट्टा विद्युत प्रयोग गर्न सकिने सम्भावना रहेको बताए ।  यदि सरकारले उद्योग सरहको सहुलियत दरमा विद्युत उपलब्ध गराए होटलहरूले ग्यास छोडेर बिजुली प्रयोग गर्न सक्ने र यसले लागत पनि घटाउने उनको भनाइ छ ।

सीईओ पक्राउ, बीमा क्षेत्र सरप्राइज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले हिरासतमा लिएको घटनाले बीमा क्षेत्रमा ठूलो तरंग सिर्जना गरेको छ ।  कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको आरोपमा अर्याल पक्राउ परेका हुन् ।  नेपालको जीवन बीमा व्यवसायको करिब ५३ वर्षे इतिहासमा बहालवाला सीईओलाई कम्पनीकै मुख्यालयबाट पक्राउ गरिएको यो पहिलो घटना हो, जसले यस क्षेत्रलाई थप संवेदनशील बनाएको छ । अर्यालको पक्राउलाई बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, कर्मचारीहरू तथा सरोकारवालाहरूले अप्रत्याशित रूपमा लिएका छन् । बीमा क्षेत्रमा लामो अनुभव बनाएका र असल व्यावसायिक छवि निर्माण गरेका अर्याल यसरी कानुनी झमेलामा पर्नु धेरैका लागि आश्चर्यको विषय बनेको छ । उनलाई नजिकबाट चिन्नेहरू यस्तो घटनाले आश्चर्यमा परेका छन् र वास्तविक कारणबारे स्पष्ट जानकारी आउने प्रतीक्षामा छन् । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) मा लामो समयसम्म उपनिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेका तथा कानुनी विषयमा दख्खल राख्ने व्यक्तिका रूपमा परिचित अर्यालको नाम गैरकानुनी गतिविधिसँग जोडिनु धेरैका लागि अप्रत्याशित बनेको छ । नियामक संरचना र कानुनी प्रक्रियाबारे गहिरो समझ भएका व्यक्तिबाट यस्तो घटना बाहिरिनुले बीमा क्षेत्रभित्रै पनि गम्भीर प्रश्नहरू उठाएको छ । अर्याललाई नजिकबाट चिन्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ), नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), कर्मचारी तथा शुभचिन्तकहरूले उनलाई भद्र, संयमित र पेशागत रूपमा प्रतिबद्ध व्यक्तित्वका रूपमा चित्रण गर्ने गरेका छन् ।  उनीसँग नजिकबाट काम गरेका एक बीमा कम्पनीका सीईओका अनुसार अर्यालको कामप्रतिको लगाव, कार्यशैली र व्यक्तिगत व्यवहार सबै ‘क्लिन’ थियो ।  उनका अनुसार निर्णय लिने शैलीदेखि सहकर्मीहरूसँगको व्यवहारसम्म उनी सदैव व्यवस्थित र मर्यादित देखिन्थे, जसले अहिलेको घटनालाई ती सीईओलाई समेत आश्चर्यमा पारेको छ ।  ‘उहाँको व्यावसायिक कार्यसँग परिचित छु, उहाँ गैरकानुनी काम गर्ने, अरूलाई ढाँटेर हिँड्ने मान्छे हो भन्ने कहिल्यै थाहा छैन, एकैचोटि उहाँको पक्राउबारे समाचार आएपछि थाहा पाएँ,’  ती सीईओले भने ।  उनका अनुसार अर्याल त्यसरी गैरकानुनी काममा मुछिनुपर्ने व्यक्ति होइन । ‘पक्राउ नै परिसकेपछि त अनुसन्धान होला, दोषी भए कारबाही, निर्दोष भए न्याय पाइहाल्नुहुन्छ,’ उनले भने । अर्याललाई नजिकबाट चिनेका अर्का बीमा कम्पनीका डीसीईओले पनि उनको पक्राउको विषयलाई अस्वाभाविक रूपमा लिएका छन् ।  अर्यालका नजिकका शुभचिन्तकहरूका अनुसार उनी पहिलोपटक यस्ता गैरकानुनी विवादमा तानिएका हुन् । उनीमाथि यसअघि कुनै किसिमको कानुनी मुद्दा परेको वा विवादमा मुछिएको विवरण सार्वजनिक रूपमा आएको छैन । पारिवारिक पृष्ठभूमिका हिसाबले पनि उनी विवादरहित व्यक्तिका रूपमा चिनिँदै आएका थिए । अहिलेसम्म उनको परिवारसँग सम्बन्धित कुनै कानुनी मुद्दा वा विवादको जानकारी कसैलाई नभएको उनका निकटवर्तीहरू बताउँछन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रेकर्डमा समेत उनी अन्य कुनै विवादमा मुछिएको देखिँदैन । