चोरीको ‘इपिसेन्टर’ बन्दै काठमाडौं, जेनजी आन्दोलनपछि घर-घरमा पस्न थाले चोर

जेनजी आन्दोलनमा फरार भएका कैदी चोरीमा सक्रिय

तस्बिर एआईको सहयोगले बनाइएको हो ।

घटना १- गत मंसिर २४ गते सिनामंगलस्थित राज श्री फाइनान्सबाट करिब पौने १ बजे रातको समयमा १० लाख २३ हजार ५ सय रुपैयाँ चोरी भयो । मंसिरकै २६ गते सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डमा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्समा पनि चोरी भयो । 

घटनालगत्तै काठमाडौंका २ ठाउँमा चोरी गरेको आरोपमा नुवाकोट, बेलकोट नगरपालिका ९ का ठमेल बस्ने दीपक गजुरेललाई प्रहरीले २६ गते नै नियन्त्रणमा लियो । उनीविरुद्ध सहकारी चोरी,  चोरी र लागुऔषध तथा अभद्र व्यवहार मुद्दा शीर्षकमा २२ वटा मुद्दा दर्ता भएको थियो । गजुरेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा फरार भएका कैदी थिए ।

घटना २- पुस १२ गते काठमाडौंको बालुवाटारमा रहेको स्टोर्म नेटवर्कमा चोरी भयो । त्यहाँबाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ चोरी भएको थियो । सोही दिन इको भ्याली प्रालिबाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी भयो । प्रहरीले खोजी गर्ने क्रममा दुर्गाबहादुर केसीलाई ६५ लाख १७ हजार १४० रुपैयाँसहित नियन्त्रणमा लियो । दाङ तुलसीपुर उपमहानगरपालिका ६ का उनलाई दाङ प्रहरीको समन्वयमा प्रहरीले पक्राउ गर्यो ।

घटना ३- पुस १ गते तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट दुई लाख ९१ हजार रुपैयाँ, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट तीन लाख ७७ हजार रुपैयाँ भयो । काठमाडौं महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्यापटप एक थान गरी करिब सात लाख ४० हजार रुपैयाँ बराबरको चोरी भएको थियो ।

केही साताअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा पनि चोरी भयो । उनको घरमा चोरी गर्नेका मुख्य योजनाकार नख्खु कारागारबाट फरार रहेका कैदी थिए । काठमाडौं-१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । नख्खु कारागारबाट भागेपछि उनी पाँचवटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

काठमाडौंमा अत्यधिक मात्रामा चोरीको घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । साउनदेखि पुससम्म मात्र काठमाडौंमा चोरी सम्बन्धी शीर्षकमा ४८४ मुद्दा दर्ता भएका छन् । प्रहरीले सोही अवधिमा मात्र ६८४ जनालाई पक्राउ गरिसकेको छ ।

डाका चोरीमा २५, साधारण चोरी ४०८, सवारी चोरी ४८ र चोरी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको छ । डाका चोरीमा ४९,  साधारण चोरी ५७०, सवारी चोरी ६२ र चोरी उद्योगमा ३ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

काठमाडौं प्रहरी परिसरको तथ्यांक अनुसार बर्सेनि चोरीको घटना बढ्दै गएका छन् । पाँच आर्थिक वर्षमा मात्र जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ हजार २८८ चोरी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४३२ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा ४६०, २०७९/०८० मा ६५१, २०८०/०८१ मा ७९४ र २०८१/०८२ मा ९५१ वटा चोरीका मुद्दा दर्ता भएको थिए ।

null

पछिल्लो केही महिनायता काठमाडौं लगायत विभिन्न ठाउँमा चोरीको घटना बढ्दै गएका छन् । दिउँसो र रातको समयमा पारेर मानिसहरूका घर–घरमा चोरी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

चोरी गर्नेको समूहहरूले हातहतियारसहित घर फोर्न जाने गरेका छन् । अझ बाटामा हिँडिरहेका मानिसलाई कुटपिट गरेर लुट्ने गरेका छन् । गन्तव्यमा गइरहेकाहरूलाई र आफ्नो व्यवसाय गरेर फर्केकालाई समेत मोटरसाइकलमा गएर लुटपाट गर्नेहरू सक्रिय भएका छन् ।

अझ विशेषगरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकामा चोरीका घटना बढेका हुन् । कारागारबाट फरार भएका कैदीहरू चोरीमा संलग्न पाइएको प्रहरी अनुसन्धानबाट खुलेको परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । 

पछिल्लो समय काठमाडौंमा चोरी घटना बढ्दा कारागारबाट भागेका कैदीबन्दीहरू रहेका छन् । विभिन्न समयमा चोरी जस्ता जघन्य अपराध गरेर कैद भुक्तान गरेर सामान्य जीवनमा फर्केकाहरू संलग्न छन् । कैद भुक्तान गरिसकेका तथा कारागार पुग्नुअघि पुराना काममा अभ्यस्त भइसकेकाहरू काठमाडौंमा चोरीको घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

null

सहरीकरण बढ्दा असामाजिक व्यवहार बढ्दै 

चोरी अपराधमा सजाय कम हुनाले मानिसहरू यस्ता गलत कर्ममा लाग्ने गरेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन् । पुराना अपराध कर्म गर्नेहरू चोरी कार्यमा संलग्न रहने गरेको उनको भनाइ छ ।

