ह्याट्रिकका लागि तम्सिएका अमरेशसँग गगनको लडाइँ

मत विश्लेषणसँगै सबल र कमजोर पक्षको चिरफार

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा-५ पछि बढी चर्चामा भएको क्षेत्र हो सर्लाही-४ । जहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंह, नेकपा एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिश राय यादवबीच प्रतिस्पर्धा हुँदैछ । एमाले र नेकपाका उम्मेदवारको खासै चर्चा र चासो नभए पनि यस क्षेत्रमा मुख्य दाबेदार र प्रतिस्पर्धीका रुपमा थापा र सिंहलाई हेरिएको छ । 

नेपाली कांग्रेसजस्तो देशको ठूलो पार्टीका सभापति प्रतिस्पर्धा गर्ने क्षेत्र भएकोले पनि सर्लाही-४ अहिले बढी चर्चामा छ । विगतमा आफू चुनाव लड्दै आएको काठमाडौं-४ लाई छोडेर गगन सर्लाही-४ पुग्नुलाई धेरैले आश्चर्य, संशय र सहस्यपूर्ण विषयका रूपमा लिएका छन् । यद्यपि उनको प्रवेशले पनि सर्लाही-४ को माहोल गर्मराएको छ । 

यसअघि दुई पटक सोही क्षेत्रबाट जितेर लोकप्रिय नेताको छवि निर्माण गरिसकेका अमरेशकुमार जितको ह्याट्रिक गर्ने दाउमा रहेको बेला सोही क्षेत्रमा गगनको प्रवेशले मधेशमात्रै होइन, देशको राजनीतिक माहोल पनि तातेको हो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर गगनलाई सर्लाही-४ मा उम्मेदवार बनाएको छ । रास्वपाले सर्लाही-४ जित्नै पर्ने रणनीतिका साथ अमरेशकुमारलाई अगाडि बढाएको छ । 

nullअमरेश सो क्षेत्रमा पराजित भएको खण्डमा रास्वपाले एक थान सांसद गुमाउने छ । तर, गगनको पराजयले भने सिंगो नेपाली कांग्रेस, गगन थापा र भावी प्रधानमन्त्रीको उम्मेदवारको पराजय हुनेछ । यसले गगनको राजनीतिक जीवनमा पनि ठूलो धक्कामात्रै लाग्ने छैन, नेपाली कांग्रेसको आगामी राजनीतिक रणनीति पनि असफल हुने अनुमान लगाउन सकिन्छ । 

यस्तो छ मत विश्लेषण

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १-४ र १३-१५, विष्णु गाउँपालिकाको वडा नं. १-४ र बासबरिया गाउँपालिकाको वडा नं. १-३ समेटिएको छ । यो क्षेत्रमा कुल एक लाख २१ हजार बढी मतदाता छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ अर्थात् कुल खसेको मतको २८.८८ प्रतिशत मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए ।

अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले पनि १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । अन्य मधेशवादी दलले भने ५ हजारको हाराहारीमा मत पाएका थिए । २०७९ को चुनावमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले भने १७० मत पाएका थिए ।

यो क्षेत्र राजनीतिक रूपमा चलाख भएको मतदाताको मतदानबाट पनि स्पष्ट हुन्छ । लामो समयदेखि राजनीतिक संगठन बनाएर क्रियाशील राजनीतिक दलको अघि दुई स्वतन्त्र उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७९ मा सो क्षेत्रमा कुल ६९ हजार २८३ मत खसेको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार अमेरशकुमार सिंह निर्वाचित भएका थिए । उनले २९ हजार ६७५ मत प्राप्त गर्दा राष्ट्रिय जनता पार्टी नेपालका राकेशकुमार मिश्रले २८ हजार १३६ मत पाएका थिए । अन्य दल तथा उम्मेदवारले ५०० मत पनि कटाउन सकेका थिएनन् । २०७४ र २०७९ को निर्वाचनमा पार्टीबाट र स्वतन्त्र भएर पनि अमरेश कुमार सिंहले नै विजयी हासिल गर्नुले उनको त्यहाँका मतदातासँग राम्रो सम्बन्ध रहेको र उनलाई मतदाताले पनि पत्याएको पनि बुझ्न कठिन छैन । 

