काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा बढाउने तथा जग्गा अतिक्रमणबाट जोगाउने लक्ष्यसहित उपत्यकाभित्र खाली जग्गामा व्यापारिक कम्पेक्स बनाउने योजना अघि सारेको छ । उपत्यकाभित्र प्राधिकरणको नाममा रहेको खाली जग्गामा ‘प्राधिकरण पूर्वाधार विकास आयोजना’ अन्तर्गत व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
व्यापारिक कम्प्लेक्स बनेपछि हाल भाडामा बसिरहेका प्राधिकरण अन्तर्गतका कम्पनीहरू राखिने छन् । कार्यालय प्रयोजनबाट वाँकी हुन आएको भवन भाडामा लगाउने प्राधिकरणको सोच छ । अहिले प्राधिकरणले गठन गरेका १५ वटा कम्पनीको आफ्नो कार्यालय भवन नभएको पनि उनले जानकारी दिए । त्यतिकै उपयोग विहिन बनेका जग्गाको सहि सदुपयोग गर्दा आम्दानी बढ्नुका साथै आफूले भाडा पनि तिर्न नपर्ने उनको भनाइ छ ।
हाल प्राधिकरणको रत्नपार्कमा ४ रोपनी, लैनचौरमा ५ रोपनी, महाराजगंजमा ३ रोपनी, स्वयम्भुमा ८ रोपनी र लगनखेलमा १० रोपनी जमिन रहेको छ । प्राधिकरणको नाममा रहेका खाली जग्गामा अतिक्रमण बढेकाले प्राधिकरण प्रयोजनाका लागि आवश्यक जमिन छुट्यार बाँकी स्थानमा ठूला पूर्वाधार निर्माण गर्न लागिएको हो ।
प्राधिकरणका अनुसार स्वयंभु, महाराजगंज, लगनखेलमा र रत्नपार्कको खाली जमिनका पहिलो चरणमा कम्प्लेक्स बनाइनेछ भने लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्र खरिपाटीमा सारेर पूर्वाधार खडा गरिने प्राधिकरणले बताएको छ । उपत्यका पछि अन्य जिल्लाको खाली जग्गा पनि उपयोगमा ल्याउने प्राधिकरणले जनाएको छ ।