काठमाडौं । काठमाडौंलगायत देशभरका विभिन्न जिल्लाका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । ४५ पुरुषसहित ४ जना महिला उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
शुक्रबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयन भइसकेका उम्मेदवारले व्यक्तिगत, इच्छा र घरायसी कारण देखाएर फिर्ता लिएको जानकारी दिए ।
मनोनयन भएका धेरैले निर्वाचनमा उम्मेदवार हुन इच्छा नभएको भन्दै फिर्ता लिएको आयोगले जनाएको छ । उम्मेदवार फिर्ता लिनेमा सबैभन्दा बढी ‘स्वतन्त्र’ उम्मेदवार रहेका छन् ।
आम जनता पार्टी, नेपाल जनता पार्टी, जनता समाजवादी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी नेपाल, युनाइटेड नेपाल, डिमोक्र्याटिक पार्टी, पिपुल फर्स्ट पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीका उम्मेदवारले फिर्ता लिएका छन् ।
उम्मेदवार फिर्ता लिएका जिल्लाहरू कुन–कुन हुन् ?
धनकुटा, मोरङ, सुनसरी,ओखलढुंगा, सिराहा, महोत्तरी,सर्लाही, धादिङ, नुवाकोट, काठमाडौं, रौतहट, बारा पर्सा, चितवन, गोरखा, तनहुँ,स्याङ्जा, नवलपरासी,पाल्पा, नवलपरासी ( बर्दघाट सुस्तापूर्व), रुपन्देही, रुकुम (पूर्वी भाग), रोल्पा, दाङ, बाँके, बर्दिया र कैलाली रहेका छन् ।
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् ।


