काठमाडौंमा काम अलपत्र पार्ने २४ ठेकदार कुर्दै सरकार, बेलुकी ५ बजेसम्म नआए पक्राउ गर्ने

  २०७५ जेठ ६ गते १४:१३     विकासन्युज

काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई सरकारले बेलुका ५ बजेसम्म कुर्ने भएको छ । सरकारले अत्यन्त जरुरी पत्र काटिएको ६० घण्टा बित्न लाग्दा पनि ठेकेदारले विवरण नपठाएपछि कारबाहि प्रक्रिया अघि बढाउन लागेको हो ।

अहिलेसम्म कुनै ठेकेदारले पनि विवरण नपठाएको सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । “पत्र काटिएको ६० घण्टा बितिसकेको छ, अहिलेसम्म कुनै ठेकेदारले विवरण बुझाएका छैनन्, आज बेलुका ५ बजेसम्म कुर्छौ, आएनन भने प्रहरी परिचालन हुन्छ,’ घिमिरेले विकासन्युसँग भने ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन २४ आयोजना प्रमुखलाई शुक्रबार नै निर्देशन दिएको थियो ।

कार्यालयले सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा शुक्रबार नै पत्र पठाएको हो ।

यसअघि बैशाख ३ गते गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.