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अर्याल यसअघि कुनै पनि आपराधिक वा विवादास्पद प्रकरणमा संलग्न रहेको विवरण अभिलेखमा छैन । नियामक निकाय तत्कालीन बीमा समितिमा सँगै सहकार्य गरेको एक कर्मचारीले पनि अर्यालको व्यक्तित्वप्रति सकारात्मक धारणा राख्छन् । उनका अनुसार अर्याल अत्यन्तै भद्र, क्लिन इमेज भएका र बजारले मन पराएको व्यक्ति हुन् ।  आफूले अर्यालसँग लामो समय प्राधिकरणको कानुन विभागमा सहकार्य गरेको उल्लेख गर्दै अर्याललाई देश–विदेशमा अध्ययन र अनुभव हासिल गरेका ‘नलेजएबल’ व्यक्तिका रूपमा उनले चित्रण गरे । ती कर्मचारीका अनुसार चर्चामा आएको सेयरसम्बन्धी विषय पनि अत्यधिक विवादास्पद नभई कानुनी रूपमा टुंगो लागिसकेको मुद्दा हो । ‘प्राधिकरणलाई समेत विपक्षी बनाएर दायर गरिएको रिट अदालतले खारेज गरिसकेको थियो,’ उनले भने, ‘उहाँ कुनै खराब नियतले काम गर्ने व्यक्ति होइन, परिस्थितिका कारण त्यस्तो अवस्था आएको हो ।’ उनका अनुसार यस विषयमा नेपाल धितोपत्र बोर्डले समेत छानबिन गरी सुधारात्मक निर्देशन दिएको थियो । सो निर्देशनअनुसार कम्पनीले सेयर पुनः बाँडफाँड गरेर कर्मचारीहरूको समस्या समाधान गरिसकेको उनले बताए । ‘अदालत र नियामक दुवैले विषयमा आफ्नो धारणा दिइसकेपछि फेरि यसलाई नयाँ मुद्दाका रूपमा उठाइरहनु पर्ने देखिँदैन,’ ती कर्मचारीले भने । उनका अनुसार अर्यालको व्यक्तिगत छवि सकारात्मक भएकाले भविष्यमा मुद्दा चले पनि निर्दोष सावित हुने सम्भावना उच्च रहेको छ । साथै उनले प्रहरीमा रहेको फाइलसमेत औपचारिकता पूरा गर्न वा प्रक्रिया मिलाउनका लागि मात्र कायम राखिएको हुन सक्ने दाबी गरे । व्यवस्थापकदेखि शाखा प्रमुखसम्मको संलग्नता   सीआईबीले अर्याललाई कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै राखेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदन उपर थप अनुसन्धानका लागि अर्याललाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।  कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने ९६ लाख कित्तामध्ये ७६ लाख ८० हजार कित्ता ३२ साउन २०८० देखि सर्वसाधारणमा बिक्री गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख कित्ता सेयरमध्ये कम्पनीले १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा भएका नेपालीका लागि जारी गरेको थियो । कम्पनीले कुल निष्कासित सेयरको ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर संस्थामा कार्यरत कर्मचारीका लागि बाँडफाँट गरिएको थियो । कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि अंकित मूल्य १ सय ३९ रुपैयाँमा १ सय थप गरी प्रतिकित्ता २ सय ३९ रुपैयाँमा बिक्री गरेको हो । स्रोतका अनुसार सेयर बाँडफाँटमा सीईओ अर्यालले आफ्नो र कर्मचारीको आवेदन नै किर्ते गरेर आफूलाई सेयर राखेका थिए । यो विषयमा असन्तुष्ट भएका कर्मचारीले धितोपत्र बोर्डमा उजुरी दिएपछि विवाद बाहिर आएको हो।  यो मुद्दामा अहिले सीईओ अर्याल मात्रै पक्राउ परेपनि यसमा उनको मात्रै नभएर धेरैको मिलोमतो देखिएको बुझिएको छ । उनलाई तत्कालीन व्यवसस्थान समूहदेखि, विभागीय कर्मचारी र प्रदेश प्रमुखहरुले साथ दिएको स्रोतले भनेको छ । ‘सेयर निष्काशनको समयमा रहेका तत्कालिन व्यवस्थापन टिम,  विभागीय प्रमुखहरू, र शाखा प्रमुखको समेत संलग्नता देखिन्छ,’ स्रोतले भन्यो । उनका अनुसार शीर्ष तहका व्यवस्थापकहरूबीच मिलेमतो भएर ठूलो परिमाणमा सेयर बाँडफाँड गरिएको र सामान्य कर्मचारीहरू भने अपेक्षित लाभबाट वञ्चित भएको उनले बताए ।  ‘झन्डै ५० प्रतिशतभन्दा बढी सेयर टप लेभल म्यानेजमेन्टले लिएको र बाँकी मात्र सामान्य कर्मचारीलाई वितरण गरिएको देखिन्छ,’ स्रोतले भन्यो ।  स्रोतका अनुसार यदि यस्ता विवादले लगानीकर्ताको विश्वासमा असर परेमा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको वित्तीय स्थायित्वमै पर्न सक्छ ।  नेपालको जीवन बीमा क्षेत्रमा नियामक निकायबाट निजी कम्पनीको नेतृत्वमा पुग्ने केही व्यक्तित्वमध्ये एक हुन् अर्याल ।  बीमा क्षेत्रमै लामो समय नियामक तहमा काम गरेको अनुभव बोकेका अर्यालको पेशागत यात्रा निजी क्षेत्रको नेतृत्वमा प्रवेश गरेपछि अझ चर्चित बनेको थियो  । कानुन विषयमा स्नातकोत्तर गरेका अर्यालको पृष्ठभूमि बीमा क्षेत्रका लागि प्राविधिक र नीतिगत दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ । उनले लामो समयसम्म तत्कालीन बीमा समितिमा उपनिर्देशक तथा कानुनी विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए  । सन नेपाल लाइफको नेतृत्व सम्हालेपछि अर्याल कम्पनीको संस्थागत विस्तार र बजार उपस्थितिलाई मजबुत बनाउन उनले प्रयास गरेको देखिन्छ ।

नेपाल रिको ‘सरकारी पारा’ले साख गुमाउँदै बीमा कम्पनी

काठमाडौं । बीमा दाबी परेको ८ महिना बितिसक्दा पनि नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले आफ्नो दायित्वअन्तर्गत पर्ने दाबी रकम भुक्तानी तिर्नमा निकै सुस्तता देखाएकाे छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई हालसम्म ३ अर्ब ३९ करोड मात्रै भुक्तानी गरेको छ । कम्पनीले हालसम्म कुल दाबी दायित्वको करिब २१ प्रतिशतमात्रै रकम भुक्तानी गरेको हो । नेपाल रिले निर्जीवन बीमा कम्पनीहरू बीमा दाबीको दायित्वबापत नेपाल रिले १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि अहिलेसम्म सो रकम बराबरको रकम मात्रै भुक्तानी गरेको हो । नेपाल रिले बीमा कम्पनीहरूलाई अझै १२ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । दाबी परेको लामो समय बित्दा पनि भुक्तानी नहुँदा ठूला दाबी परेका बीमा कम्पनीहरू बढी दबाबमा परेका छन् । ठूलाे दाबी परेका बीमा कम्पनीहरूमा सिद्धार्थ प्रिमियर, दि ओरियन्टल, आइजिआई प्रुडेन्सियल, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छन् ।  पुनर्बीमाबाट रकम नआउँदा बीमितलाई समयमै दाबी भुक्तानी गर्न कठिनाइ भएको बीमा कम्पनीहरूले गुनासो गरेका छन् । बीमा क्षेत्रमा दाबी भुक्तानी ढिलाइ हुँदा विश्वसनीयतामै असर पर्ने जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ । नेपाल पुनर्बीमाबाट समयमै दायित्वबापतको रकम नपाएपछि कम्पनीमाथि आर्थिक दवाव बढ्दै गएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यले बताए । उनका अनुसार कम्पनीले बीमितहरूलाई दाबीबापतको भुक्तानी आफ्नै स्रोतबाट प्रदान गर्दै आएको छ । सुरुवाती चरणमा केही रकम प्राप्त भए पनि त्यसपछि थप भुक्तानी हुन नसकेको उनको भनाइ छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४२० वटा दाबीमार्फत ५ अर्ब ५० करोड ७८ लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले २ अर्ब १४ करोड ७९ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ । सूचना अधिकारी आचार्यले भने, कम्पनीको करिब ५ अर्ब रुपैयाँ बराबरको दायित्व बाँकी रहेको छ, जसमा चौधरी ग्रुपलगायत ठूला ग्राहकहरूको दाबी भुक्तानी समेत समावेश छन् ।’ ‘क्लेम सेटलमेन्ट’ अन्तर्गत बिमितहरूलाई नियमित भुक्तानी गरिए पनि नेपाल रिबाट पाउनुपर्ने रकम नआउँदा समस्या भएको उनले सुनाए । ‘विदेशी पुनर्बीमा कम्पनीबाट कुनै समस्या हुँदैन, तर स्वदेशी पुनर्बीमाबाट निकै ढिला भइरहेको छ,’ उनले गुनासो गरे । पुनर्बीमा बापतको रकम सहजै उपलब्ध गराउन सहजीकरण गरिदिन भन्दै बीमा कम्पनीहरूले नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई निवेदनसमेत दिएको उनले बताए । उनका अनुसार नेपाल बीमक संघमार्फत बीमा कम्पनीहरू प्राधिकरण पुगेका हुन् । ‘संघका अध्यक्ष आफै पनि यसमा लागिरहनुभएको छ, तर अझैसम्म सकारात्मक नतिजा आइसकेको छैन,’ उनले भने । बीमा कम्पनीहरूले बीमितलाई समयमै दाबीबापतको भुक्तानी नगर्ने भन्ने गुनासो लामो समयदेखि उठ्दै आएको छ । यही कारण छिटो, पारदर्शी र सहज रूपमा दाबी रकम भुक्तानी गर्नु कम्पनीहरूका लागि प्रमुख चुनौती बनेको छ । समयमै रकम प्राप्त नहुँदा कम्पनीमाथि आर्थिक बोझ थपिएको छ, जसले लगानी क्षमता र संस्थागत आत्मविश्वासमा समेत नकारात्मक असर पारिरहेको बीमा कम्पनीहरू बताउँछन् । पुनर्बीमाबाट भुक्तानीमा ढिलाइ हुँदा समग्र बीमा क्षेत्रमै जोखिम सिर्जना हुने खतरा बढेको उनीहरूको गुनासो छ । शिखर इन्स्योरेन्स कम्पनी पुनर्बीमा शाखाका सिनियर म्यानेजर विजय दाहालले पुनर्बीमा कम्पनीबाट रकम समयमै नआउँदा ‘क्लेम सेटलमेन्ट’ प्रक्रिया प्रभावित भइरहेको बताएका छन् । उनका अनुसार दाबी भुक्तानी क्रमशः भइरहे पनि अपेक्षित मात्रामा रकम प्राप्त हुन सकेको छैन । ‘हामीले पुनर्बीमा कम्पनीसँग निरन्तर माग गरिरहेका छौं, तर जुन रूपमा आउनुपर्ने त्यो आउन सकेको छैन ।’ दाहालका अनुसार ठूलो परिमाणका दाबी एकैपटक परेकाले पुनर्बीमा कम्पनीको भुक्तानी क्षमता प्रभावित भएको कारण बीमा कम्पनीहरूलाई सहजै भुक्तानी दिन नसकेको हुन सक्ने तर्क गरेका छन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले  राजनीतिक र व्यवस्थापकीय अस्थिरताका कारण पुनर्बीमा कम्पनीबाट दायित्वबापत्को दाबी भुक्तानी प्रभावित भएको बताएका छन् । ‘बीचमा सञ्चालकको राजीनामा भयो, व्यवस्थापन टिम अपुरो रहँदा पनि समस्या भएको हुन सक्छ,’ उनले भने ।  गत माघमा पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडलविरुद्ध भ्रष्टचार मुद्धा दायर भएको थियो । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि उनले कम्पनीबाट राजीनामा दिएका थिए । पुनर्बीमाले जुनसुकै हालतमा पनि भुक्तानी दिनुपर्ने तर्क सीईओ क्षेत्रीको छ । साथै उनले नयाँ सरकार आएसँगै केही सुधार हुने अपेक्षा राखेका छन् । ‘अब नयाँ सरकार आएको छ, भुक्तानी आउला कि भन्ने अपेक्षा छ, नदिने भन्ने त हुँदैन,’ उनले भने । उनका अनुसार पुनर्बीमा कम्पनीबाट रकम ढिलो आउँदा बीमा कम्पनीहरूको नगद प्रवाहमा दबाब पर्ने र दाबी व्यवस्थापनमा चुनौती थपिने गरेको छ । ठूलाे दाबी परेको कम्पनीहरूको तुलनामा सानाे दाबी परेका कम्पनीहरूमा भने खासै समस्या नदेखिएको बीमा कम्पनीहरूले बताउँछन् । सानिमा जिआईसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न प्रसाद उपाध्यायले आफ्नो कम्पनीमा पुनर्बीमा भुक्तानीसम्बन्धी ठूलो समस्या नरहेको बताए ।  