
काठमाडौं । कुमारी बैंकको ९ महिनाको नाफा १०० करोड नाघेको छ । बैंकले चालु आर्थिक वर्षको नाफा १ अर्ब ३२ लाख रुपैंया पुर्याएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३६ प्रतिशत बढी हो ।
नाफामा वृद्धिसँगै बैंकको अन्य वित्तीय परिसूचकहरुमा पनि सन्तुलित सुधार आएको छ । रिजर्भको आकार ३७ करोडले बढेर २ अर्ब १६ करोड पुगेको हो ।
त्यस्तै, बैंकको अवितरित नाफाको आकार १ अर्ब ५२ करोडबाट बढेर २ अर्ब १३ करोड पुर्याएको छ यसमध्ये चालु आर्थिक वर्षमै करिब ८५ करोडको बोनस शेयर वितरण हुनेछ ।
बैंकले कस्ट अफ फण्डलाई अघिल्लो वर्षभन्दा ३८ बेसप्वाइन्टले कमी ल्याई ८.२९ प्रतिशतमा झार्दा आधार ब्याजदर ११.०२ प्रतिशतमा झरेको छ यो अघिल्लो वर्ष भन्दा ६० बेसप्वाइन्ट कम हो ।
कस्ट अफ फण्डमा आएको कमीले बैंकको स्प्रेडदर ३.२० बाट बढेर ३.६१ प्रतिशत पुगेको छ ।
बैंकले चैत मसान्तसम्म ६८ अर्ब ८२ करोड निक्षेप संकलन गरी ६९ अर्ब ६० करोड रुपैंया कर्जा प्रवाह गर्दा सीसीडी रेसियो ७८.५९ प्रतिशत रहेको देखिएको छ । पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशतको कसिलो अवस्थामा रहेको बैंकको ८५ करोडको बोनस वितरणपछि यो दर खुकुलो हुनेछ भने सीसीडी अनुपातमा पनि केही सुधार आउनेछ ।
तर निक्षेप संकलन भन्दा कर्जा विस्तार बढी हुने अवस्था सुधार्ने चुनौती भने बैंकलाई छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने अघिल्लो वर्षको तुलनामा बढेर १.२४ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ ।