काठमाडौं । हरेकमा प्रतिभा हुन्छ, तर सबैले देख्दैनन् । जसले देख्छ, उनीहरू चम्किन्छन् जसले देख्दैन प्रतिभा लुकेरै रहन्छ ।
आजभन्दा करिब २०/२२ वर्ष पहिले ममा फरक कला छ भनेर पहिचान गर्न नसकेका भए कृष्ण पाण्डे अहिले वर्ल्ड रेकर्ड कायम गर्न सक्दैनथे । उनले आफूलाई समयमा चिने र अहिले उनी दोस्रो पटक आफ्नो नाम गिनिज वर्ल्ड रेकर्ड राख्ने प्रयासमा छन् ।
४० वटा शब्द एक मिनेटमा उल्टोबाट सबैभन्दा छिटो उच्चारण गर्न सकेर विश्व कीर्तिमान बन्न सफल उनै पाण्डेले ५० मिनेटमा ५० वटा शब्द सबैभन्दा छिटो उच्चारण गरेर दोस्रो पटक नाम विश्व कीर्तिमानी राख्न खोजेका हुन् ।
बिहीबार काठमाडौंको आइएमटी कलेजमा आयोजना गरिएको एक कार्यक्रममा पाण्डेले ५१.६६ सेकेण्डमा ५० वटा शब्द उल्टोबाट सबैभन्दा छिटो उच्चारण गरे । उनले गरेको सबै प्रयास रेकर्ड गरेको सामग्री प्रमाणपत्रका लागि पठाइएको छ ।

पाण्डे भन्छन्, ‘अरूभन्दा फरक क्षमता छ भन्ने कुरा मलाई प्लस टु पढ्दाखेरि नै थाहा पाइसकेको थिएँ । सुरुमा आफ्नो प्रतिभा घरकै दाजुभाइ परिवारसँग देखाइयो, त्यसपछि अब यो क्षमता विश्वसामु चिनाउनुपर्छ भन्ने लाग्यो र यो यात्रा तय गरेको हुँ ।’
रुपन्देहीको देवदह शितलनगरका पाण्डे कक्षा १ देखि १० सम्म गाउँमै पढे । पाण्डेले सूचना प्रविधि र बिजनेशमा स्नातकोत्तर गरेका छन् । उनका बुवा शिक्षण पेशामा थिए ।
६ जना दाजुभाइमध्ये काइलो सन्तान हुन् कृष्ण । ‘पढाइमा हामी सबै दाजुभाइ उत्तिकै क्षमतावान थियौं । सायद वुवाको प्रभाव थियो, मेरो बुवा त्यो जमानामा डबल डिग्री गरेको व्यक्ति हुनुहुन्थ्यो । गाउँमा बौद्धिक रूपमा पनि जान्नेमान्य व्यक्तिको रूपमा उहाँ चिनिनुहुन्छ,’ उनले भने ।
कृष्णलाई एक पटक कसैले भनेको तथा बोलेको कुरा उनलाई प्रायः दोस्रो पटक भनिराख्न पर्दैन । उनी सुल्टोभन्दा उल्टोबाट पढ्न रुचाउँथे । साथीभाइसँग बोल्दा पनि उनी प्रायः उल्टोगरी बोल्थे ।
आफूलाई फरक देखाउने चाहना
कृष्ण सानैदेखि आफूलाई फरक रूपमा चिनाउन चाहन्थे । स्कुल होस् या बाहिर पचास–सय जना सहभागी भएको ठाउँमा उनी आफूलाई फरक रूपमा कसरी चिनाउने भन्नेमा लाग्थे । त्यो कुरालाई अहिलेको यो वल्र्ड रेकर्डले धेरै सहयोग पुर्याएको उनको भनाइ छ । उनी आफ्नो यो किसिमको क्षमता भगवानले दिएको उपहार मान्छन् ।
‘जोकोहीमा यस्तो क्षमता हुँदैन, मैले घोकेर, मिहिनेत गरेर पनि यो अवसर पाएको होइन, ममा त्यो किसिमको पहिचान छ, खुबी छ । कुनै पनि प्रतिस्पर्धामा जाँदा कुनै पनि कुराको अर्थ जान्न त्यसको स्पेलिङ याद हुनुपर्छ, त्यो पढ्छु तर एक पटक पढी वा सुनिसकेपछि त्यसलाई याद गर्न सक्छु,’ उनले भने ।