२०७४ को संविधान सभा निर्वाचनमा भने सो क्षेत्रमा तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार महेन्द्र राय यादव विजयी भएका थिए । त्यतिखेर नेपाली कांग्रेसका उम्मेदवारले सो क्षेत्रमा २ हजार ६०५ मतमात्रै प्राप्त गरेको थियो । २०६४ को संविधान सभा निर्वाचनमा सद्भावना पार्टीका राजेन्द्र महतो १७ हजार ७३ मतले विजयी भएका थिए । त्यतिखेर सो क्षेत्रमा नेपाली कांग्रेसले ४ हजार २०७ मत मात्रै प्राप्त गरेको थियो । 

अघिल्ला निर्वाचन र ती निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको मतलाई विश्लेषण गर्ने हो भने प्रत्येक निर्वाचनमा कांग्रेसले मत बढाउँदै लगेको देखिन्छ । तर, कांग्रेसले प्रत्येक पटक स्थानीय नेतालाई नै उम्मेदवारका रूपमा उठाएको छ । २०७४ मा कांग्रेसबाट जितिसकेका अमरेश कुमार २०७९ मा स्वतन्त्रबाट उठ्दा र कांग्रेसको आधिकारिक उम्मेदवारसहित तत्कालीन सरकारमा भएको दलले पनि कांग्रेसलाई सहयोग गर्दा कांग्रेस त्यहाँ पराजित हुन पुग्यो । अमरेशले नै बाजी मारे । यसले अमरेश व्यक्तिगत र सांगठनिक रुपमा पनि सर्लाही-४ मा बलियो उम्मेदवारका रूपमा हेरिएका छन् ।

म यहाँका जनताको सुख दु:खमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ ।

अहिले रास्वपाले बोलेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपाले पहिलो पटक देशमा मधेशको छोरा प्रधानमन्त्री बन्ने नारा लगाएको छ । रास्वपाले जनकपुरमा उद्घोषसभा गर्दा सर्वसाधारणको ठूलो भीड उपस्थित थियो । बढ्दै गइरहेको रास्वपाको क्रेज, अमरेशको व्यक्तिगत मत र प्रभाव र बालेन प्रधानमन्त्री बन्ने लगायत एजेण्डाले अमरेश जित्न सक्ने आधार बलियो बन्दै गएको छ । 

रास्वपाका उम्मेदवार सिंहले मधेशकै छोरा प्रधानमन्त्रीको उम्मेदवार रहेको र आफूले पनि राम्रो काम गरेकोले आफ्नो जित सुनिश्चित रहेको सुनाए । ‘म यहाँका जनताको सुखदुखमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ,’ उनले भने । 

कांग्रेसको गढमा गगनको रणनीति

सर्लाही-४ नेपाली कांग्रेसको गढका रुपमा चिनिँदै आएको छ । विगतका निर्वाचन हेर्दा मधेशबाट कांग्रेसले धेरै सिट जित्ने गरेको थियो । २०४८ सालको आमनिर्वाचनमा अहिलेको मधेश प्रदेशमा पर्ने आठ जिल्लाका ३७ क्षेत्रमध्ये कांग्रेसले २८ सिट जितेको थियो । कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले यहाँबाट तीन पटक विजयी हासिल गरेका थिए । 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस मधेशमा सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले तीन लाख ७२ हजार ७३४ मत पाएको थियो भने दोस्रोमा रहेको एमालेले तीन लाख २३ हजार ४२ मत पाएको थियो । सर्लाही-४ मा मात्रै पनि कांग्रेस समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याउने पार्टी बनेको थियो । २०७९ को निर्वाचनमा कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, माओवादी केन्द्रले ९ हजार ७९० र एमालेले ९ हजार ४७१ मत पाएको थियो । 

