रसुवागढी र सान्जेनको आईपीओ १ महिना पछि धकेलियो, फागुनको पहिलो साता २ अर्ब ५१ करोडको आउने

  २०७४ माघ ४ गते १६:५४     विकासन्युज

काठमाडौं । दुई जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अझै १ महिना ढिला हुने भएको छ । कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आइपीओ निष्कासन फागुनको पहिलो साता मात्र हुने भएको हो ।

यसअघि माघको पहिलो साताभित्र आईपीओ निष्कासन गर्ने तयारी दुबै कम्पनीको थियो । प्रक्रियागत ढिलाइले आईपीओ निष्कासन १ महिना पर सरेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए ।

एकैदिन आब्हानपत्र सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको उनले सुनाए । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा रसुवागढीको सिद्धार्थ क्यापिटल लिमिटेड र सान्जेनको नागरिक लगानी कोष रहेका छन् ।

दुबै कम्पनीले पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानिय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

जसअनुसार रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।

यी दुबै जलविद्युत कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र तेस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् । यस्तै सिद्धार्थ क्यापिटल, कर्मचारी संचय कोष र नागरिक लगानी कोषले आईपीओ भर्न हितग्राही खाता (डीम्याट एकाउन्ट) र बैंकमा खाता खोल्न अनुरोध गरेका छन् ।

धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो । सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.