कामाडौं । सहकारीबाट ऋण लिएर भुक्तानी नगने २०१ ऋणीको नाम सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण भुक्तानी नगर्ने २०१ ठूला ऋणीको नाम सार्वजनिक गरेको हो ।
समितिले २१ वटा सहकारीका २०१ ठूला सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो । उनीहरुलाई छिटो सम्पर्कमा आउन र ऋण भुक्तानी गर्न आग्रह गरिएको छ ।
अहिलेसम्म समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल वित्तीय सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गरेको हो ।
यस्तै, समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्धेष्टमेन्ट कोअपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी र लालिगुराँस बहुउद्देश्यीय सहकारीबाट ऋण लिएका तर भुक्तानी नगरेका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ ।
सहकारीको ऋण नतिर्नेमा १९ वटा कम्पनी पनि रहेका छन् । कृषि विकास बहुउद्धेश्यीय सहकारीबाट ऋण लिएका ८ जना ठूला ऋणी र दुई कम्पनी रहेका छन् । कम्पनीहरुमा समिट हस्पिटल प्रालि र कृषि इन्भेष्टमेन्ट प्रा.लि रहेका छन् ।
पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएर नतिर्ने ठूला ऋणीको सूचीमा मम्ती एग्रिगेट इन्ड्रस्टी, ह्यारियाङ प्रा.लि, फष्र्ट इन्भेष्टमेन्ट, तिमाल बस्ती विकास कम्पनी र एडक्ट रेसिडेन्सी प्रा.लि रहेका छन् ।
स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबाट ऋण लिएको अग्नी एयरले पनि भुक्तानी नगरेको उल्लेख छ । सो कम्पनीको नाममा सुधिर बस्नेतले ऋण लिएको उल्लेख छ । सोही सहकारीबाट स्टाण्डर्ड प्रोपर्टी स्टक हाउसले पनि ऋण लिएर नतिरेको उल्लेख छ ।
यस्तै कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट कान्तिपुर हस्पिटल र एसबी मल्टी प्रपोव प्रा.लिले ऋण लिएर नतिरेको उल्लेख छ । यस्तै, लालिगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबाट अग्नी एयर, श्री लालिगुराँस, एग्रिकल्चर प्रोजेक्ट, अभिनय इन्भेष्टमेन्ट ट्रेडिङ, हेलम्बु कन्स्ट्रक्सन डटकम, भैरवकुण्ड हाइड्रोपावर, वज्र एकेडमी एजुकेसन, लक्ष्मी डेरी उद्योग र अभिन्युज नेटवर्कले ऋण नतिरेको उल्लेख छ ।