यस्तै, यो निर्वाचन क्षेत्रमा ५१ वटा वडा पर्छन् । त्यसमध्ये कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वटा वडा जितेको थियो । कांग्रेसकै वडाध्यक्षले बढी मत पाएका थिए । मधेशसँगै सर्लाही-४ मा कांग्रेसको क्रेज देखेर सभापति थापा मधेश झरेका छन् । 

आफूले तीन पटक विजयी हासिल गरेको काठमाडौं–४ छोडेर सर्लाही–४ जाने गगन कुमार थापाको निर्णयलाई धेरै पृथक रुपले विश्लेषण गरिरहेका छन् । कतिपयले काठमाडौं–४ उनका लागि चुनौतीपूर्ण बनेको र जित्न कठिन भएकोले सुरक्षित निर्वाचन क्षेत्र रोजेको विश्लेषण गरिरहेका छन् भने कतिपयले उनले आफूलाई परीक्षण गर्न र कांग्रेसको पुरानो गढ फिर्ता गर्न मधेश झरेको तर्क राखिरहेका छन् । 

मधेशलाई कांग्रेसले आफ्नो गढमात्रै नभई, सुरक्षित राजनीतिक आश्रयस्थलका रूपमा पनि लिँदै आएको छ । 

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सर्लाही–४ कै मतदाता रघु काकीले सर्लाही-४ लाई विगतमा दिएको प्राथमिकता र योगदानको आधारमा उनको जित हुनेमा दुईमत नरहेको तर्क राखे । ‘सर्लाही–४ कांग्रेसको गढ पनि हो, सर्लाही–४ मा पर्ने ५१ वटै वडा सभापतिको सर्वसहमति गरेर उहाँको नाम सिफारिस भएको हो, उहाँको आगमनले कार्यकर्ता र मतदातामा नयाँ उत्साह र क्रेज बढेको छ,’ उनले विकासन्युजसँग भने ।

null

कार्कीका अनुसार सर्लाही–४ मा पहाडी र मधेशी समुदाय बसोबास गर्छन् । सबैले गगन कुमार थापालाई रोजेको उनको भनाइ छ । ‘उहाँ विगतमा पनि सर्लाही–४ आएर यहाँका समस्या समाधान गर्न क्रियाशील हुनुहुन्थ्यो, सर्लाही-४ उहाँको प्राथमिकताको क्षेत्र पनि थियो, त्यसैले पनि उहाँलाई यहाँका मतदाताले रोज्छन्, मतदान गर्छन्,’ उनले भने । 

तथापि कांग्रेसको गढ भनेर चिनिएको सर्लाही–४ मा रास्वपाको क्रेज र बालेनको प्रवेशले थप माहोल सिर्जना गरेको छ । यसलाई कांग्रेसीजनले चुनौतीका रुपमा लिएका छन् । मधेशकै छोरा पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवार बनेकोले मधेशी समुदायलाई देशको पहिलो प्रधानमन्त्रीका रूपमा उनीहरू हेर्न चाहन्छन् । यसले कांग्रेसी मतदाता र कार्यकर्तालाई थप चुनौती थपिएको विश्लेषकहरू बताउँछन् ।

रास्वपाले गत सोमबारको सभामा ‘अब कि बार, बालेन सरकार’ नारा लगाएपछि मधेशको राजनीतिमा नयाँ कोर्सको निर्माण भइरहेको छ । त्यसमा पनि मधेशकै परिचित नेता अमरेश कुमार सिंह रास्वपामा प्रवेश गर्नुलाई थप चुनौतीको रुपमा हेरिएको छ । 

मधेशलाई कांग्रेसको गढ भनिए पनि विशेष महाधिवेशनताका देखिएको विमतिले विगतको जस्तो एकता हुन नसक्ने टिप्पणी पनि कतिपयको छ । शेरबहादुर देउवा पक्षलाई असन्तुष्ट र रुष्ट बनाएर सभापति थापा अगाडि बढेपछि देउवा समूहको साथ नपाउने अवस्था सिर्जना हुन सक्ने र त्यसको लाभ रास्वपाले पाउने विश्लेषण पनि कतिपयको छ । 

