किन जाँदैछ सेयर बजारमा पहिरो ? यस्ता छन् कारण

<p>काठमाडौं । ‘हामीले सेयर कर्जाको ब्याजदर १५ प्रतिशत पुर्याएका छौं, त्यसको सिधा अर्थ भनेको सेयर कर्जा लिन नआउनु भन्ने नै हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको भनाई हो यो । अर्थात बाणिज्य बैंकहरुले यतिबेला सेयर कर्जा कटौती गरेका छन । बरु उल्टै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । बजारमा लगानी योग्य [&hellip;]</p>

काठमाडौं । ‘हामीले सेयर कर्जाको ब्याजदर १५ प्रतिशत पुर्याएका छौं, त्यसको सिधा अर्थ भनेको सेयर कर्जा लिन नआउनु भन्ने नै हो’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको भनाई हो यो । अर्थात बाणिज्य बैंकहरुले यतिबेला सेयर कर्जा कटौती गरेका छन ।

बरु उल्टै मुद्धति निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिईरहेका छन् । बजारमा लगानी योग्य पुँजीको पर्याप्तता नभएका संकेतहरु पनि यथेष्ठ मात्रामा देखिईसकिएको छ ।

निर्वाचनपछि बजारमा आएको भनिएको पुँजी पनि बैंकिङ च्यानलमा आईनसकेको स्पष्टै देखिन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो चौमासिक प्रतिवेदनका अनुसार बैंकहरुको निक्षेप संकलन दर भन्दा पनि कर्जा लगानीको दर बढि देखिएपछि सावधानी अपनाउन भनिसकेको छ । ‘वित्तीय क्षेत्रतर्फ, वार्षिक बिन्दुगत आधारमा २०७४ कात्तिकमा कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ ।’, राष्ट्र बैंकले भनेको छ ।

केन्द्रिय बैंकले कर्जा प्रवाहमै सावधानी अपनाउन भनिरहेका बेला अनुत्पादक मानिएको सेयर कर्जामा लगानी बढाउने सम्भावनै देखिन्न । मौद्रिक नीतिले बैंक तथा वित्तिय संस्थाले आफ्नो कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयरमा कर्जा लगाउन पाउने व्यवस्था गरेको छ । त्यसका अलवा बजारमा सेयरको आपुर्ति ह्वात्तै बढेको छ ।

धेरै कम्पनीले भर्खरै हकप्रद सेयर निष्काशन सम्पन्न गरेका छन् । कतिपय कम्पनीको आइपिओ पाइपलाइनमा रहेको छ । त्यस्तै अधिकांश बाणिज्य बैंकहरुले भटाभट बोनस सेयर घोषणा गरिरहेका छन् । केहि जलविद्युत कम्पनीहरुको आइपिओ समेत पाइपलाइनमा छ । सेयरको अत्याधिक आपुर्तिका कारण पनि सेयर बजारमा पहिरो गैरहेको छ ।

इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजार घटाउन सबै निकाय लागिपरेको आरोप लगाए । उनले नेपाल धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेको निरिहताले ब्रोकर र सिमिति लगानीकर्ताले बजारमा अनावश्यक चलखेल गरेको दावी गरे । ‘बजार घटिरहेको छ तर सेयर कारोबार भने खासै घटेको छैन, सिमित मान्छेहरुले त्रास फैलाएर सस्तोमा सेयर किनिरहेका छन, बैंकहरुले पनि अनावश्यक रुपमा ब्याजदर बढाएका छन’, रौनियारले भने ।

अर्कातिर सेयरमा भ्याट लगाउने सरकारी अभियान अझै वार वा पार भैसकेको छैन् । आन्तरिक राजश्व विभागले सबै ब्रोकरसँग भ्याट असुल्ने स्पष्ट पारिसकेको छ, त्यस्तै आगामी आर्थिक बर्षदेखि सेयरमा भ्याट लगाउने पनि बताईरहेको छ । सेयरमा भ्याटको लफडाले पनि बजार घटाउन ठुलै भूमिका खेलिरहेको देखिन्छ ।

त्यसका अलवा राजनीतिक अस्थिरताले पनि बजारमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको देखाउँछ । स्थिर सरकार मार्फत विकास र समृद्धिको सपना बाढ्दै बामपन्थीहरुले निर्वाचन जितेका थिए । तर सरकार बन्न ढिलाई भैरहेको छ र कसको नेतृत्वमा कस्तो सरकार बन्ने हो भन्ने अझै एकिन भएको देखिन्न । ‘काँग्रेस, माओवादी र मधेशवादी मिलेर सरकार बनाउँछन् भन्ने हल्ला फैलिएको छ, यसले स्थिर सरकार नआउने भन्ने मनोविज्ञान लगानी कर्तामा देखिन्छ’, रौनियारले भने ।

सेयर बजारमा लगानी गर्नेहरुले समाजिक सञ्जालहरुमा बिभिन्न ग्रुपहरु बनाएर सेयर बजार ओरालो लगाईरहेको आरोप पनि रौनियारको छ । सेयर बजार अत्यन्तै संवेदनशिल क्षेत्र हो, यसमा प्रवाह हुने सानो सूचनाले पनि ठुलो प्रभाव राख्छ ।

अहिले बैंक तथा वित्तिय संस्थाहरुले निरन्तर बढाईरहेको ब्याजदर, सेयर कर्जाको कटौती, बजारमा सेयरको आपुर्तिमा भैरहेको तिब्र वृद्धि, अनिश्चितताको भूमरीमा फसेको राजनीतिक वातावरणमा सेयर बजारका खेलाडीहरुले ठुलै माछा मारिरहेको देख्न सकिन्छ । सेयर बजार निरन्तर ओरालो लाग्नु तर सेयर कारोबारको आकारमा भने खासै गिरावट नआउनुले पनि कुनै समुहले फाइदा लिईरहेको अनुमान सहजै गर्न सकिन्छ ।

Share News