काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोको सहकार्यमा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६ : पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (यूए) दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्टरनेटलाई समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विशेषगरी नेपाली भाषा र देवनागरी लिपिमा आधारित डोमेन नेम तथा इमेल ठेगानालाई इन्टरनेट प्रणालीले सहज रूपमा स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।
उद्घाटन कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले ह्याकाथन केवल प्रतिस्पर्धा नभई नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक प्रयास भएको बताइन् । महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्माले प्रविधिलाई भुइँतहसम्म पुर्याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ अपरिहार्य रहेको धारणा राखे ।
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्क सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताइन् । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले मातृभाषामा प्रविधिको प्रयोगले नागरिकलाई सशक्त बनाउने र पहिचान जोगाउने उल्लेख गरे ।
त्यस्तै, आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले आफ्नै भाषा र लिपिमा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको बताए ।
ह्याकाथनको प्राविधिक विधातर्फ ‘टिम एभरेष्ट’ प्रथम भएको छ । निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले देवनागरी लिपिमा आधारित इमेल ठेगाना सिर्जना र प्रयोग गर्न सकिने प्रणाली विकास गरेको जनाएको छ ।
गैर–प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम भएको छ । उक्त टोलीले नेपालमा ‘युनिभर्सल एक्सेप्टेन्स’ अवधारणालाई तल्लो तहसम्म विस्तार गर्न नीतिगत तथा चेतनामूलक योजनाको खाका प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र सम्भावनाबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषामा इमेल र वेबसाइट सञ्चालन गर्न सकिने ‘यूए रेडी’ डिजिटल प्लेटफर्म विकासलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।
क्यान महासंघले यसअघि नै नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल सञ्चालनमा ल्याइसकेको जनाएको छ । कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीको सक्रिय सहभागिता रहेको थियो ।