उनका अनुसार कम्पनीमा ठूलो परिमाणका दाबी नभएकाले भुक्तानीमा खासै जटिलता देखिएको छैन । ‘हाम्रो कम्पनीमा ठूला क्लेमहरू धेरै छैनन्, त्यसैले त्यस्तो समस्या देखिएको छैन,’ उनले भने । बीमा कम्पनीहरूले भुक्तानी गरे ७ अर्ब बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीबापत ७ अर्ब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी दाबी भएको छ । निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल २३ अर्ब ३८ करोड ११ लाख दाबीमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी ७ अर्ब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको हो । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब ४ करोड ९ लाखमध्ये २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको । यस्तै, मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको ३ अर्ब ४७ करोड ७ लाखमध्ये ६८ करोड ६१ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी रकममध्ये ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख दाबी रकममध्ये ४७ लाख रुपैयाँ र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ ।                        

आरोग्य पर्यटनमा नेपाल हब बन्ने सम्भावना उच्च, निजी क्षेत्र उत्साहित

काठमाडौं । सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउने योजना अघि सारेको छ । यो विषयमा सरकारले तीव्र गतिमा नीतिगत पहलहरू अघि बढाएको भन्दै पर्यटन व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले भर्खरै सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० बुँदे कार्यसूचीमा उक्त योजना समेटेको छ । यसका साथै सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउँदै सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’का रूपमा मनाउने निर्णयसमेत गरिएको छ । पूर्वीय दर्शन, ध्यान, योग तथा प्राकृतिक चिकित्साजस्ता क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित सरकारले १५ दिनभित्र आरोग्य पर्यटनसम्बन्धी रणनीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको नेतृत्वमा आवश्यक रणनीति तथा कार्ययोजना निर्माणसमेत भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको प्रमुख एजेन्डाका रूपमा अघि सारिएकोमा खुसी व्यक्त गरे । ‘यसले नेपाललाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,’ अध्यक्ष शाहले भने ।  अध्यक्ष शाहले ‘नेपाल विश्वकै उत्कृष्ट आरोग्य पर्यटन केन्द्र बन्ने सम्भावना बोकेको देश’ भएकोले सरकारले अघि सारेको यो कदम निकै नै सकारात्मक रहेको औंल्याए ।  नेपालको आरोग्य पर्यटन पूर्वीय दर्शन, योग, ध्यान तथा प्राकृतिक उपचार पद्धतिमा आधारित रहेको उल्लेख गर्दै शाहले यसलाई प्राचीन ऋषि–मुनिहरूको ज्ञान र वेदमा वर्णित जीवनशैलीसँग जोडेर प्रवर्द्धन गर्न सकिने बताए ।  त्यस्तै, उनले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई ‘आरोग्य दिवस’का रूपमा मनाउन थालेको विषयलाई पनि सकारात्मक उपलब्धि भएको उल्लेख गरे । साथै उनले सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ घोषणा गर्ने तयारीलाई निजी क्षेत्रले स्वागत गरेको बताए ।  ‘सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’  भनेर घोषणा गर्ने कुरालाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ अध्यक्ष शाहले भने ।  ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नेपालमा आरोग्य पर्यटनको सम्भावना अत्यन्तै उच्च रहेको बताउँछन् । उनका अनुसार प्राकृतिक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले नेपाल भारतभन्दा पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने थुप्रै आधारहरू छन् । ‘आरोग्य पर्यटनको स्कोप धेरै राम्रो छ, भारतको भन्दा पनि राम्रो छ,’ उनले भने, ‘नेपालमा तपोभूमि, विभिन्न मठ–मन्दिर जस्ता धार्मिक स्थलहरू छन्, जहाँ मानिसहरूले आध्यात्मिक शान्ति र स्वास्थ्य लाभ दुवै प्राप्त गर्न सक्छन्।’ पाण्डेले विगतमा योजना बने पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रति भने दुःख व्यक्त गरे । ‘विगतका सरकारले यसलाई प्राथमिकतामा राखेनन्, जसका कारण सम्भावना हुँदाहुँदै पनि क्षेत्र अगाडि बढ्न सकेन,’ उनले भने ।  तर नयाँ सरकारले सुरुवातदेखि नै यस विषयलाई प्राथमिकतामा राख्दै अघि बढाउन खोजेकाले अब कार्यान्वयन हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ । के पूर्वाधार पर्याप्त छन् ? सरकारको स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रसँगको सहकार्यले नेपाललाई आरोग्य पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार  आरोग्य पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास नेपालमा भइसकेको छ ।  हानका अध्यक्ष शाहका अनुसार नेपालका अधिकांश ठूला होटल तथा रिसोर्टहरूमा फिटनेस सेन्टर, योग, ध्यान, स्पा र जिमजस्ता सुविधा उपलब्ध छन् । ‘आरोग्य पर्यटनको लागि आवश्यक पूर्वाधार रहेकोले उचित नीति–नियम र समन्वय भएमा आगामी पाँच वर्षभित्रै यस क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं,’ अध्यक्ष शाहले भने ।  टानका अध्यक्ष पाण्डेका अनुसार नेपालमा आरोग्य पर्यटन लक्षित छुट्टै रिसोर्ट वा होटलहरूको विकास अझै हुन सकेको छैन । व्यावसायिक रूपमा यस्तो पूर्वाधार विकास गर्नु आवश्यक रहेको पाण्डे औंल्याउँछन् । आरोग्य पर्यटनका लागि शान्त, एकान्त र प्राकृतिक वातावरण अनिवार्य हुने बताउँदै उनले यस्तो विशेषतायुक्त गन्तव्य निर्माणमा सरकार र निजी क्षेत्र दुवै मिलेर लाग्नु पर्ने बताएका छन् । थप प्रचार–प्रसार बढाउँदै पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले आरोग्य पर्यटन प्रवर्द्धनका लागि नेपालले ‘माइन्ड, बडी र सोल’ शुद्धीकरणको अवधारणामा आधारित अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिरहेको जानकारी दिए । उनका अनुसार नेपालको प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक विशेषताले यस क्षेत्रमा विशिष्ट पहिचान बनाउन सहयोग पुर्‍याएको छ । निर्देशक ऐरले भने, ‘नेपालमा योग, विपश्यना, आयुर्वेद र स्पाजस्ता सेवा–सुविधाहरू अहिले चारतारे र पाँचतारे होटलहरूमा उपलब्ध भइसकेका छन्, जसले आरोग्य पर्यटनको आधार तयार भइसकेको छ ।’  ऐरका अनुसार खप्तड राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय स्तरको योग केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । तर सरकारी वन ऐनका कारण निजी क्षेत्रलाई जमिन लिजमा उपलब्ध गराउन कठिनाइ रहेको उनले जानकारी दिए । ‘चन्द्रागिरि हिल्स जस्ता सफल परियोजनाका लागि जस्तै मोडल यहाँ पनि आवश्यक हुन्छ,’ उनले भने । उनले हालसम्म आरोग्य पर्यटनका लागि मात्रै नेपाल आउने पर्यटकहरूको छुट्टै तथ्याङ्क (डेटाबेस) नभएको स्वीकार्दै भविष्यमा यस्तो ‘सेग्मेन्टेसन’ गर्ने योजना रहेको जानकारी दिए । सन् २०२७ लाई ‘वेलनेस टुरिजम वर्ष’ का रूपमा मनाउने तयारी भइरहेको र त्यसका लागि आवश्यक रणनीति निर्माणमा पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहयोग गर्ने उनले बताए । पर्यटन बोर्डले मुख्य रूपमा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र ‘फ्यासिलेटर’ का रूपमा भूमिका निर्वाह गर्ने लक्ष्य राखेको ऐरले स्पष्ट पारे ।