सेयर बजार बढ्ने क्रम शुरु, यस्ता छन् कारण

  २०७५ भदौ २८ गते १३:३१     विकासन्युज

 

काठमाडौं । ‘ सेयर बजारलाई ९०० अंकमा झार्ने खेल थियो, १ हजार १६५ भन्दा तल झरेन, अहिले घट्दो ब्याजदर, अनलाइन कारोबारको उत्साह, लाभांशको आशले सेयर बजार बढिरहेको छ । र, यो निरन्तर रहन्छ’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको ।

रौनियारले मात्रै होइन अर्का लगानीकर्ता ज्योति दाहालले पनि बजारमा उत्साह थपिएको बताए । ‘सेयर बजारमा उत्साह थपिएको छ, ब्याजदर, लाभांशको आश, समाधान उन्मुख करको सवालले बजार बढाउन मदत गरेको छ’, दाहालले भने ।

उनले नेपाल टेलिकम, एनआईसी एसिया बैंक लगायतका कम्पनीहरुको मूल्य बढेर पनि नेप्से परिसूचकमा प्रभाव परेको बताए । त्यस बाहेक अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय सेयर बजार प्रति देखाएको सकारात्मक चासो, कम मूल्यमा पाइएका सेयरले पनि लगानीकर्तालाई आकर्षित गरेको उनीहरु बताउँछन् । पछिल्लाे समयमा लगानीकर्तामाझ विश्वास पनि बढेको छ ।

‘सेयर बजार घट्नेक्रम रोकियो भन्ने मनोविज्ञान स्थापित भएको छ, सबै कम्पनीले चौथो त्रैमासिकको विवरण पनि प्रकाशित गरिसकेका छन्, अब लाभांश घोषणाको क्रम सुरु हुन्छ, यीनै कारणले बजार बढ्न सघाईरहेको छ’, रौनियारले भने ।

अर्थमन्त्री डा. युवराज खतिवडाले हकप्रद र बोनस सेयरमा लगाईको ७.५ प्रतिशतको कर सम्बन्धी विवाद समाधान गर्न आफु सकारात्मक रहेको लगानीकर्ताहरुलाई बताएका थिए । त्यस बाहेक केहि समयभित्रै पूर्ण अनलाईन सेयर कारोबारले पनि लगानीकर्तामा राम्रो सन्देश दिएको छ ।

‘यतिबेला सेयर बजारमा राम्रो सन्देश गैरहेको छ, लाभांश आउने, करको विवाद समाधान हुने, ब्याज दर घट्ने कुराले लगानीकर्ताहरु उत्साहका साथ सेयर खरिद गर्न आईरहेका छन्, सेयर किन्नेहरुको संख्या ह्वात्तै बढिरहेको छ’, एक जना ब्रोकरले भने । बिहिबार बजार बढेर नेप्से परिसुचक १ हजार १४० अंक नजिक पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.