काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमार्फत दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको हो ।
केही दिन अगाडि सरकारले जारी गरेको अध्यादेशमार्फत यी विश्वविद्यालयका उपकुलपति स्वतः पदमुक्त भएका थिए ।
छनोट तथा सिफारिस समितिले वैशाख २४ गते स्वीकृत गरेको विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम आवेदन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । मन्त्रालयले सम्बन्धित कार्यविधि पनि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।