अर्थतन्त्रको मुहान सफा गरिन्छ, निजी क्षेत्रले जिम्मेवार करदाताको भूमिका निभाओस्-अर्थमन्त्री

  २०७४ फागुन १६ गते १२:३९     विकासन्युज

काठमाडौं । समृद्धिको इञ्जिन निजी क्षेत्र नै हो । हामीले पहिलो बर्ष भित्र ५ लाख र दोश्रो बर्षभित्र १० लाख रोजगारी सृजना गर्ने भनेका छौं । संघिय संरचनामा केहि कर्मचारी थपिने र सरकारी संस्थानमा रहेका केहि पदमा रोजगारी दिने बाहेक सरकारसँग रोजगारीको ठुलो अवसर छैन् । रोजगारी दिने लक्ष्य पुरा गर्ने भनेको निजी क्षेत्रले नै हो । सरकारले नीजी क्षेत्रलाई आवश्यक प्रोत्साहन गरेर रोजगारी र उत्पादन दुबै बढाउन सहयोग गर्छ । मुलतः साना तथा मझौला र ठुला स्केलका उद्योगहरु सञ्चालन गरेर २ बर्षभित्र १० लाख नेपाली युवालाई रोजगारीको अवसर दिने लक्ष्य छ ।

यतिबेला मुलुक ‘डि-इन्डष्ट्रियलाइजेशन’को चरणमा पुगिसकेको छ । त्यसलाई चिरेर अघि बढ्नुपर्नेछ । अब हामीले उत्पादनसँग जोडिएको व्यापार गर्नुपर्छ । हामीले सेवासँग जोडिएका उद्योगहरुलाई अलि प्राथमिकता दिनुपर्ने अवस्था देखिरहेका छौं । हामीले घोषणा पत्रमा उल्लेख गरेको लक्ष्य प्राप्तीका लागि बर्षेनी १० देखि १२ खर्ब रुपैंयाँ क्षेत्रमै लगानी गर्नुपर्ने अवस्था छ । त्यसमा पनि पुर्वाधारमा मात्रै ६/७ खर्ब लगानी गर्नुपर्र्छ । अहिलेकै अवस्थामा सरकारले गर्ने भनेको २/३ खर्ब मात्रै हो । बाँकी लगानी गर्ने भनेको निजी क्षेत्रले नै हो । अहिले उद्योग खोल्नका लागि जमिन खरिद गर्न साह्रै गाह्रो छ । जमिन किन्नलाई नै बैंकबाट ऋण लिनुपर्ने अवस्थाले पनि तरलता अभावको अवस्था सृजना गरेको छ र बैंकले ब्याजदर पनि बढाईरहेका छन् । त्यसकारण अब उद्योगीले उद्योग खोल्नका लागि जमिन किन्न लगानी गर्नु नपर्ने अवस्था सृजना गर्छाै । त्यसका लागि सबै प्रदेशमा ठुला औद्योगीक क्षेत्र र सेजहरुको निर्माण प्रक्रियालाई चाँडै सम्पन्न गर्ने योजना छ ।

अहिले बजारमा लगानी योग्य पुँजीको चरम अभाव छ, त्यसका बारेमा केन्द्रिय बैंकसँग छलफल गरिन्छ । कल डिपोजिटको पैसाले दिर्घकालिन लगानी गर्न मिल्दैन् । तर अहिले कल डिपोजिटकै पैसाले दिर्घकालिन क्षेत्रमा लगानी भैरहेको छ । त्यसको निराकरण आवश्यक छ । तरलता व्यवस्थानको विकल्प रेमिटेन्स हुनै सक्दैन् । रेमिटेन्सले तत्कालिन उपाय मात्रै हो । हामीले ठुलो मात्रामा वैदेशिक लगानी भित्र्याउनु अनिवार्य छ । त्यसका लागि नीतिगत सुधार र सरल प्रशासनिक प्रक्रियाको सुनिश्चितता गरिन्छ । मलई खाना पनि ताजा नै मन पर्छ र फाइल पनि ताजा नै हुनुपर्छ भन्ने मान्यता राख्छु । निजी क्षेत्रले पनि आफ्नो लगानीलाई पारदर्शी बनाउनु पर्छ । आफ्नो लगानी र आम्दानीलाई कर प्रणालीमा ल्याउनु पर्छ । निजी क्षेत्रले अहिले भन्दा अलि बढि जिम्मेवार करदाताका रुपमा प्रस्तुत हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

बजार अनुगमन नामको लुकाछिपीबारे पनि म जानकार नै छु । बेच्ने र किन्ने अनि छापा मार्ने यो बिरालो र मुसाको जस्तो खेलबारे म जानकार नै छु ।
अब सिधै मुहान नै सफा गर्ने हो । मुहान सफा नगरि तल मात्रै फोेहर टिपेर केहि हुन्न । अब भन्सार विन्दुमै कडाई गरिन्छ । भन्सार मूल्यांकनलाई कडा गरेर राजश्वसँग सम्बन्धित सबै समस्याको हल हुन्छ । हामी मुहानै कसरी सफा गर्ने भन्नेबारे मिटिंग बसिसकेका छौं । भन्सार मुल्यांकनदेखि छल्ने प्रक्रियाबारे हामी छलफलमा छौं । त्यसका लागि राजश्व प्रशासन र प्रणालीमा व्यापक सुधार गरिनेछ ।(नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधीसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.