एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्ड एक्वायरिङ सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड एक्वायरिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड स्वीकार गर्ने सेवा सुरु गरेको जनाएको छ ।

बैंकका अनुसार अब नेपालपे कार्डधनीले एनआईसी एशिया बैंकका एटीएम तथा पीओएस टर्मिनलमार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका रुपे लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि बैंकका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपालपे राष्ट्रिय पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको नेपालको राष्ट्रिय कार्ड स्किम हो । यो कार्ड नेपालभित्र राष्ट्रिय पेमेन्ट स्विचमार्फत तथा विदेशमा डिस्कभर नेटवर्कमार्फत प्रयोग गर्न सकिने व्यवस्था छ । यसले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने नेपालपे कार्डको प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

हालसम्म नेपालपे कार्ड प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । तीमध्ये सात संस्थाले कार्ड जारी गरिसकेका छन् भने अन्य ११ संस्थाले एक्वायरिङ सेवा कार्यान्वयन गरिरहेका छन् । आगामी दिनमा यस प्रणालीमा आबद्ध संस्थाको संख्या थप विस्तार हुने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आफ्ना आन्तरिक प्रणाली तथा ग्राहक सेवामा प्रविधिमैत्री सुधार गर्दै आएको जनाएको छ । हाल बैंकले देशभर ३६० भन्दा बढी शाखा, विस्तारित काउन्टर, शाखारहित बैंकिङ सेवा तथा ६०० भन्दा बढी एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

Share News