काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को हालै सम्पन्न निर्वाचनमा अम्बिका प्रसाद पौडेल एसोसिएट सदस्यमा निर्वाचित भएका छन् ।
एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले १ हजार १९३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
पौडेल तेस्रोपटक महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनी महासंघको कर तथा राजस्व समिति सभापतिको भूमिकामा थिए ।
पौडेल पुँजी बजारका लगानीकर्ताहरूको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष हुन् । उनी बैंक तथा वित्तीय संस्था, जलविद्युत्, निर्माण कम्पनी, पर्यटन तथा उत्पादनमूलक उद्योग क्षेत्रमा समेत सक्रिय रूपमा आबद्ध छन् ।
पौडेलले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे । उनले मतदाताले व्यक्त गरेको विश्वासलाई इमान्दारिता, जिम्मेवारी र परिणाममुखी कार्यमार्फत सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, व्यावसायिक वातावरण सुधार, निजी क्षेत्रको हित संरक्षण तथा समग्र आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने दिशामा आफू दृढता पूर्वक अघि बढ्ने बताए ।
पौडेलले सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै व्यावसायिक हकहितका विषयमा बुलन्द आवाज उठाउने उल्लेख गरे । सम्पूर्ण व्यावसायिक समुदायको आवाजलाई सम्मान गर्दै साझा लक्ष्य हासिल गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।