८ कम्पनी कर परीक्षणको घेरामा, कागजात पेस नगरे एकतर्फी निर्धारण गरिने

काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले विभिन्न ८ वटा कम्पनीमाथि आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षण गर्ने भएको छ । दुवै कार्यालयले तोकिएको समयभित्र आवश्यक कागजात पेस नगरेमा एकतर्फी रूपमा कर निर्धारण गरिने चेतावनीसमेत दिएका छन् र

त्रिपुरेश्वर कार्यालयका अनुसार आमिनुल इन्टरप्राइजेज, एन.जी.एस ट्रेडर्स र लिलामी बजार प्रा.लि.लाई कर परीक्षणका लागि छनोट गरिएको हो । कार्यालयले ती करदातासँग पटक–पटक सम्पर्क प्रयास गरे पनि सम्पर्क हुन नसकेको र केहीले पत्र बुझेर पनि आवश्यक कागजात पेस नगरेको जनाएको छ ।

आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनी व्यवस्था अनुसार सूचना जारी गर्दै कार्यालयले १५ दिनभित्र सम्पूर्ण कारोबारसम्बन्धी कागजात पेस गर्न अन्तिम चेतावनी दिएको छ ।

तोकिएको समयभित्र कागजात पेस नभएमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा एकतर्फी रूपमा कर निर्धारण गरिने र कर परीक्षण प्रक्रियामा ढिलाइ वा असहयोग अब स्वीकार्य नहुने स्पष्ट संकेत गरिएको छ ।

यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पनि आर्थिक वर्ष २०७८/७९ कै कारोबार परीक्षणका लागि छनोट भएका पाँच कम्पनीलाई कागजात पेस गर्न कडा निर्देशन दिएको छ । कार्यालयका अनुसार माइलस्टोन बिल्डर्स, देवकोटा सप्लायर्स, गुरांस इन्टरप्राइजेज, शान्दार निर्माण सेवा र सौरभ इन्टरप्राइजेजलाई कर परीक्षणका लागि छनोट गरिएको छ । 

Share News