काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) जारी गर्दै आगामी पाँचदेखि सात वर्षभित्र एक सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिने उल्लेख गरेका छन् । उनले पछिल्लो एक दशकमा देशको अर्थतन्त्र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आगामी पाँचदेखि सात वर्षभित्र प्रति व्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुयाई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने विभिन्न आधारहरू रहेको बताएका हुन् ।
उनले स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्व अभिवृद्धि गर्न सकिने र यसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको श्वेतपत्रमा उल्लेख गरेका छन् ।
उनले जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको उल्लेख गर्दै क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको स्थान सुदृढ गर्ने देखिने बताएका छन् ।
‘प्राकृतिक तथा सांस्कृतिक सम्पदाले उच्च मूल्यमा आधारित पर्यटन विकासको बलियो आधार प्रदान गरेको छ । हिमाली, सांस्कृतिक र समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा रोजगारी र आय सृजना विस्तार गर्न सकिन्छ,’ श्वेतपत्रमा भनिएको छ, ‘पर्यटन पूर्वाधार, सेवा गुणस्तर र गन्तव्य व्यवस्थापन सुधारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुयाउँछ ।’
यस्तै, कृत्रिम बौद्धिकता र रोबोटिक्सको उपयोग तथा डिजिटल प्रविधिको विस्तारसँगै सेवा निर्यात र ज्ञानमा आधारित अर्थतन्त्र विकासको अवसर बढ्दो रहेको उल्लेख गर्दै सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतामार्फत न्यून पुँजीमा उच्च मूल्य अभिवृद्धि गर्ने आर्थिक गतिविधि विस्तार गर्दै युवाशक्ति र साना उद्यमलाई विश्व बजारसँग जोडिने सम्भावना उच्च रहेको पनि बताएका छन् ।
श्वेतपत्रमा कृषि क्षेत्रको आधुनिकीकरणमार्फत् उत्पादन, आय र निर्यात विस्तारको सम्भावना रहेको उल्लेख छ । उच्च मूल्यका बाली, पशुपालन, बगैंचा तथा कृषि प्रशोधन उद्योगमा लगानीमार्फत उत्पादकत्व वृद्धि र आयात प्रतिस्थापन गर्न सकिन्छ । भौगोलिक विविधताको उपयोगले क्षेत्रविशेष उत्पादन र ग्रामीण उद्योग विकासलाई टेवा पुयाउन सकिने अवसर रहेको उल्लेख श्वेतपत्रमा छ ।
यस्तै, औद्योगिक विकास र आपूर्ति शृङ्खला सुदृढीकरणमार्फत् निर्यातउन्मुख उत्पादन विस्तार गर्ने सम्भावना रहेको बताउँदै उनले विशेष आर्थिक क्षेत्र, औद्योगिक क्लस्टर र व्यापार सहजीकरणका उपायहरू मार्फत उत्पादन लागत घटाउँदै प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने र भौगोलिक अवस्थाको लाभ उठाउँदै क्षेत्रीय ट्रान्जिट ट्रेड हब बन्ने सम्भावना पनि उत्तिकै रहेको उल्लेख गरेका छन् ।
‘व्यवस्थित शहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र रोजगारी सृजनामा सकारात्मक योगद पुरÞ्याउन सक्छ, यातायात, ऊर्जा, सिँचाइ तथा डिजिटल पूर्वाधार विस्तारले उत्पादन र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गर्नेछ,’ श्वेतपत्रमा भनिएको छ, ‘सार्वजनिक–निजी साझेदारीमार्फत् ठूला आयोजना कार्यान्वयन गर्ने अवसर प्रबल छ ।’
यस्तै, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्ने सम्भावना रहेको बताउँदै वैदेशिक आम्दानीलाई उद्यमशीलता, सीप विकास र लगानीतर्फ मोड्न सके घरेलु अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिने र प्रवासी नेपाली एवं वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई स्वदेशी उत्पादन तथा सेवा क्षेत्रमा उपयोग गर्न सकिने अवस्था रहेको उल्लेख गरेका छन् ।
वित्तीय क्षेत्र सुदृढीकरणले लगानी विस्तार र आर्थिक विविधीकरणलाई टेवा दिन सक्ने उल्लेख गर्दै वित्तीय समावेशीकरण, डिजिटल वित्तीय सेवा र दीर्घकालीन लगानीका उपकरणहरूको प्रयोगले उपलब्ध बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सहयोग पुयाउँने श्वेतपत्रमा लेखिएको छ ।
जैविक र पर्यावरणीय सन्तुलन कायम गर्दै मुलुकभित्र उपलब्ध खनिज, जल, जमीन, कबत प्रचुर उपयोगमार्फत् आय, उत्पादन र रोजगारी बढाउने, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, सेवा प्रवाह अभिवृद्धि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमार्फत् विकास परिणाम सुधार गर्न सकिने विषय पनि श्वेतपत्रमा सम्भावना र अवसरका रुपमा चित्रण गरिएको छ ।
अर्थमन्त्री वाग्लेले विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुरÞ्याउने, राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गर्ने लगायतका पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भ आर्थिक वृद्धिमा तीव्रता आउने उल्लेख गरेका छन् ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने, पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि हुने र कृत्रिम बौद्धिकता उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने श्वेतपत्रमा उल्लेख गरेका छन् ।