बीपीसीले सञ्चित कोषको ५२५ करोड बोनस सेयर बाड्ने, लगानीकर्ता मालामाल !

  २०७५ वैशाख ३१ गते १४:१०     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) आउँदो वर्षदेखि संचित कोषमा रहेको बचत (रिजर्व)बाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।गत पुसमा थप निष्कासन (एफपीओ) जारीपछि संचित कोष १०० प्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यो रकम बीपीसीले वर्षेनी सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने भएको हो । संचित कोषको रकमबाट बोनस सेयरका अतिरित्त वर्षेनी हुने नाफाबाट नगद लाभांश र बोनस सेयर पाउने भएपछि बीपीसीका लगानीकर्ता मालमाल हुने भएका छन् ।

आउँदो आर्थिक वर्षदेखि संचित कोषको रकम वर्षेनी लगानीकर्तालाई बोनस सेयर दिने बीपीसी अर्थ विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । उनले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर वितरण हुन सक्ने जानकारी दिए । “संचित कोषको रकम बोनस सेयरका रुपमा लगानीकर्तालाई वितरण गर्ने भने पनि यति नै दिने भनेर निर्णय भएको छैन” उनले भने ।

लगानीकर्तालाई बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजीगत आधार मजवुत हुने उनको भनाई छ । कम्पनीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो ।

बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब बस्ने साधारणसभाले पारित गरेपछि लाभांश वितरण सुरु हुनेछ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश पाएको छ ।
बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको

चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आगामी ५ वर्षमा २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ ।

संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ । बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी बढ्ने र सो रकम जलविद्युत आयोजनामा लगानी गर्ने बीपीसीको योजना छ ।

बीपीसीले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.