कृष्ण अगाडिबाट भन्दा पछाडिबाट अझ छिटो र सजिलो तरिकाले बुझ्न सक्छन् । जस्तै- स्टुडेन्ट शब्द उच्चारण गर्दा एसटीयुडीइएनटी भन्दा टीएन्डीडीयुडीएस अझ चाँडो समयमा भन्न सक्छन् । ‘अहिले नै पहिलो पटक सुनेका दुई–चार शब्द पनि यसरी उच्चारण गर्नसक्छु । एक– दुई पटक सुनेर दिमागमा सेट भएका शब्द भयो भने सहज हुन्छ,’ उनले भने ।
कृष्णले यो प्रयास नेपाली शब्दमा पनि गरेका थिए । त्यहाँ पनि सक्छु भन्ने भान भने भएको थियो । तर वर्ल्ड रेकर्ड नेपालीमा गर्छु भन्ने चाहि सोंचेका छैनन् । किनकि त्यसका लागि थुप्रै मापदण्ड मिल्नुपर्ने हुन्छ ।

वर्ल्ड रेकर्डमा यही शब्दमात्र सोधिन्छ र यसको मात्र तयारी गर्नुपर्छ भन्ने हुँदैन । नसुनेका शब्दहरू पनि कहिलेकाँही आइदिन्छन् । २०१३ सालको वर्ल्ड रेकर्डमा नसुनेका शब्द आउँदा केही मिलाउन समस्या भएको अनुभव सुनाए । उनले भने, ‘त्यो बेला चारवटा शब्दमा म लरबरिएको थिएँ । ४० शब्दमा चारवटा बिगारेको थिएँ तर यो पटक तयारी पनि भएर होला मैले सहजै भन्ने सकेको छु, निकै खुसी लागेको छ ।’
कृष्णको सम्झिने तरिका
दिमाग अर्थात् ब्रेन सबैको उस्तै हुन्छ । आफ्नो ब्रेनलाई कति अगाडि बढाउने अर्थात् कति प्रयोगमा ल्याउने भन्ने कुरा व्यक्तिमा भर पर्छ । पाण्डे यो कुरामा दैनिकी, दिनचर्या, व्यक्तिको संगत र खानपिनले पनि निकै फरक पार्ने बताउँछन् ।
कृष्ण खानपिनमा सात्विक खाना खाने गर्छन् भने योगा र ध्यान पनि नियमित गर्छन् । ध्यान र योगाले दिनको सुरुवाती नै फरक हुने उनी बताउँछन् ।
‘म योगा पनि गर्छु, ध्यान पनि गर्छु, आफ्नो खानपानमा पनि ध्यान दिन्छु,’ उनी भन्छन्, ‘म केही अध्ययन गर्दैछु भने ध्यान दिएर पढ्छु, रट्टान गर्ने मेरो बानी छैन ।’
कृष्णका अनुसार कुनै पनि अध्ययन गर्दा ध्यान दिएर गर्नुपर्छ । पढेर हुन्छ कि लेखेर हुन्छ कि सुनेर हुन्छ– जसरी पढ्दा याद गर्न सकिन्छ त्यो गर्ने हो ।

आफूमा कस्तो प्रतिभा छ भन्ने पहिचान कसरी गर्ने भन्ने प्रश्नमा उनी भन्छन्,‘ गीत गाउनेलाई स्वर राम्रो छ भनेर सुन्दा पहिचान गर्न सकिन्छ, नाच्न सक्नेले दुई तीन पटक नाचेपछि थाहा पाउँछ । तर सबै प्रतिभा बाहिर आउन सक्दैनन्, नेपालीहरूमा आफूमा भएको क्षमता बाहिर ल्याउने प्रयास पनि त्यत्ति भएको पाइँदैन । यसका लागि आफूलाई मन लागेका कुरा प्रयास गर्नुपर्छ ।’
कतिपयलाई गितार बजाउने रहर हुन्छ तर प्रयास गर्ने बानी हुँदैन । कतिलाई कविता लेख्न आउँछ तर अल्छी गरेर बस्छन् ।
कृष्ण भन्छन्, ‘यस्ता कुराहरू एक-दुई पटक प्रयास गर्नुपर्छ । भएन भने अर्को चरणमा पुर्याउन सहज हुन्छ । राम्रा र नयाँ कुरा केही देखियो भने त्यसलाई एकपटक प्रयास गर्नुपर्छ, यसो गर्न सकियो भने आफूले के गर्न सक्छु र के गर्न सक्दिनँ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।’
