उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई सरकारले दियो ८ रोपनी घडेरी, बाटो, बत्ति र खानेपानी पनि बनाईदिने

  २०७४ मंसिर १० गते १७:४१     नारायण पौडेल

काठमाडौं । नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उर्लेनीका २४ भूकम्प पीडितका लागि प्रति परिवार २ लाखले दरले ८ रोपनी जमिन किनिदिएको हो ।

सो जमिनमा अब उनीहरुले एकिकृत बस्ती निर्माण गर्नेछन् । त्यसका लागि प्रधिकरणले अतिरिक्त ३ लाख रुपैंयाँ निजी आवास निर्माणका लागि उपलब्ध गराउनेछ । उर्लेनीमा भूकम्पले घर बनाउन नहुने गरि क्षति पुर्याएपछि सरकारले उनीहरुका लागि खरानीटारमा घडेरी किनिदिएको हो ।

२४ परिवारका लागि घडेरी किनिदिएको प्राधिकरणले सो क्षेत्रमा बाटो, बिजुली, खानेपानी र ढलको संरचना समेत निर्माण गरिदिनेछ । ‘भूकम्प पीडितहरुले नै खोजेको जमिन किनिदिएका हौं, अब उनीहरुले निजी आवास अनुदानबाट घर बनाउनेछन, हामी सडक, विद्युत, खानेपानी र ढल लगायतका पुर्वाधार निर्माण गरिदिनेछौं’, प्राधिकरणका नापी अधिकृत कमल घिमिरले विकासन्युजसँग भने ।

उर्लेनीका ७१ परिवार भूकम्प पीडितलाई नयाँ स्थानमा सार्नुपर्ने अध्ययनले देखाएको थियो । बाँकी परिवारलाई पनि खरानीटार आसपासमै जमिनको खोजी भैरहेको पनि घिमिरेले जानकारी दिए । प्राधिकरणले ४८ लाखमा ८ रोपनी जमिन खरिद गरेर पीडितका नाममा नामसारी गरिदिएको हो ।

प्राधिकरणले सडक, पानी, विद्युत र ढल निकासको पुर्वाधार बनाउन प्रति परिवार २ लाखको हाराहारीमा थप लगानी गर्नेछ । एकीकृत वस्ती बिकास सम्बन्धी कार्यबिधी अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ ।

२०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो ।

यी हुन घडेरी पाउने भूकम्प पीडित
लाल बहादुर तामाङ, वुद्धि बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, माइला तामाङ, नर बहादुर तामाङ, माल्सानी तामाङ, हिरालाल तामाङ, डिल्ली बहादुर तामाङ, मान बहादुर तामाङ, लाल बहादुर तामाङ, भिम बहादुर तामाङ, लाल बहादुर थिङ तामाङ, दमाई सिंह तामाङ, इश्वरीमाया तामाङ, निमा थिङ तामाङ, ललितमान तामाङ, मंगल बहादुर तामाङ, पोडे तामाङ, वुदे वाइवा तामाङ, साङमो तामाङ, सुकमान वाइवा तामाङ, फुलमाया तामाङ, माइली तामाङ र रोक्सानी तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.