‘सजाय भुक्तान गरेर बाहिर निस्केकाहरूलाई नयाँ कर्म नसक्ने र नआउने भएकाले पुरानो काममा फर्कन्छन्,’ मल्ल भन्छन्,’ काठमाडौं सहर ठूलो भएकाले तथा धनी मानिस बस्ने र धेरै समय कोठामा मानिस बस्दैनन् । मानिसहरू काम गर्न जान्छन र चाबीको भरमा कोठा छोड्ने भएकाले चोरका लागि सहर सहज बनेको छ । चोरले काठमाडौंलाई चोरीको इपिसेन्टर मान्ने गरेका छन् ।’

छिमेकमा मानिसहरू सामाजिक नहुने र एकअर्काबीच बोलचाल नहुनाले घरमा को आयो गयो वास्ता नहुने भएकाले को चोर हो भनेर पहिचान गर्न नसकिने मल्लले बताए । समाजमा चोरी हुनासाथ प्रहरीको सक्रियता बढ्ने गरेको उनको भनाइ छ ।

‘किनभने एकजना मानिसको चोरी हुनु भनेको उसको वर्षभरिको कमाइ सकिने गर्छ । समाज वरिपरिका मानिस आफ्नो घरमा चोरी हुन्छ भनेर सचेत हुन्छन्,’ ठकुरीले भने ।

समाजभित्रका सामाजिक संरचनाले मानिसका इच्छा र आकांक्षा पूरा हुन नदिएपछि विचलित हुने गरेको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । समाज रूपान्तरण हुने बेला समाजले संक्रमण भोग्ने हुँदा समाजले फरक-फरक स्वरूप देखाउने गरेको उनको बुझाइ छ ।

‘मानिस विचलित हुँदा आफ्ना इच्छा तथा आकांक्षा पुरा गर्न चोरी कार्यमा संलग्न हुने गरेका छन्,’  समाजशास्त्री गौतम भन्छन्,’ पैसा र धन प्रधान मानिने समाजमा मानिसहरू चोरी गर्छन् ।’

समाजमा विचलित भएपछि समाजले कानुन र नियमको परिधिमा नबस्ने गौतमको भनाइ छ । चोरी गर्नेहरू समाजबाट विचलित भएका र आफूलाई कानुनभन्दा माथि सोच्ने भएकाले चोरी गर्ने गरेको उनले उल्लेख गरे ।

पुँजीवादी बजार र समाजको विकास हुँदा मानिसहरू नयाँ–नयाँ कुराको खोजी गर्ने गरेको गौतमले बताए । समाज रुपान्तरण हुन थालेपछि समाज र मानिसले फरक–फरक व्यवहार गर्ने गरेको उनको बुझाइ छ । विद्यमान मानिसहरूले सामाजिक मूल्य मान्यतालाई नस्वीकार्नेहरू चोरी कर्ममा लाग्ने गरेको उनले बताए ।

पटके चोरी बढ्दै

वार्षिक तथ्यांकले चोरीको घटना बढेको मान्न सकिने परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन् । स–साना चोरीका घटना बढिरहेको उनको भनाइ छ । 

अपराधका विभिन्न स्वरूप हुने गरेको प्रवक्ता भट्टराई बताउँछन् । ‘चोरीको घटनामा पटके अपराधमा मुछिएका हुन्छन्,’ उनले भने, ‘उनीहरू पुरानो काममा फर्कने गरेको पाइएको छ । दुई–तीन वर्षसम्म कारागार बसेर निस्केकाहरू चोरीका घटना संलग्न रहेका छन् ।’ 

अपराधको विभिन्न स्वरूपहरू हुने गरेको उनले प्रस्ट पारे । प्रहरीको अनुसन्धानबाट लुगा चोर्नेले लुगा चोर्ने र सुनचाँदी चोर्नेले सुनचाँदी मात्र चोर्ने गरेको उनको भनाइ छ । चोरी गर्नेले सधैंभरि एकैनासको मात्र चोरी गर्ने गरेको उनले बताए । 

उनका अनुसार चोरी कार्यमा बढीजसो १३ देखि ६५ वर्ष उमेर समूहका पुरुषहरू संलग्न छन् । चोरी अपराधमा अधिकांश युवाहरू हुन्छन् । विवाहित र अविवाहित दुवै खालका मानिसहरू चोरी कार्यमा रहने गरेका छन् । 

चोरीबाट बच्न के गर्ने ?

मानिस कहीँकतै जानुपर्ने भएमा घर पूर्णरुपमा खाली गरेर नजान तथा जानैपर्ने भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने सुझाव प्रहरीको छ । रातको समयमा झ्याल, ढोका राम्रोसँग बन्द गर्न र  महँगा गरगहना लगाएर एक्लै नहिँड्न पनि प्रहरीको सुझाव छ । 

प्रहरीले नचिनेको मान्छेलाई फोन नदिन पनि सल्लाह दिएको छ । सरकारी कार्यालय र बैंक वित्तीय संघ संस्थाहरूमा काम विशेषले जाँदा सवारीसाधन सुरक्षित ठाउँमा पार्किङ गरी सुरक्षा गार्डलाई जानकारी गराउनुपर्ने सुझाव पनि प्रहरीको छ । 

प्रहरीका अनुसार जथाभावी सवारीसाधन पार्किङ नगर्न, पार्किङ गर्दा ह्विल लक, साइरन प्रयोग गर्न, रातको समयमा अध्याँरो गल्लीमा पार्किङ नगर्न तथा बैंक तथा वित्तीय संस्थाका सुरक्षा गार्डलाई सीसी क्यामेराको अगाडि राख्न लगायत सुझाव दिएको छ । 

Share News