काठमाडौं । काठमाडौंका घरधनीले घरभाडामा बस्नेहरूसँग उनीहरूको प्रहरी रिपोर्ट माग्न थालेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपराध नहोस् र भइहालेमा त्यस्ता व्यक्तिको पहिचान गर्न सहज होस् भनेर घरभाडामा बस्नेलाई प्रहरी रिपोर्ट माग्न अनुरोध गरेको थियो ।
प्रहरीले घरभाडामा बस्नेको प्रहरी रिपोर्ट चाहिने बताएपछि काठमाडौंका घरधनी भाडामा बस्नेसँग रिपोर्ट माग्न थालेका हुन् ।
घरभाडामा बसेकाहरूलाई घरधनीले प्रहरी रिपोर्ट माग्न थालेको रविभवनमा बस्दै आएकी कल्पना बस्नेतले जानकारी दिइन् ।
‘प्रहरीले पुलिस रिपोर्ट माग्न थालेको छ । काठमाडौंका घरमा बस्न पनि कस्ताकस्ता नियम आउन थाले । अब रिपोर्ट बनाउन पर्ने भएको छ,’ उनले भनिन् । कल्पना उक्त घरमा बसेको एक वर्ष भयो । उनका अनुसार यसअघि घरधनीले कहिल्यै पुलिस रिपोर्ट मागेको थिएनन् ।
बल्खु निवासी केशव पाण्डेले प्रहरीले फोन गरेर घरभाडामा को–को बस्छन् भनेर प्रश्न गर्न थालेको बताए । घरभाडामा बस्नेहरूको तथ्यांक माग गरेको उनले जानकारी दिए ।
प्रहरीको नियमित पक्रिया अन्तर्गत घरभाडामा बस्नेको रेकर्ड माग गरिएको उनको भनाइ छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रहरी रिपोर्ट माग्न थालिएको जानकारी दिए ।
‘एउटै घरमा डेरामा बसेको चार/पाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्यो भने घरधनीलाई सोधपुछ गर्दा केही पनि थाहा हुँदैन,’ एसपी भट्टराईले भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं ।’
यसरी बनाउन सकिन्छ पुलिस रिपोर्ट
घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले रिपोर्ट बनाउन सक्ने प्रहरीले जनाएको छ । नेपाल प्रहरीले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरेको हो।
विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । नेपाल प्रहरीको वेबसाइट र नागरिक एपबाट सेवाग्राहीले यसका लागि जुनसुकै ठाउँबाट अनलाइन फाराम भर्न सक्छन् ।
स्वदेशमा भएका नेपाली नागरिकले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाहदर्ताको स्क्यान कपी र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो समावेश गर्नुपर्ने हुन्छ ।
यसैगरी विदेशमा रहेका नेपाली नागरिकको हकमा राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको नेपाल अध्यागमन डिपार्चर स्ट्याम्प भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपी र हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो समावेश गर्नुपर्ने हुन्छ ।
आवश्यक कागजात सहितको निवेदन पेस गरेको केही घण्टामै प्रक्रिया पूरा भएपछि निवेदककै युजर आईडीमा प्रहरी रिपोर्ट पठाइने व्यवस्था मिलाइएको छ । सेवाग्राहीको आवेदन विवरण ठीक नभएमा, संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्दा चलेको व्यक्ति एकै हो वा होइन भन्ने यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएमा थप केही समय लाग्न सक्छ ।
प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दै आएको छ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत रहेको छ ।