‘मलाई पहिले आफ्नो क्षमता थाहा थिएन, मैले आफ्नै साथी तथा परिवारमा मात्र क्षमता प्रदर्शन गर्थें । तर पछि हैन यो मेरो क्षमता हो, बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो र अहिले यो अवस्था पुगेको हुँ, ’उनले थपे ।
उनी यस्ता कुरामा डराउन र लाज मान्न नहुने बताउँछन् ।
कृष्णले उल्टो शब्द उच्चारणबाट वर्ल्ड रेकर्ड राख्दा धेरै हासोमा उडाएको प्रसंग सुनाए । उनले सामाजिक सञ्जालमा आफूले सेयर गरेको खुसीमा धेरैले उल्टोबाट शब्द उच्चारण गरेको भन्दै मजाक गरेका थिए ।

पहिलो पटक निकै चुनौतीपूर्ण थियो । त्यो बेला सयम धेरै र शब्द कम उच्चारण गर्नुपर्दा केही सहज लागे पनि चुनौतीपूर्ण थियो । तर दोस्रो पटक धेरै मिहिनेत गर्नुपर्यो । उनी भन्छन्, ‘पहिलो रेकर्ड राखिसकेकालाई दोस्रो पटक अझ चुनौतीपूर्ण हुँदो रहेछ । यो पटक पहिलोको भन्दा अझ निकै मिहिनेत गर्नुपर्यो तर सक्छु भन्ने आत्मविश्वास भने थियो।’
सर्टिफिेकट पाउनका लागि दुईवटा तरिका हुन्छन् । हिजो गरेको सबै क्रियाकलापको डकुमेन्टेशन गरेर भेरिफिकेशनको लागि पठाउनुपर्छ । यसका लागि कम्तीमा पनि तीन महिनाजति लाग्छ । यो प्रोसेसको लागि एक्स्ट्रा ६ सय डलर थप खर्च गर्नुपर्छ ।
नयाँ युवाहरूलाई क्षमता चिनाउने अबको योजना
कृष्ण विश्व कीर्तिमानी व्यक्तिमात्र होइनन् । उनी आईटी उद्यमी पनि हुन् । उनका आफ्नै उद्योगहरू छन् । नेपाल र अमेरिकामा रहेका व्यवसाय पनि उनले हेर्दै आएका छन् । त्यो बाहेक वर्ल्ड रेकर्डको काम पनि जारी राखेका छन् ।
कृष्ण व्यवसायी र वर्ल्ड रेकर्ड राखेको व्यक्ति भन्ने थाहा पाएपछि विदेश र नेपालका कलेज विद्यालयले पनि मोटिभेसनल कक्षाका लागि बोलाइरहेका छन् । उनको रुचि पनि यही थियो ।
‘नयाँ युवाहरूलाई आफ्नो मिहिनेत बाहिर ल्याउन सक्नुपर्छ भन्ने चाहना मेरो पनि हो,’ उनी भन्छन्, ‘सबैलाई भगवानले केही न केही फरक क्षमता दिएर पठाएका हुन्छ तर कतिले बाहिर ल्याउन सक्छन् त कतिले सक्दैनन् । हामीले आफूलाई रुचि लागेका विषमा प्रयास गर्दै जाने हो भने कुनै न कुनै बेला क्षमता प्रस्फुरित हुन्छ ।’
योभन्दा बाहेक नेपाललाई विश्वसामु चिनाउन, नेपालको सीपलाई बाहिर लैजान नेपालमा पनि यस्ता व्यक्ति छन् भनेर देखाउनतिर लाग्ने कृष्णको योजना छ । उनले यसका लागि अमेरिकाका विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजनासमेत बनाइसकेका छन् ।
उनी अमेरिकामै बस्छन् । अब नेपाल र अमेरिका दुवै ठाउँमा उत्तिकै सक्रिय रहेर काम गर्ने योजनामा छन् ।