काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण मतपत्र निर्वाचन अधिकृत कार्यालयमा पठाइसकिएको जानकारी दिए ।
उनका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी(विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण भइसकेको छ ।
त्यसैगरी, आयोगले एक सातामा डेढ करोड मतपत्र छपाइ सकेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि जनक शिक्षा सामग्रीमा मतपत्र छपाइको काम गरिरहेको छ ।
माघ २ गतेदेखि जनक शिक्षा सामग्रीको कार्यालयमा छपाइ थालेको हो । ५० लाख मतपत्र छाप्न बाँकी रहेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । मतपत्र छपाइ सकेर पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सुरु गरिने उनको भनाइ छ ।
उनका अनुसार मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छापेर जिल्लामा पुर्याइएको छ । तीन प्रति मतपत्र छपाइ गर्ने काम आयोग परिसरमा सुचारु भइरहेको छ ।
फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् ।
त्यसैगरी आयोगले ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रवक्ता भट्टराईले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिए ।
‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ,’ उनले भने, ‘गलत सूचना दिने संस्था र सामाजिक सञ्जालका अकाउन्टलाई कारबाही गरिने छ ।’
राष्ट्रियसभाको निर्वाचन आइतबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुने भएको छ ।