गगन-अमरेश ‘नेक टु नेक’ 

सर्लाही-४ को चुनाव गगन-अमरेशबीचको प्रतिस्पर्धा मात्र नभई यो नेपाली राजनीति, नेपाली कांग्रेस र रास्वपाको लडाइँ र टकराव पनि हो । 

गगन नेपाली राजनीतिमा स्थापित केन्द्रीय नेता हुन् । सर्लाही-४ नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना एजेण्डा राष्ट्रिय रूपमा पुर्याएर समस्या समाधान गर्नका लागि थापा एक अब्बल नेतृत्व हुन् । उनले मधेशको सवालमा संसदमा बलियो रूपमा उठान गर्न सक्छन् । 

गगन कुमार थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ । 

युवा पुस्ताका लागि गगन एक प्रेरणा पनि हुन् । जसको प्रमाणित उनले कांग्रेसको विशेष महाधिवेशनको आयोजना गरेर देखाइसकेका छन् । नेपाली कांग्रेसको सभापति भएकोले कांग्रेसले सभापति थापालाई जिताउन सर्लाही–४ मा भए भरको शक्ति प्रयोग गर्न सक्छ । गगनले चाहेमा सर्लाही-४ मा कांग्रेसको संगठन, प्रचारप्रसार  संयन्त्र र राष्ट्रिय नेटवर्कको लाभ लिन सक्छन् । उनले चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने अर्को महत्त्वपूर्ण एजेण्डा र विषय कांग्रेस–मधेश सम्बन्ध हो । उनले ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै मतदातालाई आकर्षित गर्न सक्छन् । 

यो सँगै उनलाई मधेशवासी र विपक्षीहरुले टुरिष्ट उम्मेद्वारको ट्याग भने लगाउन सक्ने सम्भावना छ । तेह्रथुममा भएको उपनिर्वाचनमा गगनले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै टुरिष्ट उम्मेदवारलाई जिताउन नहुने टिप्पणी गरेका थिए । उनले जित्नको लागि सोही ठाउँको हावापानी खानुपर्ने तर्क राखेका थिए । उनको त्यो भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ । 

उनको प्रतिस्पर्धी अमरेशकुमार सिंह भने स्थानीय नेता हुन् । उनीसँग स्थानीय भाषा, सम्बन्ध र बलियो नेटवर्क छ । उनी स्थानीय समस्याको पहिचानसँगै मतदाताले चाहेको बेला उपस्थित हुन सक्ने क्षमता राख्छन् । मधेशी समुदायकै भएकोले पनि उनलाई मतदाताले पत्याउने आधार पनि बलियो देखिन्छ । अमरेशले यसअघि दुई पटक सोही क्षेत्रबाट जितिसकेको हुनाले पनि उनीसँग त्यो क्षेत्रको अनुभव, एजेण्डा पहिचान गर्न सक्ने क्षमता र मतदाताको मनोविज्ञान बुझ्न सक्ने कला उनीसँग छ । 

तर, उनले जितेर पनि राष्ट्रिय राजनीति र नीति निर्माणमा ठूलो प्रभाव पार्न नसक्ने अनुमान र मूल्यांकन मतदाताले गर्न सकेमा उनलाई ठूलो चुनौती हुन सक्छ । उनको अर्को कमजोर पक्ष भनेको कमजोर संगठनात्मक आधार हो । मधेशसँगै सर्लाही-४ मा रास्वपाको बलियो संगठन छैन । उनको व्यक्तिगत सम्बन्धले मात्रै उनलाई जित्नका लागि पर्याप्त नहुन सक्छ । 

यद्यपि, यो सबै मूल्यांकन भने सर्लाही-४का मतदाताले गर्नेछन् । उनीहरूलाई राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता चाहिएको हो वा स्थानीय समस्या बुझ्न सक्ने त्यो भने हेर्न बाँकी छ । 

Share News