काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले संचित कोष (रिजर्व फन्ड) बाट सेयरधनीलाई लाभांश दिने भएको छ । चिलिमेले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि कोषमा भएको रकम लगानीकर्तालाई बोनस सेयरका रुपमा लाभांश वितरण गर्ने भएको हो ।

चालु आवमा चिलिमेको संचित कोषमा ५ अर्ब २१ करोड ५३ लाख रुपैयाँ छ । चालु आवको नाफाबाट कोषमा रकम थपिने हुदा आगामी वर्ष अझ बढ्ने छ । आगामी वर्षदेखि संचित कोषमा भएको रकमबाट बोनस सेयर वितरण गर्ने चिलिमेका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । संचित कोषको रकम एकैपटक नभई वर्षेनी १५ प्रतिशतका दरले सेयरधनीलाई बोनस सेयरको रुपमा लाभांश दिने उनले बताए ।
कम्पनीको चुक्तापुँजी ३ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ छ । आगामी वर्षदेखि सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएपछि कम्पनीको नाफामा गिरावट आई यसको असर लाभांशमा पर्ने भएपछि संचित कोषको रकम बोनस सेयरको रुपमा वितरण गर्न लागेको हो ।
नाफा घटेपछि सेयर लगानीकर्ताले पाउने लाभांशमा पनि भारी गिरावट आउने भएको छ । आयकर बुझाएपछि नाफा ३० करोड घटेर ६० करोड रुपैयाँमा सीमित हुनेछ । गत वर्ष चिलिमेको खुदनाफा ९० करोड रुपैयाँ थियो । चिलिमेले आव ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो ।
चालु आवमा गरेको नाफाबाट मात्र चिलिमेका सेयरधनीले राम्रो लाभांश पाउने छन् । चिलिमेले सहायक कम्पनीमार्फत अन्य आयोजना पनि अघि बढाउने र चिलिमे टावर निर्माण सुरु हुन लागेकाले आगामी वर्षदेखि सेयरधनीले नगद लाभांश पाउने संभावना न्युन रहेको श्रेष्ठ बताउछन् ।
कम्पनीले आफनो जग्गामा चिलिमे टावर निर्माण गर्ने र दुई नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाईसेन्स) पाइसकेको छ । यी आयोजनामा थप लगानी गर्नुपर्ने हुदा नगद लाभांश नपाउने संभावना रहको श्रेष्ठको भनाई छ ।
सरकारले जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिएको छ । चिलिमेको आयकर छुट सुविधा यो वर्षदेखि सकिदै छ । आगामी वर्षदेखि कर लाग्ने भएपछि स्भाविक रुपमा नाफामा कमी आउने श्रेष्ठले बताए । करका कारण नाफा धेरै घट्ने र यसले नगद लाभांशमा असर गर्ने उनले जानकारी दिए ।
चालु आवमा पनि चिलिमेको लाभांशमा गिरावट आएर २५ प्रतिशतमा झरेको छ । गत आवमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ । गत वर्ष चिलिमेले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत मात्र लाभांश दिएको थियो । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ ।
बोनस सेयरका कारण सेयर संख्या बढ्दै गएपछि वर्षेनी लाभांश निरन्तर घट्दै गएको छ । लाभांश घट्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) समेत घटेर ३५ रुपैयाँ ८६ पैसामा सीमित भएको छ ।