
काठमाडौं । सनराइज बैंक लि. तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् ।
चीनको गान्सु प्रान्तले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पश्चात नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरु अघि बढ्ने बताइएको छ ।
सम्झौता अनुसार विद्यमान नियम र कानूनको परिधिभित्र रही सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सनराइज बैंक लि.को यसअघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको छ ।
साथै, दुई बैंकबीच आपसी कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्य टोली बनाउने पनि सहमति भएको छ ।