‘राष्ट्रिय झण्डा’ आढेर भोट माग्ने प्रवृत्ति बढ्दो, ‘ओढ्ने कपडा’ होइन झण्डा

आचारसंहिता विपरीत भए कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अभियान गत सोमबार मधेशबाट सुरु गरेको छ । रास्वपाले आयोजना गरेको उक्त सभामा घण्टी चिन्ह अंकित झण्डाहरू बाक्लै रूपमा देखिनु स्वाभाविकै थियो ।

सभामा अन्तिम वक्ताका रूपमा सभापति रवि लामिछाने मञ्चमा उक्लिए । तर, उनले सम्बोधन गर्न थालेका बेला उनको काँधमा पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा  थियो ।

राष्ट्रिय झण्डा देखाएर दलको झण्डालाई अगाडि ल्याउने कसरतमा सभापति लामिछानेसहित रास्वपा लागिसकेको छ । यो दृश्यले रास्वपा आफ्नो दलगत पहिचानभन्दा माथि राष्ट्रिय भावनालाई अगाडि ल्याउने रणनीतिमा जुटिसकेको बुझिन्छ ।

null

जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति रवि लामिछाने ।

लामिछानेले सभामा झण्डा ओढेर भन्दै थिए, ‘राष्ट्रिय झण्डालाई देखाएर रास्वपाको घण्टीमार्फत संसदमा छिर्नेछु ।’ यद्यपि रास्वपा २०७९ को प्रतिनिधिसभामार्फत संसद प्रवेश गरिसकेको छ ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले गत स्थानीय निर्वाचनमा चुनावी प्रचार-प्रसारमा राष्ट्रिय झण्डाको प्रयोग निकै नै गरे । उनी मतदाताको घरदैलोमै काँधमा राष्ट्रिय झण्डा भिरेर पुग्ने गर्थे । झण्डा देखाएर मत माग्ने गर्थे । चुनावी नारा घन्काउँदै सडकमा होस् या मत माग्दा होस् उनको काँधबाट राष्ट्रिय झण्डा कहिल्यै हटेन । 

सडकमा भेटिएका मतदातालाई पनि साम्पाङले राष्ट्रिय झण्डा ओढेर मत माग्थे । राष्ट्रिय झण्डालाई भरपूर उपयोग गरेर उनी विजयी भए । 

स्वतन्त्र उम्मेदवारबाट मेयरमा उदाएका साम्पाङ दलीय राजनीतिमा होमिए । उनले निर्वाचन आयोगबाट माटो चिन्हबाट श्रम संस्कृति पार्टी दल दर्ता गराए । 

अझ रोचक पक्ष के थियो भने उनले दल दर्ताको प्रमाणपत्र लिँदा पनि राष्ट्रिय झण्डा ओढेका थिए । उनको विभिन्न चुनावी सभामा राष्ट्रिय झण्डा देख्न सकिन्छ । उनका समर्थकहरू पनि पार्टी झण्डाभन्दा पनि राष्ट्रिय झण्डा बोकेर सभामा पुग्ने गरेका छन्।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेन्द्र शाह (बालेन)ले मतदातासँग मत माग्न जाँदा राष्ट्रिय झण्डा ओढेर हिँड्ने गर्थे । अहिले भने उनी मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् ।

null

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि भोट माग्दै गरेका बालेन ।
 

हाल बालेन रास्वपामा प्रवेश गरी झापा– ५ बाट मनोनयन दर्ता गराइसकेका छन् । 

यसपटक पनि बालेनले झण्डा छाडेनन् । रास्वपाको पहिलो मधेश सभामा सार्वजनिक हुँदा राष्ट्रिय झण्डा बोकेरै उनले मैथिली भाषामा मन्तव्य राखे । शनिबार तेह्रथुमको बसन्तपुरमा पुगेका उनले राष्ट्रिय झण्डा बोकेको देखिएको छ । 

null

त्यस्तै, २०७९ को निर्वाचनमा डडेलधुरा पुगेर नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकालले त्यसबेला पनि आफ्ना चुनावी गतिविधिमा राष्ट्रिय झण्डाको व्यापक प्रयोग गरेका थिए । यही अभ्यासलाई उनले यस पटकको निर्वाचनमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी दर्तादेखि लिएर मतदातासँग मत माग्ने कार्यक्रमसम्म उनले राष्ट्रिय झण्डाको प्रयोग छाडेका छैनन् ।

null

उम्मेदवारी दर्ता गराउँदै सागर ढकाल ।

उनी यसपटक गुल्मी– १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धामा छन्।

अहिले मुलुकमा निर्वाचनको तापक्रम बढ्दै गएको छ । विभिन्न राजनीतिक दलहरू सभा सम्मेलनमा व्यस्त देखिन्छन् । दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । धेरैले दलकै झण्डा प्रयोग गरेका छन् भने केही उम्मेदवारले राष्ट्रिय झण्डा ओढेर मतदातासँग संवाद गरिरहेका छन् । 

