नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण

  २०७४ कार्तिक २४ गते १५:५३     पवन तिमिल्सिना

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए ।

विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो ।  अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए ।

जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’

स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’

स्वीकृती भन्दा बढी बेड सञ्चालनमा

उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती  माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’

सेवा शुल्क सर्वमान्य छ

अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्‍यौं ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.