काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेबरहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
सोमबार आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिँदा नै प्रक्रिया नमिलेको सर्वोच्चले औंल्याएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नुपर्नेमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति माग गर्दा र प्रदान गर्दा यी कानुनी व्यवस्थाले निर्दिष्ट गरे बमोजिमको विधि र ढाँचा अवलम्बन भएको देखिँदैन। यो अवस्थामा पक्राउ पुर्जी जारी गर्ने अनुमति माग गर्ने र प्रदान गर्ने कार्यमा प्रचलित कानुनको प्रक्रिया अवलम्बन भएको देखिन आएन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।
पक्राउ रोक्न देउवाले वारेशमार्फत रिट दर्ता गरेका थिए । उनले अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको अवस्थासमेत रिटमा उल्लेख गरेका छन् ।
उपचारका लागि विदेशमा रहेका देउवा दम्पतीलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरे पनि इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्नका लागि आवश्यक कागजात पर्याप्त नभएको भन्दै पठाउन भनेको थियो ।
त्यसपछि पनि नेपाल प्रहरीको इन्टरपोल शाखाले थप कागजात पठाएको थियो । इन्टरपोलले भने आवश्यक प्रमाण नपुगेको भन्दै ‘रेड नोटिस’ जारी गर्न अस्वीकार गरेको थियो ।
चुनावअघि हङकङ गएका देउवा दम्पती अझै नेपाल फर्किएका छैनन् ।