काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
श्रीमती खुमा पौडेलका श्रीमानको दुर्घटनामा परी निधन भएपछि बैंकमा बीमा दाबी प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले पौडेललाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
बैंकले उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास व्यक्त गरेको छ ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने बैंकको भनाइ छ ।
बैंकका अनुसार यस्ता सुविधाले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्न सहयोग पुर्याउनेछ । साथै, यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ पहुँच विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।