मध्यभोटेकोसी जलविद्युतले २ अर्ब ९४ करोडको आईपीओ ल्याउँदै, साधारणसभाबाट पारित

  २०७४ पुष ६ गते १५:१७     विकासन्युज

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको छ ।

कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
सभाले पारित गरेपछि सेयर निष्कासनको प्राविधिक काम सुरु भएको मध्यभोटेकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफलेले बताए । उनले इक्रासंग रेटिङको काम सुरु हुन लागेको जानकारी दिए । अहिले सेयर निष्कासन तथा बिक्री प्रवन्धकसंग छलफल भइरहेको काफलेले बताए ।

प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३.५ प्रतिशतले हुन आउने २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन हुने छ ।

यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड., एस क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेबार पाएका छन् ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण सुरु भएको आयोजना आउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी नयाँ कार्यतालिका तयार भएको हो । हाल आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको सीईओ काफ्लेले बताए । उनले निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुने स्पष्ट पारे ।

ठेकेदार चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन ब्युरोले गत मार्चबाट पुनः निर्माण सुरु गरेको हो । सुरुङको कुल लम्बाई ७ किलोमिटर बढी छ । ९ अर्ब रुपैयाँ अनुमानित लागतमा सुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.