काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेड, जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेड र ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेका छन् । तीनै कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् ।
ग्रिनप्लाई नेपालले साउन २२ गते बिहान ११ बजे मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभामा जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ ।
यस्तै, जेमिनी रिसाइकलले पनि साउन २२ गते दिउँसो ३ बजे सोही स्थानस्थित रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ ।
त्यसैगरी, मकालु वाइनले साउन २३ गते बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सभा आयोजना गर्ने भएको छ। सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ ।
तीनै कम्पनीले विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनेछन् ।