राष्ट्रिय झण्डा राजनीति दलको सभा सम्मेलन तथा उम्मेदवारले प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक रूपमा विरोध हुन थालेको छ । गरिमा बोकेको राष्ट्रिय झण्डा राजनीति दलको कार्यक्रममा प्रयोग गरिनु कति उचित कति अनुचित भनेर सार्वजनिक रूपमा बहस हुन थालेको हो ।

दलहरूका कार्यक्रममा वा आगजनी तथा तोडफोडमा राष्ट्रिय झण्डा प्रयोग हुनुले झण्डाको सम्मानभन्दा पनि अपमान गरेको जस्तो अनुभव हुन थालेको बहस सामाजिक सञ्जालमा सुरु भइसकेको छ । 

राष्ट्रिय झण्डाको छुट्टै महत्त्व हुने हुनाले यसलाई जहाँसुकै प्रयोग गर्न हुँदैन भन्ने मान्यता रहँदै धेरैको छ ।

सडकमा राष्ट्रिय झण्डाको सहारा लिएर संसदमा पुग्ने वा शक्ति बटुल्ने माध्यम बन्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा अधिकांशले राष्ट्रिय झण्डा काँधमा राखेका थिए ।

झण्डा ओढ्ने कपडा होइन 

राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुन थालेको संविधानविद डा। भीमार्जुन आचार्य बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् ।’

राष्ट्रिय झण्डाको प्रयोग तत्काल बन्द गर्न उनले माग गरेका छन् । राष्ट्रिय झण्डा ओढ्ने ‘कपडा’ नभएको उनको तर्क छ ।

राष्ट्रिय झण्डा ओढेर आगजनी तथा तोडफोड गर्ने कार्यमा सहभागी हुन नहुने पत्रकार तीर्थ कोइराला बताउँछन् । 

जुनसुकै दलका कार्यक्रम सभा वा सम्मेलनमा झण्डा राखेर कार्यक्रम गर्नुलाई स्वाभाविक मान्नुपर्ने उनको भनाइ छ ।

‘राजनीतिक दलका कार्यक्रममा राष्ट्रिय झण्डा लिएर सहभागी हुनु भनेको झण्डाको दुरुपयोग गर्नु हो,’ कोइरालाले भने ।

यसैगरी, अधिवक्ता टीकाराम भट्टराई राष्ट्रिय झण्डाको प्रयोग व्यक्तिगत स्वार्थका लागि प्रयोगमा ल्याइनुलाई राष्ट्र विरुद्धधको अपराध मान्न सकिने बताउँछन् ।

राष्ट्रिय झण्डा ओढेर नकरात्मक कार्य गर्नुलाई पूर्ण रूपमा अपराध मान्न सकिने उनको बुझाइ छ ।

‘राष्ट्रिय झण्डा ओढेर उम्मेदवारले मत माग्दै हिँड्न भएन । यसरी मत माग्नुलाई व्यक्तिगत स्वार्थको रूपमा लिइन्छ । यसलाई अपराध मान्न सकिन्छ,’ भट्टराई भन्छन्, ‘सामूहिक रूपमा सकारात्मक कार्यका लागि भने राजनीतिक दलका झण्डा र राष्ट्रिय झण्डा प्रयोग गर्ने भएमा त्यसले खासै असर पार्दैन ।’

सरकारले राष्ट्रिय झण्डाको सदुपयोग र राम्रो कामको लागि मात्र प्रयोगमा ल्याउन अनुरोध गर्न भट्टराईले सुझाए । राष्ट्रिय झण्डाको महिमा वा गरिमा बुझाउन राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय झण्डा प्रयोग सम्बन्धमा छुट्टै प्रयोगविधि रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले बताउँछन् । उनले झण्डा प्रयोग सम्बन्धीमा विधि सार्वजनिक गरेको उनले जानकारी दिए ।

आचारसंहिता विपरीत भए कारबाही

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले राष्ट्रिय झण्डा दुरूपयोग भएको विषयलाई नजिकबाट हेरिरहेको जानकारी दिए । उनले निर्वाचन निर्वाचन आचारसंहितालाई ध्यान दिएर काम गर्न सरोकार पक्षलाई आग्रह गरेका छन् ।

सबैले राष्ट्रिय झण्डाको मर्यादा पालना गर्नलाई उनले सुझाव दिए । आचार संहिता अनुसार भएन भने कारबाही गरिने भट्टराईले बताए । 

‘अहिलेसम्म झण्डाहरूको विषयमा कुनै पनि उजुरी आएको छैन,’ उनले भने ।

झण्डाको प्रयोगविधिमा के व्यवस्था छ ?

राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न तथा गराउन पाइँदैन । चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक ब्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन । मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

Share News